संगीतमा व्यवसायिकता एकदमै छिटो फस्टायो। अधिकांशलाई चाँडै हिट हुने मोह बढ्यो। रोमान्टिक र स्टेजमा नाच्ने अनि नचाउने खालको गीत गाउन पाए भन्नेमा संगीतकर्मीहरू केन्द्रित हुन थाले।
गायक पुष्पन प्रधानले त्यो सोचले सांगीतिक यात्रा सुरू गरेका थिएनन्।
तर जब नेपाली संगीतमा केही गर्न भनेर भारत पश्चिम बंगालको डुवर्सबाट काठमाडौं आए, उनी पनि क्रमशः नचाहँदा नचाहँदै संगीतमा व्यावसायिक भएर अगाडि बढ्न पुगे।
दैनिक खर्चदेखि डेरा भाडासम्म संगीतकै कमाइले चलाउनु परेपछि टिक्न पनि हरेक किसिमका गीत गाउनुपर्ने बाध्यतामा परे।
आफूले चाहेअनुसार मात्र छानेर गाउन नपाउँदा राम्रा गीतको खोजीमा धेरै भौंतारिए।
'मैले गाइरहेका गीतबाट सन्तुष्टि पाएको थिइनँ,' उनले सुनाए।
त्यही क्रममा उनलाई नजिकबाट नियालिरहेका एक जनाले भनिदिए, 'दाइ, यहाँ हजुरले भोग्दै नभोग्नुभएको कुरा के गाउनुहुन्छ! तपाईं जहाँ हुनुहुन्थ्यो, त्यहीँ गएर बस्नुस्। त्यहीँ तपाईंको गीत छ। त्यहीँ तपाईंको कथा छ। त्यो पो गाउने हो!'
त्यो कुराले उनलाई गम्भीर भएर सोच्न बाध्य बनायो। सोही दिन राती काठमाडौं छाड्ने निर्णय लिए पुष्पनले।
गीत रेकर्डिङ गर्नुपरे, स्टेज कार्यक्रम गर्नुपरे आउने गरी उनी डुवर्स फर्किए। त्यहीँ रहेर शिक्षण पेसासँगै सांगीतिक करिअर अगाडि बढाए।
'पन्छी' गीतबाट धेरैका प्रिय बनेका पुष्पनले यो गीतपछि कन्सर्टहरू पाउँदै गएका थिए।
'त्यसबेला अलग अलग गीतहरू गाएर आफूलाई एक्सप्लोर पनि गरिरहेको थिएँ,' उनले भने।
उनका 'समर लभ', 'एउटा सपना छ', 'तिमीलाई हेर्ने बानी पर्यो' जस्ता गीतहरू आए। यी गीतले पनि निकै चर्चा पाए। पुष्पनलाई अलग किसिमको पहिचान दिलाए।
उनी देश, विदेशका कन्सर्टमा व्यस्त बनिरहेका थिए।
तर सबै खालका गीत गाइरहँदा, स्टेजमा दर्शक नचाइरहँदा उनलाई आफ्नै हृदयले 'जस' नदिएजस्तो लाग्न थाल्यो।
'तँ यसका लागि होइन नै भन्ने भइरहेको हुन्थ्यो,' पुष्पनले भने, 'त्यसपछि मेरा लागि के रहेछ त, मैले के गर्नुपर्छ भनेर खोज्नतर्फ लागेँ।'
पुष्पनले भारतीय गायक पीयूष मिश्रालाई दर्शकले दिने प्रतिक्रिया सामाजिक सञ्जालहरूमा देखिरहेका थिए। त्यसले उनलाई निकै लोभ्याउँथ्यो। मिश्राको कन्सर्ट प्रत्यक्ष हेर्ने रहर जागेको थियो। त्यही क्रममा उनी मिश्राको कन्सर्ट हेर्न कोलकाता पुगे।
यो मात्र पाँच महिनाअघिको कुरा हो।
उनले कन्सर्टको अनलाइन टिकट बुकिङ गर्ने क्रममा वेबसाइटमा लेखिएको देखे — १८ वर्षमुनिका दर्शकलाई प्रवेश निषेध!
पुष्पन त्यो कन्सर्टको अनुभव सुनाउँछन्, 'हामीलाई दर्शक बटुल्ने कस्तो रहर हुन्छ। सबै आइदिए हुन्थ्यो भन्ने हुन्छ। त्यसरी लेखिएको देखेपछि अचम्म लाग्यो। टिकट काटेर लाइन लाग्दा १८ वर्षभन्दा मुनिका कोही थिएनन्, तर ८० वर्षसम्मका दर्शकहरू थिए। ठूलो हल दर्शकले भरिभराउ थियो। अलिकति पनि हल्ला थिएन। दर्शक-स्रोताले डेढ घन्टासम्म प्रस्तुति हेर्न र सुन्न धैर्यपूर्वक कुरेको माहोलले निकै लोभ्यायो।'
जब गायक मिश्रा स्टेजमा उक्लिए, स्रोता-दर्शकले उठेर ताली बजाएर स्वागत गरे। पुष्पनले त्यो माहोल नियालिरहे।
आहा! कस्तो सम्मान, कस्तो माया — उनले मनमनै यही सोचे।
प्रस्तुति क्रममा साउन्ड अलिकति अस्पष्ट सुनियो।
दर्शक दीर्घाबाट उठेर एक जनाले भने, 'अझै साउन्ड मिलाउनुहोस् न! तपाईंले बोलेको स्पष्ट सुन्नु छ।'
'उहाँका हरेक गीतले अर्को कथा बोकेको छ। उहाँले १५ वटा गीत गाउनुभएको थियो। ती त्यति नै किसिमका थिए। त्यो कन्सर्ट हेरेपछि मैले मेरा सबै प्रश्नको जबाफ पाएँ,' पुष्पनले भने, 'हामीले हाम्रो बजार बनाउन, हाम्रो कुरा सही मान्छेलाई सुनाउन चुकेका रहेछौं भन्ने महसुस भयो।'
त्यसपछि पुष्पन त्यस्तै कार्यक्रमको तयारीमा लागे, जहाँ आफूलाई मन लागेका कुराहरू सुनाउन सकियोस्। सुन्नेले पनि उनले जसरी सुनाउँछन्, त्यसरी सुनिदिऊन्।
आफ्नै ब्यान्ड 'पुष्पन अनि सारथि' का साथीहरूलाई भने — त्यस्तै कार्यक्रम गर्नुपर्छ, जाऔं काठमाडौं!
काठमाडौं आए, प्रायोजकदेखि अन्य सबै बन्दोबस्ती मिलाउँदै गए। अन्ततः त्यो दिन आइसकेको छ।
आज (सोमबार) बेलुका मण्डला थिएटरमा पुष्पन आफ्नो हिसाबले प्रस्तुत हुँदैछन्।
'पन्छी-कथा भन्ने, गाउने' नाम दिएर हुन लागेको कार्यक्रम झन्डै डेढ घन्टाको हुनेछ। पुष्पन र उनको ब्यान्ड प्रस्तुत हुने कार्यक्रम कथा भन्ने शैलीमा अगाडि बढ्नेछ।
समाजका फरक फरक कथाका गीत कार्यक्रममा प्रस्तुत हुनेछन्। आफ्नो सिर्जनाबाहेक गीतकार श्रवण मुकारूङको 'सुन रे सियाराम' प्रस्तुत गरिने पुष्पनले बताए। कुमार नगरकोटी, नाटककार सिके श्रेष्ठ लगायतका आफ्नो मन खाएका गीत पनि उनले प्रस्तुत गर्नेछन्।
यो आफूले सोचेजस्तो जिन्दगीको पहिलो कार्यक्रम हुने विश्वास पुष्पनले लिएका छन्। र, आगामी दिनमा विगतमा जसरी कार्यक्रम नगर्ने अठोट समेत गरेका छन्।
उनी भन्छन्, 'म जे सोचेर संगीतमा आएको थिएँ अब त्यसरी नै अगाडि बढ्ने हो। जेसुकै परोस्, पहिलेजसरी गीत गाउँदिनँ। सकेसम्म आउटडोर शो नगर्ने। गर्नै परे हामीलाई त्यो माहोल दिए मात्र गर्ने सोच छ।'
उनी आगामी दिनमा आफूले मन पराएका गीत प्रस्तुत गर्दा स्वीकार गर्ने दर्शक-स्रोतालाई मात्रै प्रस्तुत गर्ने बताउँछन्।
'मैले गाउने गीत मैलै भनेजसरी स्वीकार गर्ने दर्शक-स्रोता हुनुहुन्छ। म उहाँहरूलाई नै सुनाउँदै जान्छु। अहिले सामाजिक सञ्जालको जमाना छ। बिस्तारै त्यो खालको संगीत सुन्ने एउटा जमात होला भन्ने विश्वास छ,' पुष्पनले भने।
डुवर्सको चिया बगानमा सामान्य कृषक परिवारमा जन्मिएका पुष्पनले कहिलेदेखि गाउन थाले, त्यसको पत्तो उनी स्वयंलाई छैन। होस सम्हालेदेखि नै गाउन थालेको बताउँछन्। स्टेजमा पहिलोपटक गाएको भने अहिले पनि झलझली याद आउँछ।
त्यसको किस्सा रोचक छ।
उनी कक्षा ११ पढ्न कालिम्पोङ गएका थिए। त्यहाँको स्कुलको वार्षिकोत्सव भव्य हुँदो रहेछ। सांगीतिक कार्यक्रम समेत हुने तयारी थियो, गीत गाउन विद्यार्थीहरूको अडिसन भइरहेको थियो। विज्ञान विषयका विद्यार्थी पुष्पनलाई गाउने रहर भए पनि स्टेजमा गएर गाउन लाज भयो।
तर विज्ञान संकायका ११ कक्षाका कोही विद्यार्थी पनि छनोट भएनछन्।
त्यत्तिकैमा शिक्षक आनन्द आचार्यले आएर भनेछन्, 'तिमीहरु पढ्ने मात्रै हो? अतिरिक्त क्रियाकलापमा कोही अगाडि छैनौं?'
यत्तिकैमा पुष्पनलाई पछाडिबाट कसैले घाँटीमा कसेर समाते। र, सिधै ती शिक्षकका अगाडि लगेर उभ्याउँदै भने, 'सर यसले गाउँछ।'
पुष्पनले पछाडि फर्किएर हेरे, नजिकको साथी रहेछ।
सरलाई पुष्पनलाई सोधे — के गाउँछौ तिमी?
पुष्पनले आत्तिँदै जबाफ दिए — तपाईं के सुन्नुहुन्छ!
ती सरले आफूलाई किशोर कुमारको गीत मनपर्ने बताए।
पुष्पनले निर्धक्कै गाइदिए — हमेँ और जीने की...।
गीत के सुनेका थिए, शिक्षकले पुष्पनको हात समातेर सिधै स्टेजमा पुर्याए। माइक्रोफोन अगाडि लगेर उभ्याउँदै गाउन लगाए।
'स्टेजमा दर्शक दीर्घापट्टी फर्किएर गाउन डर लाग्यो। भित्तापट्टी फर्किएर गाएँ,' पुष्पनले सम्झिए, 'सबैले ताली बजाइसकेपछि मात्रै अगाडि फर्किएँ।'
त्यही बेला 'खुबसुरत' फिल्मको गीत पनि सुनाए। सबैको तारिफ र वाहवाहीले उनको संगीतप्रतिको मोह ह्वात्तै बढ्यो।
'त्यसपछि पढाइ त मेरो दोस्रो प्राथमिकता भयो। संगीत सबै कुरा बन्यो,' उनले भने।
उनलाई नेपाली भाषा, नेपाली गीतले निकै तान्थ्यो।
डुवर्समै रहँदा सन् २००२ मा पहिलो एल्बम 'मन' सार्वजनिक गरे।
उनको परिवारको चाहना भने छोरो संगीतमा लागोस् भन्ने थिएन।
'बुवाको चाहना डाक्टर बनोस् भन्ने थियो। मैले उहाँलाई कामले नै मनाउँदै गएँ,' उनले भने।
नेपाली भाषा र संगीतप्रतिको प्रेम अनि मोहले उनलाई काठमाडौंसम्म डोर्यायो। साथीहरूसँग मिलेर 'वाणी' नामक ब्यान्ड बनाएका थिए। त्यही ब्यान्डबाट आएको गीत 'पन्छी' ले आफूलाई सुरूआती दिनमा चिनाएको पुष्पन बताउँछन्।
ब्यान्डले ल्याएको 'धिनधिना' बोलको गीत पनि निकै रूचाइयो।
त्यसपछि पुष्पन आफ्नो जागिरबाट एक वर्षका लागि बिदा लिएर काठमाडौं बस्न थालेका थिए।
पुष्पनले करिअरमा दर्जनौं गीत गाएका छन्। भ्युजका हिसाबले 'एउटा सपना छ' सबभन्दा धेरै हेरिएको छ।
तर उनलाई पन्छी गाउँदा धेरै माथिको आनन्द मिल्छ। आफ्नै गीत गाएजस्तो लाग्छ।
'पुष्पन अनि सारथि' ब्यान्डबाट पछिल्लो समय 'कमाने आमा, लुटी ल्यायो, केही पन्ना' जस्ता गीतहरू सार्वजनिक भएका छन्।
यी गीतले युट्युबमा धेरै भ्युज भने पाएका छैनन्। तर पनि पुष्पन सन्तुष्ट छन्।
'यी सिर्जनामा मलाई करोड भ्युज पाएका गीतमा भन्दा बढी आनन्द छ। आउँदा दिनमा पनि यस्तै खालका गीतलाई प्राथमिकता दिनेछु,' बेग्लै उडान भर्न लागेका उनले भने, 'मलाई भीड जता जान्छ त्यता होइन, भीडबाट फुत्त बाहिर निस्किएर उल्टो कुद्न मन लाग्छ।'
तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी