हलमा चलिरहेको फिल्म 'फर्की फर्की' का निर्माता रोहित अधिकारीको सुरूआती लक्ष्य निर्देशक बन्ने थियो।
त्यही लक्ष्यका साथ उनी अस्कर कलेजमा फिल्म निर्देशन पढिरहेका थिए।
त्यति बेला निर्माता सुनील रावलसँग रोहितको राम्रै उठबस थियो। उनीमार्फत निर्देशक हेमराज बिसीसँग पनि चिनजान हुन पुगेको थियो। हेमराज र सुनीलले फिल्म 'होस्टेल' मा सहकार्य गरेका थिए। अभिनेताका रूपमा अनमोल केसीको डेब्यु रहेको उक्त फिल्मले राम्रो व्यापार गरेको थियो।
सुनील र हेमराजसँग भेटका क्रममा हुने फिल्म सम्बन्धी कुरा रोहितले बढो चासो दिएर सुन्थे। हेमराजले पनि उनलाई नियालिरहेका हुन्थे।
एक भेटमा हेमराजले निर्देशक बन्छु भनेर हिँडिरहेका उनै रोहितलाई स्क्रिप्ट देखाउँदै प्रस्ताव राखे – निर्माता बन्ने।
रोहित सम्झिन्छन्, 'म भर्खर २४ वर्षको थिएँ। उहाँले मलाई पहिल्यैदेखि नियालिरहनुभएको रहेछ। सायद मलाई निर्देशकका रूपमा भन्दा निर्मातामा रूपमा सक्षम देख्नुभयो। भाइ, तिमीले सबै कुरा जानेका छौ। निर्देशनमा ध्यान दियौ भने अरू कुरा बिग्रिन सक्छ। तिमीले निर्माण गर। मसँग भएको कन्सेप्टमा फिल्म बनाऔं भन्नुभयो।'
उनलाई हेमराजको कुरा ठीकै लाग्यो। स्क्रिप्ट पनि मनपर्यो। अभिनेता अनमोल केसीलाई लिएर फिल्म बनाउने योजना भयो त्यति बेलासम्म अनमोलले युवा पुस्तामाझ लोभलाग्दो क्रेज बनाइसकेका थिए। अनमोलको पारिश्रमिक महँगो हुने भएकाले उनलाई नलिने कि भन्नेसम्म निर्देशक हेमराज पुगिसकेका रहेछन्। तर अनमोलाई नै लिने रोहितको अडानमा उनी सहमत भए।
फिल्ममा लगानीका लागि रोहितसँग पैसा थिएन। उनले घरबाट पैसा ल्याएर लगानी गरेका थिए। आफूले फिल्म पढेको र गलत संगतमा नलागेका कारण परिवारलाई मनाउन सजिलो भएको रोहितले बताए।
'मप्रति परिवारको विश्वास थियो,' उनले भने, 'जे गरे पनि फिल्ममै गर्ने हो, म फिल्मकै व्यवसाय गर्छु भनेँ। त्यस बेला अनमोलका सबै फिल्म हिट थिए। अनमोल केसी हिरो हो भनेर सबै कुरा भनेर १ करोड रूपैयाँ घरबाट मिलाएँ।'
अनमोल केसी र सृष्टि श्रेष्ठको शीर्ष अभिनयमा फिल्म 'गाजलु' निर्माण भयो। हेमराजले निर्देशन गरेको यो फिल्मले राम्रो कमाइ गर्यो। यो फिल्मबाट आफूले ४० लाख रूपैयाँ हाराहारी नाफा कमाएको रोहितले बताए।
त्यसको तीन वर्षपछि उनले दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग मिलेर फिल्म 'छ माया छपक्कै' निर्माण गरे। यो फिल्मका लागि रोहितले नै दीपकसँग सहकार्यको प्रस्ताव राखेका थिए। धेरै स्क्रिप्ट सुनाएपछि दीपेन्द्र लामाको स्क्रिप्टमा दीपकराज सहमत भएका थिए।
दीपेन्द्रकै निर्देशन रहेको यो फिल्म सुपरहिट भयो। यसबाट आफूलाई १ करोड ५० लाख हाराहारी नाफा भएको रोहितले बताए।
त्यसको पाँच वर्षपछि उनले बनाएको फिल्म हो, 'फर्की फर्की'।
उनले स्क्रिप्टमा चित्त नबुझेकाले र कोभिडका कारण तेस्रो फिल्म ल्याउन केही ढिलाइ भएको बताए। अनमोल केसी र जसिता गुरूङको अभिनय रहेको फिल्म यतिबेला दोस्रो सातामा प्रदर्शन भइरहेको छ।
'टाइम लूप' को अवधारणमा निर्माण भएको यो प्रेमकथा सुयोग गुरूङले लेखन एवं निर्देशन गरेका हुन्। यो फिल्मले पनि यतिबेला देश तथा विदेशमा उत्साहजनक व्यापार गरेको रोहित बताउँछन्। उनका अनुसार फिल्मले लगानी सुरक्षित गरिसकेको छ।
'१० औं दिनमा लगानी सुरक्षित गरिसकेका छौं। दुईवटा फिल्म एकसाथ आउँदा केही असर भयो। हामीले जति सोचेका थियौं, त्यति नाफा चाहिँ नहोला जस्तो छ। तर पनि सन्तुष्ट नै छौं,' उनले भने।
केही समयपछि आफू फेरि नयाँ फिल्मको तयारीमा जुट्ने रोहितले बताए।
निर्देशनतिर होमिने सोच भने अहिलेका लागि नरहेको उनले बताए। उनले भने, 'फिल्म निर्माण नै मेरो मुख्य पेशा हो, हाल निर्माता मै फिट छु, निर्देशनबारे सोचेको छैन।'