गुड फ्राइडे सिनेमा
हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मन पर्छ भन्ने थाहा हुँदैन। तर रहस्यमयी र थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।
राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
अझ कुनै कुनै फिल्म यस्ता हुन्छन्, जसमा एउटाभन्दा धेरै उपकथा हुन्छन्। मुख्य पात्रसँग जोडिएर भाग भागमा आउने कथाहरूले थप रोचक बनाउँछन्।
आज गुड फ्राइडे सिनेमामा हामीले यस्तै फिल्म सिफारिस गरेका छौं- अपरेसन जाभा।
यो दक्षिण भारतीय (मलयालम) क्राइम थ्रिलर फिल्म हो। दर्शक र समीक्षकबाट खुब प्रशंसा पाएको यो फिल्मले ८.१ आइएमडिबी रेटिङ पाएको छ।
फिल्मको कथा कोचीको साइबर सेल प्रहरी स्टेसनले गर्ने अनुसन्धानहरूमा केन्द्रित छ। फिल्ममा देखाइएका विभिन्न कथाहरू वास्तविक घटनामा आधारित हुन्।
एन्थोनी र विनय दुई साथी हुन्छन्। इञ्जिनियरिङ पढेर सकेका उनीहरू जागिर खोजिरहेका हुन्छन्। यही क्रममा उनीहरू एक दिन कोचीको साइबर सेल प्रहरीकहाँ पुग्छन् र एउटा समाधान भइसकेको मुद्दाबारे नयाँ खुलासा गर्छन्।
प्रहरीले सुरूमा उनीहरूको कुरा पत्याउँदैनन्। बन्द भइसकेको मुद्दा भनेर पन्छाउन खोज्छन्। एन्थोनी र विनय हार मान्दैनन् र आफूलाई सही सावित गर्न लागि पर्छन्।
आखिरमा उनीहरूले त्यो चर्चित मुद्दाको जरो केलाउँछन् र वास्तविक अपराधीसम्म पुग्छन्।
उनीहरूको कामबाट साइबर सेलका हाकिम प्रभावित हुन्छन्। उनीहरूलाई अस्थायी रूपमा काम गर्न बोलाउँछन्। जागिर नपाइरहेका बेला साइबर सेलमा काम गर्न पाउँदा एन्थोनी र विनय दुवै दंग पर्छन्।
उनीहरूले काम थाल्छन्। तर साइबर सेलमा सबैले उनीहरूलाई मनपराउँदैनन्। केही व्यक्तिले उनीहरूलाई हेप्छन् र उडाउँछन्।
यसका बाबजुद उनीहरू धैर्य भएर काम गर्छन्।
अनुसन्धान गर्ने क्रममा उनीहरूले सूचना र प्रविधिको माध्यमबाट भइरहेका भयानक अपराधहरूको सामना गर्छन्। सामान्य मानेर सर्वसाधारणले प्रयोग गरिरहेका प्रविधिहरू अपराधीहरूले कसरी दुरूपयोग गरिरहेका छन् भन्ने उनीहरूले देख्छन्।
यही क्रममा एक दिन यस्तो घटना आइपर्छ जुन उनीहरूकै जीवनसँग जोडिएको हुन्छ।
त्यो घटना के हुन्छ? एन्थोनी र विनयले त्यसलाई कसरी समाधान गर्छन्?
प्रहरी साइबर सेलमा काम गरिरहेका उनीहरूको भविष्य के हुन्छ?
यसका लागि फिल्म हेर्नुहोला।
फिल्म अपरेसन जाभाले बेरोजगारी समस्यालाई पनि बलियोसँग उठाएको छ। लाखौं युवाहरू बेरोजगार हुँदा उनीहरूको जीवनमा कस्तो असर परिरहेको छ भन्ने फिल्मले देखाउन खोजेको छ। त्यस्तै कम पैसामा काम गर्नेहरूको दैनिक जीवन र भविष्यको बाटो कति कठिन हुन्छ भन्ने पनि यसले देखाएको छ।
बलियो सामाजिक सन्देशसहित केही कमेडी, केही रोमान्स, केही ड्रामा मिसिएको राम्रो थ्रिलर फिल्म हो जाभा अपरेसन।
हेर्नुस् युट्युबमाः