अभिनेता आर्यन सिग्देल र प्रदीप खड्काको पहिलो भेट आजभन्दा झन्डै १० वर्षअघि भएको थियो।
त्यति बेला आर्यन नेपाली फिल्मका चल्तीका अभिनेता थिए। प्रेमकथा फिल्ममा पहिलो रोजाइमा पर्थे।
प्रदीपले अभिनेताको पहिचान बनाइसकेका थिएनन्। त्यति बेला इस्केप नामको फिल्म बनाउने तयारीमा थिए।
हालसालै सेतोपाटीसँगको कुराकानीमा एक अर्कासँगको भेटबारे प्रदीपले भने, 'दाइसँगको चिनजान प्रेम गीत फिल्म आउनुभन्दा अगाडिदेखिको हो। विदेश टुरको कुरालाई लिएर भेटेका थियौं।'
'अहिले पनि मेरो मोबाइलमा उसको नम्बर प्रदीप भाइ- इस्केप भनेर सेभ छ,' नजिकै रहेका आर्यनले भने।
प्रदीपले आर्यनको 'मेरो एउटा साथी छ' यताका धेरै फिल्म हेरेका थिए।
चिनजान भएको झन्डै २ वर्षपछि प्रदीपको फिल्म 'प्रेम गीत' प्रदर्शनमा आयो। राम्रो चर्चा पाएको यो फिल्म आर्यनले पनि हेरे। त्यतिबेला प्रदीपलाई देखेर फिल्म क्षेत्रमा अर्को एउटा प्रतिभाको उदय भयो भन्ने उनलाई लागेको रहेछ।
'प्रदीपले साँच्चिकै राम्रो काम गरेर आफूलाई प्रमाणित गर्दै गयो,' आर्यनले भने।
त्यसयता आर्यन र प्रदीपका थुप्रै फिल्म रिलिज भए। एक अर्कासँग सहकार्य गर्ने चाहना दुवैमा थियो, जुरिरहेको थिएन।
आर्यन निर्देशक दिनेश राउत निकट मानिन्छन्। उनीहरूको सहकार्यका फिल्मले राम्रो व्यापार गरेका छन्।
प्रदीपले दिनेशको निर्देशनमा 'प्रकाश' मा काम गरे। यसबाट प्रदीपले राम्रो प्रशंसा पाएका थिए। त्यस बेलाबाटै दिनेशले आर्यन र प्रदीपलाई लिएर फिल्म बनाउने भनेर चर्चा सुरू भएको थियो। कस्तो फिल्म बनाउने भन्ने आइडिया नहुँदा ढिलाइ भइरहेको थियो।
त्यही क्रममा 'पुजार सार्की' को आइडियामा छलफल भयो। आर्यन, प्रदीपसहित पल शाह पनि अभिनेताका रूपमा जोडिए। विकास सुवेदीको लेखन, सुवास भुसालको निर्माणमा फिल्म बन्यो।
जेठ १० गतेदेखि प्रदर्शनमा आएको फिल्म यतिबेला तेस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले सुरूका दिनदेखि हलमा दर्शकको साथ पायो।
यो फिल्ममा आर्यनले पुजारको भूमिका निर्वाह गरेका छन् भने प्रदीप मैत बहादुर नामक दलित समुदायका युवाको चरित्रमा छन्। चकलेटी अभिनेताको छवि बनाएका उनीहरूले यसमा गरेको भूमिका धेरै दर्शकलाई फरक लाग्यो।
पात्रलाई लिएर आफूमा रहेको बुझाइ फिल्म 'प्रकाश' मा काम गरेपछि परिवर्तन भएको प्रदीपले सुनाए।
'त्यसअघि लुगा फेरेपछि नयाँ पात्र भयो भन्ने लाग्थ्यो। मैले आफूले गरिरहेको पात्र नयाँ देखिरहेको हुन्थेँ। मिडियामा उस्तै भयो भनेर आउँथ्यो,' प्रदीपले भने, 'प्रकाशको समयमा अनुप बराल (रंगकर्मी) सरसँग क्लास लिइयो। त्यसबेला जुन दिनसम्म प्रदीप खड्काको व्यक्तिगत बानीबेहोरा उस्तै देखिन्छ, तबसम्म लुगा फेर्दैमा मात्र क्यारेक्टर नयाँ हुँदैन भन्ने बुझेँ।'
चरित्र विकासका लागि बडी-ल्यांग्वेज, हिँडाइ, लवज, भाषा लगायत विविध कुरा आवश्यक हुने उनले बुझे। प्रकाशमा ती कुरा प्रयास गरेको र दर्शकले ।रूचाएको बताए। अहिले पुजार सार्कीमा पनि भूमिका रूचाइँदा उनी खुसी छन्।
आर्यन चरित्र वा पात्र विकासको कुरामा आफ्नो अगाडिको फिल्म 'होमवर्क' को सन्दर्भ जोड्छन्। उक्त फिल्ममा ७५ वर्षीय वृद्धको भूमिका निर्वाह गर्दा सुरूआतमा गाह्रो भएको उनलाई सम्झना छ।
'फिल्मको घोषणासहित क्यारेक्टर लुक्स सार्वजनिक कार्यक्रमअघि मेरो खुट्टा काँपिरहेको थियो। जब म मेकअप गर्न थालेँ, त्यो क्यारेक्टरको भाइब्स आउन थाल्यो। कार्यक्रममा मेरो प्रवेशसँगै फिल्मको गीत बज्यो। त्यही बेला ममा कहाँबाट ७५ वर्षको वृद्ध आयो थाहा छैन! उपस्थितबाट तालीको गड्गडाहट आयो।'
अहिले पुजार सार्कीको चरित्र निर्माणमा आफ्नो बुबाको पुरानो तस्बिरले सहयोग गरेको आर्यनले बताए।
'मेरो बुबा पण्डित हुनुहुन्छ। उहाँको पुरानो फोटो हेरेर त्यही अनुसार प्रयास गर्ने बित्तिकै मेरो लुक्स फाइनल भएको थियो। तर क्यारेक्टरको अरू कुराको गहिराइबारे सोच्दा केही गाह्रो भएको थियो,' उनले भने, 'सम्बन्धित क्यारेक्टर आफूभित्र कसरी आउन सक्छ भनेर नियाल्ने नै क्यारेक्टर विकासमा मेरो प्रक्रिया हो।'
यसअघि आर्यनले ४० वटाभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। प्रदीपको भने पुजार सार्की १० औं फिल्म हो।
आर्यन र प्रदीपमा चकलेटी लुक्स मात्र होइन, अर्को समानता पनि छ – दुवै जनाले फिल्म क्षेत्रमा आउँदै गर्दा यसमै करिअर बनाउँछु भन्ने सोचेका थिएनन्।
सोहीकारण करिअरलाई लिएर आफूहरूमा गुनासो नरहेको उनीहरू बताउँछन्।
योजनाबिना आए पनि राम्रो गरेर देखाउँछु भन्ने इच्छा आफूमा सुरूदेखि नै रहेको आर्यन बताउँछन्।
सोही अनुसारै यहाँसम्म आइपुगेको बताउँदै उनले भने, 'मसँग आएको कामलाई न्याय गर्ने र आफ्नो प्रस्तुति राम्रो गर्ने उद्देश्यलाई आत्मसात गर्दै अहिलेसम्म पनि सके जति गरिरहेको छु। करिअरको अरू उतार–चढावलाई लिएर गुनासो छैन।'
प्रदीप पनि आफूलाई अचानक भएको कलाकार मान्छन्। प्रेम गीतपछिको फिल्मी करिअर आफ्नो लागि बोनस रहेको उनले बताए।
'फिल्म खेल्न पाए हुन्थ्यो भनेर हिँडिरहेको व्यक्तिले प्रेम गीत खेल्न पाउनु ठूलो उपलब्धि थियो। त्यसपछिको फिल्मी करिअर सबै बोनस हो,' उनले ठट्यौली शैलीमा भने, 'बोनसमा कति लोभ गर्नु! जति आएको छ सबै फाइदा हो। जतिञ्जेलसम्म बोनस आइरहन्छ, लिइरहन्छु। करिअरप्रति एकदमै खुसी छु।'
दुवै अभिनेताले आगामी दिनमा पनि अभिनयमा 'भेराइटी' दिने प्रयास गर्ने बताए।
'आफूले खेलेको फिल्म जुन विधाको भए पनि सकारात्मक सन्देश पनि दिने खालको छ भने खुसी लाग्छ,' आर्यनले भने।
प्रदीपले भने यस्तो, उस्तो खेल्न पाए भन्ने सोच नभएको र प्रस्तावमध्येबाट आफूलाई राम्रो लागेको छानेर काम गर्ने बताए।
'अहिले दुईवटा फिल्म टिपिकल गाउँले परिवेशको गरेँ भने यसपछि लभस्टोरी गर्छु होला। त्यसपछि फेरि एक्सनको ट्रेन्ड आयो भने, त्यही गर्छु होला। जुन ट्रेन्ड छ, त्यहीअनुसार फिल्म गर्ने सोच हो,' उनले भने।
दुवैले आफ्नो आगामी फिल्मबारे समेत जानकारी दिए।
यतिबेला प्रदीप 'एक्टर' को छायांकनमा व्यस्त छन्। यसपछि 'पिताम्बर', 'ऐरी', 'एक्लो', 'लिलीबिली २' लगायत आधा दर्जन हाराहारी फिल्ममा काम गर्नेछन्।
त्यसपछि केही समय ब्रेक लिने सोच रहेको उनले बताए।
यता आर्यनले दिनेश राउतकै निर्देशनमा बन्ने फिल्म 'गाउँ नै रमाइलो' मा काम गर्ने भएका छन्। अभिनयसँगै फिल्म निर्माणलाई पनि निरन्तरता दिने योजना रहेको उनले सुनाए।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी