एक वर्षअघि संगीत सिक्न भनेर काठमाडौं आएका थिए करण परियार।
कार्पेट तथा फर्निसिङमा डेलिभरी ब्वाइको रूपमा काम गर्दै केही महिना संगीत सिके। र, फेरि घर फर्किने तयारीमा थिए।
त्यहीबीच पूर्वयोजना र पूर्वतयारी बिना उनी पुगे नेपाल आइडलको मञ्च। र, विभिन्न चरण पार गर्दै, निर्णायकदेखि स्रोता-दर्शकको मन जिते। फिनालेसम्म पुगे। दर्शकको भोटका आधारमा करण विजेता घोषित भए।
'मलाई आइडल बन्छु भन्ने लागेकै थिएन,' उनले भने, 'किनकि फिनालेअघिका चरणमा मेरो भोट तुलनात्मक रूपमा कम थियो।'
विजेता जो बने पनि दुःखी नहुने भनेर मानसिक रूपमा उनी पहिल्यैदेखि तयार थिए। जब फिनालेमा उनको नाम आयो, सपनाजस्तो लाग्यो। उनी चकित परे।
'अन्तिममा धेरै दर्शकले उर्लिएर भोट गर्नुभएछ,' करणले भने, 'सोच्दै नसोचेको नतिजा आउँदा खुसी भन्दा पनि कसरी भयो भन्ने लागिरहेको थियो।'
के भएपछि विजेता भइँदो रहेछ — हाम्रो यो प्रश्नमा करण केही सेकेन्ड घोत्लिए।
अनि जबाफ दिए, 'मेहनत त चाहिन्छ नै। दर्शकको माया सबभन्दा ठूलो कुरा हो। त्यसमाथि भाग्यलाई पनि मान्छु।'
विजेता बनेसँगै करणलाई थुप्रैले बधाइ दिए र दिइरहेका छन्। बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि भेटेर उनलाई बधाइ र शुभकामना दिए।
उनलाई मंगलबार बेलुका नै फोन गरेर प्रधानमन्त्रीले भेट्न बोलाएको बताइएको थियो। त्यो फोनपछि करण एकछिन त किन बोलाइएको होला भनेर अचम्म परे। प्रधानमन्त्री निवासमा बुधबार प्रधानमन्त्रीले बधाइ दिँदै करणको गायकीको प्रशंसा गरे। संगीतमा भविष्य राम्रो देखेको भने। उपहार स्वरूप हस्ताक्षर गरेर गितार दिए।
'देशको प्रधानमन्त्रीले पनि एक नजर त हेर्नुभएछ भन्ने भयो। एकदमै खुसी लागिरहेको छ,' बुधबारै बेलुकी सेतोपाटीसँगको कुराकानीमा करणले सुनाए।
बर्दियाको पदना घर भएका करणका आमाबुबा सिलाइकटाइ काम गरेर जीवन चलाइरहेका छन्। करण भने सानैदेखि संगीतप्रति रूचि राख्थे। जबदेखि जान्ने बुझ्ने भए, त्यस बेलादेखि नै आफूलाई गाइरहेको पाएको उनी बताउँछन्।
उनी टोल-छिमेक र स्कुलका कार्यक्रममा गाउँथे। बाटातिरै कसैले गाउन आग्रह गरे पनि खुसी हुँदै गुनगुनाइदिन्थे।
तर बुबा बेलाबेलामा भन्थे – बाबु, गाएर मात्रै हुँदैन। केही सीप भयो भने पछि सजिलो हुन्छ। सिलाउने काम सिकिहाल्!
करण भने 'यो काम मलाई आउँदैन, गाउन रूचि छ, त्यही गर्छु' भन्थे।
'हाम्रो घर आसपास नेपाली गीत कमै सुनिन्छ। हिन्दी गीतको प्रभाव ज्यादा छ। त्यही वातावरणले होला, नेपालीभन्दा हिन्दी गीत धेरै गाउँथेँ,' उनले भने।
उनी पहिल्यैदेखि भारतीय रियालिटी कार्यक्रम इन्डियन आइडल पनि हेर्थे। आफू पनि कुनै दिन इन्डियन आइडलमा जाने सोच बनाएका थिए। जानुअघि संगीत सिक्ने अठोट थियो। गाउँमा संगीत कहाँबाट सिक्न पाउनु! त्यसैले संगीत सिक्ने आश बोकेर उनी नेपालगञ्ज पुगे। त्यहीँ बसेर एसइईपछिको पढाइ सुरू गरेका थिए। त्यहाँ पनि संगीत सिक्न पाएनन्।
कक्षा १२ को परीक्षा सकेपछि गाउँ गएर बुबालाई संगीत सिक्न काठमाडौं जान्छु भने। छोराको रहर र सपना बुबाले नकार्न सकेनन्। पोहोर असारमा बुबाले नै करणलाई काठमाडौं लिएर आए। कपनमा कोठा खोजेर राखिदिए। केही समय छोरासँगै बसे। छोराले कार्पेट डेलिभरी ब्वाइको काम पाएपछि घर फर्किए।
करण जोरपाटीमा कृष्ण केसीसँग संगीत सिक्न थाले।
त्यसबेला उनी हरेक दिन बिहान चार बजे उठ्थे। खाना पकाउँथे, तर नखाइ कपनदेखि हिँड्दै जोरपाटी पुग्थे। फर्किएर खाना खान्थे, फेरि कामका लागि जोरपाटी जान्थे। दस बजेदेखि ६ बजेसम्म पसल पसलमा कार्पेट बोकेर पुर्याउने काम गर्थे। बेलुका हिँड्दै डेरा फर्किन्थे। खाना बनाएर खाएपछि केही समय गुनगुनाउँथे। आँखाले निद्रा खोजेपछि सुत्थे।
'त्यसबेला शरीरले काम गरिरहेको भए पनि ध्यान जतिबेला पनि संगीतमा हुन्थ्यो। दुःख गरेर काम गरिरहेको हुन्थेँ तर एकदमै खुसी थिएँ,' करणले भने, 'किनकि त्यही कामबाट मैले संगीत सिक्न पाइरहेको थिएँ। सोचेको कुरा गरिरहेको थिएँ।'
करणले संगीत सिकेको सात महिना भइसकेको थियो। त्यसबेला इन्डियन आइडलको नयाँ सिजनमा जाने सोचले घर फर्किने तयारीमा समेत पुगेका थिए। त्यही बीच संगीत सिकाउने गुरूले नेपाल आइडल सिजन-५ सुरू हुन लागेको र त्यसमा सहभागी हुन सुझाए।
संगीत सिक्दा पनि करण नेपाली गीत धेरै गाउँथेनन्। कुनै तयारीबिना कसरी जाने, के गाउने भनेर उनले गुरूलाई सोधे। गुरूले नै गीतहरू छानिदिए। अनि केही सिकाइ पनि हुने सोचेर करण अडिसन दिन पुगे।
नेपाल आइडलको मञ्चमा जब उनले गाउन थाले, निर्णायक र स्रोता-दर्शकलाई मोहित बनाउँदै गए। जज अडिसनमा निर्णायकबाट गोल्डेन माइक पाए।
त्यही रातदेखि करणको सोच फेरियो। जित्ने, नजित्ने केही नसोची राम्रो प्रस्तुति दिन मेहनत गरिरहे।
'मेरो प्रस्तुतिमा दर्शकले तिम्रो साथमा छौं भनेर प्रतिक्रिया दिएको देख्थेँ। उहाँहरूले बोलीमा मात्र होइन, व्यवहारमै पूरा गरेर मलाई विजेता बनाइदिनुभयो,' करणले भने, 'दर्शकको यो माया कल्पनै गरेको थिइनँ। आइडल हुनुमा मभन्दा दर्शक धेरै खुसी हुनुहुन्छ। मलाई यो कुराले धेरै खुसी दिएको छ।'
करणले इन्डियन आइडलमा जाने सोच त्यागिसकेका छन्। जे सोचेर जाने सोचेका थिए, त्योभन्दा धेरै आफ्नै देशबाट पाएको महसुस उनलाई भएको छ। आफूले सोचेको यात्रामा एउटा खुड्किलो पार गरेको र बाँकी यात्रामा अझ मेहनत गर्ने उनी बताउँछन्।
उनले केही गीतहरू गाएका छन्, तर सार्वजनिक भइसकेका छैनन्।
नेपाल आइडलमा उनको स्वर सुनेपछि निर्णायक न्ह्यू बज्राचार्यले एउटा गीत गाउन दिने बचन दिएका थिए। सोही अनुसार फिनालेअघि बज्राचार्यको संगीतमा करणले आफ्नो पहिलो गीत रेकर्ड गराएका थिए। विजेता बनेपछि पनि उनले बज्राचार्यको संगीतमा गीत गाइसके। अरू थुप्रै संगीतकर्मीले गीत गाउन प्रस्ताव गरिरहेका छन्। एक दर्जन हाराहारी गीत त तय भइसके। त्यसैले हिजोआज उनी दिनकै रेकर्ड गरिरहेका छन्।
'हप्ताभरिकै लागि रेकर्डिङ तय छ,' करणले भने, 'मलाई फिल्मी, रोमान्टिक गीत गाउन मन लाग्छ।'
विजेता बनेपछि करणले आमाबुबासँग भेटेर खुसी साट्न भने पाएका छैनन्। बर्दियामै रहेका आमाबुबाले फिनाले टिभीमा हेरेका थिए।
करणले आमाबुबाको प्रतिक्रिया सुनाउँदै भने, 'रोयौं भन्नुहुन्थ्यो। सायद, खुसीले होला।'
उनले थपे, 'यताको काम सकेपछि अर्को हप्ता गाउँ जान्छु। उहीँ पुगेर आमाबुबासँग खुसी साट्छु। अब त उहाँहरू छोराले संगीतमै राम्रो गर्छ भन्ने सोच्दै हुनुहुन्छ होला!'
तस्बिर र भिडिओः विवेक राई/सेतोपाटी