मरिचमान श्रेष्ठ नेपाली सिरियल निर्माण र अभिनयमा परिचित नाम हो।
'बल्छी ध्रुवे' भनेर चिनिने मरिचमानले चार वर्षअघि राजु पौडेल 'राजु मास्टर' सँग मिलेर 'हल्का रमाइलो' निर्माण सुरू गरेका थिए। यो सिरियल लोकप्रिय भएपछि तीन वर्षअघि उनीहरूले 'जुठे' बनाए।
मरिचमानका अनुसार 'हल्का रमाइलो' र 'जुठे' बनाउँदा नेपालमा धेरै सिरियल थिएनन्। पछिल्लो समय भने ह्वात्तै बढेका छन्।
उदाहरणका लागि —
'सीता' दर्शकमाझ आउन थालेको ६ महिना मात्र भयो। कलाकार राजु पौडेल उर्फ राजु मास्टरले 'सकस' सिरियल लिएर आएको पनि धेरै भएको छैन। कलाकार बेगम नेपालीको नयाँ सिरियल 'हरेक पल' प्रसारण हुन थालेको भर्खर एक महिना पुग्दैछ।
सहरिया बुहारी, नाता, वडा नम्बर ४२० — यी सिरियल पनि केही समययता मात्र प्रसारणमा आएका हुन्।
प्राविधिक विकासका कारण निर्माण प्रक्रिया सहज हुनुले एक-डेढ वर्षयता सिरियल बनाउने क्रम बढेको मरिचमान बताउँछन्।
'फिल्म निर्माणमा करोडभन्दा बढी खर्च हुन्छ। निर्माणदेखि प्रदर्शनसम्म अनेक झमेला झेल्नुपर्छ। सिरियल भने थोरै खर्चमा बनाउन सकिन्छ। दर्शकसम्म लैजान गाह्रो हुँदैन,' उनले भने, 'सबभन्दा ठूलो कुरा त, यसमा प्रतिक्रिया छिट्टै पाइन्छ।'
उनको बुझाइमा नेपाली सिरियलका दर्शक बढ्नुको मुख्य कारण इन्टरनेटको तीव्र विस्तार हो। गाउँ-गाउँमा इन्टरनेट प्रयोग बढ्नुले युट्युब हेर्नेको संख्या फराकिलो भएको छ। यसले युट्युबमा अपलोड गरिएका नेपाली सिरियलले पहिलेभन्दा धेरै दर्शक र धेरै भ्युज पाउन थालेका छन्। भ्युज बढेपछि निर्माताहरू पनि आकर्षित भएको मरिचमानको भनाइ छ।
'युट्युबमा छुट्टै शुल्क तिर्नु पर्दैन। सिरियल हेर्न समय पनि छुट्टयाउनु पर्दैन,' उनले भने, 'यसको लाभ नेपाली सिरियललाई भइरहेको छ।'
छ महिनाअघि रिलिज 'सीता' का कार्यकारी निर्माता तथा कलाकार बालकृष्ण वली युट्युबमा पाएको भ्युजले आफूहरू उत्साहित भएको बताउँछन्।
सुरूआतका केही एपिसोडले २-४ लाख भ्युज कमाउला भन्ने उनको अपेक्षा थियो। तर तेस्रो एपिसोडले एकैदिन १० लाख भ्युज पाएपछि उनको खुसीको सीमा रहेन। अहिले यो सिरियल २४ घन्टामा १५ लाख हाराहारीले हेर्ने गरेको उनले जानकारी दिए।
'म पहिल्यैदेखि कलाकारका रूपमा चिनिन चाहन्थेँ। मेरो यो इच्छा सिरियलले पूरा गरेको छ,' सीतामा मुख्य भूमिका निर्वाह गरेका बालकृष्णले भने।
सिरियल निर्माणमै व्यस्त कलाकार कुमार कट्टेल 'जिग्री' का अनुसार पहिले टेलिभिजनमा मात्र प्रदर्शन गर्नुपर्ने बेला सिरियल निर्माण त्यति सहज क्षेत्र थिएन।
'आफूले बनाएको सिरियल प्रदर्शन गर्न एजेन्सीमार्फत् टेलिभिजन स्टेसन धाउनुपर्ने बाध्यताले निर्माताहरू झिँझो मान्थे। टेलिभिजनमा समय किन्न शुल्क पनि महँगो थियो,' उनले भने, 'अहिले सिरियलका लागि टेलिभिजन स्टेसनको भर पर्नुपर्ने अवस्था छैन। युट्युब, फेसबुक लगायत प्लेटफर्ममा सबैको सहज पहुँच छ। यस्ता प्लेटफर्मले दर्शक बढाइदिएको छ। नेपाली सिरियलले युट्युबबाटै मनग्गे भ्युज पाइरहेका छन्।'
हास्य सिरियल 'सक्किगोनि' का कलाकार, लेखक तथा निर्देशकसमेत रहेका कुमारले अगाडि भने, 'राम्रो सिर्जना गर्ने व्यक्तिले सिरियल बनाउँछु भन्दा अब कसैकोमा धाइरहनुपर्दैन। प्रतिभा भएका व्यक्तिलाई कलाकारितामा आउन पनि सिरियल सहज प्लेटफर्म बनेको छ।'
यति मात्र होइन, दर्शकको मन जित्न सके युट्युब लगायत डिजिटल प्लेटफर्मबाटै राम्रो आम्दानी हुने सिरियल निर्माणमा संलग्नहरू बताउँछन्। स्तरीय सिरियल बनाउन डिजिटल प्लेटफर्मको आम्दानीले नै सहयोग गरिरहेको उनीहरूको भनाइ छ।
यति हुँदाहुँदै युट्युब भ्युजकै भरमा निर्माणमा हात नहाल्न उनीहरू सुझाव दिन्छन्।
'धेरैले युट्युबमा राम्रो भ्युज देखेर सिरियल बनाउन खोजेका हुनसक्छन्। त्यसरी हचुवा भरमा हाम्फाल्दा धोका हुनसक्छ,' कुमारले भने, 'चलेका सिरियलको टिमले कति मेहनत गरेका छन्? उनीहरू कसरी काम गर्छन्? ती सिरियल दर्शकले किन मन पराए? यस्ता विषयमा पर्याप्त अध्ययन गर्नुपर्छ।'
सिरियलको लोकप्रियतासँगै लागत पनि बढ्न थालेको छ। सामान्यतया एउटा एपिसोड बनाउन एकदेखि पाँच लाख रूपैयाँ खर्च हुने निर्माताहरू बताउँछन्।
कुमारको 'सक्किगोनि' सिरियलमा एउटा एपिसोडको खर्च दुईदेखि पाँचलाख छ। कतिपय एपिसोड योभन्दा महँगो पनि छ।
मरिचमान भने आफूहरूले बनाएको सिरियलमा एउटा एपिसोडको लागत एकदेखि डेढ लाख पर्ने बताउँछन्। त्यस्तै, 'सीता' का कार्यकारी निर्माता बालकृष्ण वलीले चार एपिसोडमा पाँचदेखि सात लाख खर्च गरेका छन्।
अब हामी युट्युब भ्युजका आधारमा पछिल्लो समय धेरै हेरिएका नेपाली सिरियलबारे चर्चा गरौं।
अचेल कमेडीभन्दा गम्भीर विषयवस्तुका सेन्टिमेन्टल सिरियलतर्फ दर्शक र निर्माताको रूचि बढेको देखिन्छ। युट्युबमा लोकप्रिय सिरियल यस्ता छन् —
भुन्टी
यति बेला युट्युबमा सबभन्दा धेरै भ्युज पाउने सिरियल हो, भुन्टी। टेलिभिजनमा प्रसारण नहुने यो सिरियलले युट्युबमा साताकै ५० लाख हाराहारी दर्शक बटुल्ने गरेको छ। यसलाई आशा खड्काले लेखन, निर्देशन तथा निर्माण गरेकी छन्।
चार वर्षदेखि युट्युबमा आउन थालेको यो सिरियलको अहिलेसम्म २०७ भाग सार्वजनिक भएका छन्।
सिरियलमा मुख्य भूमिका अर्थात् 'भुन्टी' को भूमिकामा आशा स्वयंले अभिनय गरेकी छन् भने उनीसँगै विनोद श्रेष्ठ, शारदा गिरी, सुशील पोखरेल, हिउँवाला गौतम, सुवास गजुरेल, सागर गौतम लगायत कलाकार पनि नियमित देखिन्छन्। यो 'सेन्टिमेन्टल' सिरियल हो।
कान्छी
युट्युबमा धेरै हेरिने अर्को सिरियल हो, कान्छी। यो सिरियल पनि आशा खड्काकै हो। उनकै लेखन, निर्देशन तथा निर्माण रहेको यो सिरियलको मुख्य कलाकार उनी स्वयं हुन्।
आशासँगै उनका श्रीमान सागर गौतम, रामचन्द्र अधिकारी, रमा थपलिया, कमला रेग्मी, सुशील पोखरेल, विजय देउजा लगायतका कलाकार सिरियलमा देखिन्छन्। अहिलेसम्म १९५ भाग सार्वजनिक भएको यो सिरियलले एक सातामा युट्युबमा ३५ लाखभन्दा बढी दर्शक बटुल्ने गरेको छ।
ग्रामीण परिवेशमा रहेर निर्माण गरिएको यो पनि 'सेन्टिमेन्टल' सिरियल हो।
बुहारी
यो सिरियल पनि टेलिभिजनमा प्रसारण हुँदैन। तर यसले युट्युबमा लोभलाग्दो भ्युज पाउँदै आएको छ।
'सेन्टिमेन्टल' विषयमा निर्माण गरिएको यो सिरियलमा रामचन्द्र बोहरा, अनिता बैजु, लक्ष्मी गिरी, देशभक्त खनाल, लक्ष्मणविक्रम बस्नेत, विद्या कार्की, महेशजंग थापा, सरिता राजोपाध्याय लगायत कलाकारको अभिनय छ।
कलाकार रामचन्द्र बोहराले नै सिरियलको लेखन तथा निर्देशन गरेका छन्। अहिलेसम्म १६८ भाग सार्वजनिक भएको यसका पछिल्ला प्रायः एपिसोड ३५ लाखभन्दा बढी हेरिएका छन्।
सक्किगोनि
अहिले कमेडीतर्फ सबभन्दा लोकप्रिय सिरियल हो, सक्किगोनि। अर्जुन घिमिरे 'पाँडे' र कुमार कट्टेल 'जिग्री' को संयुक्त लेखन तथा निर्देशन रहेको यो सिरियलका हरेकजसो पात्र दर्शकमाझ चर्चित छन्।
'भद्रगोल' बाट रूचाइएका अर्जुन र कुमारले उक्त सिरियलबाट छुट्टिएपछि 'सक्किगोनि' को प्रसारण सुरू गरेका थिए। सिरियलमा यी दुई जनाका साथमा सागर लम्साल, हरिश निरौला, सिपी पुडासैनी, कमलमणि नेपाल, दीपक आचार्य, सुबोध गौतम, रक्षा श्रेष्ठ, रश्मी पाण्डे, गोविन्द कोइराला लगायत कलाकारको अभिनय छ।
तेस्रो सिजनको ४४ भागसम्म प्रसारणमा आएको सिरियलका प्रायः एपिसोडले एक सातामा युट्युबमा ३० लाख हाराहारी भ्युज पाउने गरेका छन्। हरेक उमेरका दर्शकमाझ यो सिरियल लोकप्रिय छ। यो टेलिभिजनमा प्रसारणपछि युट्युबमा सार्वजनिक हुन्छ।
सीता
दर्शकमाझ आउन थालेको छोटो समयमै राम्रो भ्युज पाएको सिरियल हो, सीता। अहिलेसम्म २६ भाग मात्र प्रसारणमा आए पनि यसका पछिल्ला एपिसोडले एक सातामै ३० लाख हाराहारी भ्युज पाएका छन्।
यो महिलालाई केन्द्रमा राखेर निर्माण गरिएको 'सेन्टिमेन्टल' सिरियल हो। यसको कथा लेखक तथा निर्देशक सहिन प्रजापति हुन्।
सिरियलमा केही फिल्म खेलेकी अभिनेत्री सुनिशा बजगाईंले मुख्य भूमिका गरेकी छन्। सुनिशासँगै बालकृष्ण वली, राजु भुजु, सबिता गुरूङ, तारा केसी, सहिन प्रजापति, सामिया कार्की लगायत कलाकार सिरियलमा छन्। यो सिरियल टेलिभिजनमा समेत प्रसारण हुन्छ।
जुठे
यो सामाजिक सिरियल हो, जसलाई राजु पौडेल 'राजु मास्टर' र मरिचमान श्रेष्ठ 'बल्छी ध्रुवे' ले संयुक्त रूपमा लेखन तथा निर्देशन गरेका छन्।
अहिलेसम्म १४८ भाग प्रसारणमा आएको यो सिरियलमा राजु र मरिचमान नै मुख्य भूमिकामा देखिँदै आएका छन्। साथमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, श्रीप्रसाद थापा, सरिता ढुंगाना, राजु कार्की लगायत कलाकार देखिन्छन्न्।
यो टेलिभिजन सिरियलका पछिल्ला एपिसोडलाई युट्युबमा एक सातामा १८ लाख हाराहारीले हेर्ने गरेका छन्।
नारी
युट्युब दर्शकमाझ लोकप्रिय अर्को सिरियल हो, नारी। यो सेन्टिमेन्टल सिरियल हो। यसलाई एक सातामा १३ लाख हाराहारी दर्शकले हेर्ने गरेका छन्।
अहिलेसम्म १३२ भाग सार्वजनिक भएको यो सिरियल रामहरि बिसीले निर्देशन गरेका छन्। शर्मिला शर्मा, बिमला गिरी, रामहरि बिसी, मीना जिसी, अञ्जु हमाल लगायत कलाकारले अभिनय गरेका छन्।
यो सिरियल टेलिभिजनमा प्रसारण हुँदैन।
हल्का रमाइलो
अहिलेसम्म २२३ भाग प्रसारणमा आएको यो कमेडी सिरियल मरिचमान श्रेष्ठ 'बल्छी ध्रुवे' ले लेखन तथा निर्देशन गरेका हुन्। सिरियलमा उनी स्वयं मुख्य भूमिकामा देखिन्छन्। त्यस्तै, लक्ष्मी गिरी, शारदा गिरी, सविन बास्तोला, सिरू विष्ट, दीपेन्द्र तिमिल्सिना, कृष्ण सिवाकोटी, पूजन घिमिरे लगायतको अभिनय छ।
यो सिरियलमा केही समय अघिसम्म अर्का कलाकार राजु पौडेल 'राजु मास्टर' समेत लेखक, निर्देशक तथा कलाकारका रूपमा थिए। पछिल्लो समय भने उनी सिरियलबाट छुट्टिए।
'हल्का रमाइलो' का पछिल्ला एपिसोडलाई एक सातामा १२ लाख हाराहारी दर्शकले हेर्न गरेका छन्। यो टेलिभिजन सिरियल हो।
सकस
'हल्का रमाइलो' बाट छुट्टिएपछि राजु पौडेल 'राजु मास्टर' ले सुरू गरेको सिरियल हो, सकस।
सामाजिक कथामा निर्माण गरिएको सिरियलको अहिलेसम्म १९ एपिसोड सार्वजनिक भएको छ। सिरियलका पछिल्ला एपिसोडलाई सार्वजनिक भएको एक सातामा १२ लाखसम्मले हेर्न थालेका छन्।
राजु पौडेलको लेखन तथा निर्देशन रहेको यो सिरियलमा उनी स्वयंले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथमा लक्ष्मीनाथ तिमिल्सिना, तारा केसी, कमला रेग्मी, विनोद श्रेष्ठ, अनिता बस्नेत, प्रमिला खनाल लगायत कलाकार देखिन्छन्।
टुहुरी
युट्युबमा राम्रो भ्युज पाउने अर्को सिरियल हो, टुहुरी। यो 'सेन्टिमेन्टल' सिरियल हो।
अहिलेसम्म १३५ भाग सार्वजनिक भएको सिरियललाई शिव शर्मा कंडेलले निर्देशन गरेका हुन्। एलिना रायमाझी, विष्णु सापकोटा, कविता शर्मा, विनोद श्रेष्ठ, श्याम राई, मञ्जु श्रेष्ठ, विमला गिरी लगायतका कलाकार सिरियलमा छन्।
सिरियलका पछिल्ला प्रायः एपिसोड १५ लाखभन्दा बढी हेरिएका छन्। यो युट्युबलाई केन्द्रमा राखेर निर्माण गरिएको सिरियल हो।
गाह्रो छ हो
दर्शकले रूचाएको अर्को कमेडी सिरियल हो, गाह्रो छ हो। यो टेलिभिजन सिरियलले युट्युबमा राम्रो भ्युज पाउने गरेको छ।
मनराज श्रेष्ठको निर्देशन रहेको सिरियलको मुख्य भूमिका बेगम नेपाली 'भटभटे माइला' ले गरेका छन्। पछिल्लो समय सिरियलमा अर्की कलाकार रियाशा दाहाल भने देखिएकी छैनन्।
विष्णु सापकोटा, सुशील पोखरेल, विनोद राई, मनराज श्रेष्ठ, राजकुमार देवकोटा, करूणा श्रेष्ठ, रेशम सापकोटा लगायत कलाकार पनि सिरियलमा देखिन्छन्। सार्वजनिक भएको एक सातामा यो सिरियललाई युट्युबमा १० लाखभन्दा बढीले हेर्ने गरेका छन्।
यी ११ सिरियलबाहेक अन्यले पनि दर्शकको मन जित्दै युट्युबमा राम्रो भ्युज बटुलिरहेको देखिन्छ।