द कन्भरसेसन
अहिले फेसबुकको रिलदेखि युट्युब ट्रेन्डिङसम्म एउटा गीत चर्चित छ –
राई माइलाले गाउँ छोड्यो रे!
बाटो छेकिदेऊ न!
कुन गाडीमा चढ्यो होला?
कुन घुम्ती काट्यो होला?
ढाट राखिदेऊ न!
ए फर्क भनिदेऊ न!
यो गीतले लाखौंको मन जितेको छ। 'के राई माइला फर्किन्छ?' भन्ने ट्यागलाइनसहित दर्शकले सामाजिक सञ्जालमा गीत सेयर गरिरहेका छन्।
यो हाल प्रदर्शनरत फिल्म 'गाउँ आएको बाटो' को ट्रेलर गीत हो। कतिपय दर्शक यही गीत हेरेर सिनेमा हलसम्म पुगेका छन्। गीत फिल्ममा नभएपछि खल्लो मान्दै फर्किएका छन्। गीतकार श्रवण मुकारूङ भने फिल्मको प्रचारका लागि मात्र गीत तयार पारिएको बताउँछन्।
'मलाई निर्देशक नवीन सुब्बाले फिल्मका लागि एउटा गीत तयार पार्न भन्नुभएको थियो। त्यति बेला बिरामी भएकाले बनाउन सकिन। पछि फिल्म बन्यो र विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा पनि पुग्यो। नेपालमा यो फिल्म देखाउने कुरा आएपछि मलाई फेरि गीत बनाउन प्रस्ताव आयो। त्यति बेला मलाई अलि निको भएकाले हतारहतारमै गीत लेखिदिएँ,' उनले भने, 'मलाई फिल्मको विषयवस्तु थाहा थिएन। त्यसले पनि केही कुरामा नबाँधिकन स्वतन्त्र भएर गीत लेख्न पाएँ।'
उनले अगाडि भने, 'कतिपय दर्शकले फिल्ममा किन गीत नराख्नुभएको भनेर निर्देशकलाई गुनासो पनि पोखेका छन्। तर यो गीत फिल्ममा राख्न भनेर बनाइएकै होइन।'
गीत लेख्दा मुकारूङले हचुवामा 'राई कान्छा' भन्ने पात्र बनाएका थिए। निर्देशकले फिल्ममा पात्रको नाम 'राई माइला' भएको बताएपछि त्यसैअनुसार परिमार्जन गरिएको उनले बताए।
गीतमा संगीत भर्ने जिम्मेवारी संगीतकार कालीप्रसाद बास्कोटाले पाए। मुकारूङले लेखेको गीतमा संगीत भर्न पाउँदा खुसी लागेको उनी बताउँछन्।
'एउटा राम्रो काममा जोडिन पाएँ। दर्शक/स्रोताको यति हुरहुरी माया पाइएको छ, कसरी सम्हालौंजस्तो भएको छ,' उनले भने।
श्रवण मुकारूङ पनि अहिलेको प्रतिभाशाली गायक तथा संगीतकारसँग काम गर्न पाउँदा खुसी छन्।
'तपाईंको हातमा यो गीत नआएको भए अहिले जति चर्चा छ, त्यो हुन्थ्यो वा हुन्थेन भनेर भन्न सक्दिनँ। गीत बनेर आएपछि म आफैले धेरैपटक सुनेको थिएँ,' उनले कालीप्रसादलाई भने, 'तपाईंले त मलाई आकाशमै पुर्याइदिनुभयो नि!'
यो गीतले पहिलोपटक मुकारूङ र कालीप्रसादलाई एकसाथ काम गर्ने मौका जुराइदिएको छ। सेतोपाटीले सुरू गरेको 'द कन्भरसेसन' शृंखलामा उनीहरूले पहिलोपटक भिडिओमा आमनेसामने भएर कुराकानी गरेका छन्।
बाँकी कुराकानी भिडिओमा हेर्नुस् –