गुड फ्राइडे सिनेमा
सिनेमा, साहित्य र संगीतमा बंगाली समुदायको ठूलो नाम छ। सत्यजीत रे, विमल राय, ऋतिक घटक, ऋतुपार्नो घोष, अपर्णा सेन आदि केही प्रतिनिधि नाम हुन्। तर वर्तमान बंगलादेशी नागरिकका लागि ती नाम राजनीतिक हिसाबले पराइ देशको नामसरह भएको छ।
बंगलादेश, भारत विभाजनपछि पूर्वी पाकिस्तान नाम दिइएको भूगोलका मान्छेहरूले विद्रोह गरेर बनाएको नयाँ देश हो। बंगाल सभ्यताको इतिहास केही शताब्दी परसम्मै तन्किए पनि सन् १९७१ मा जन्मेको बंगलादेशले धेरै कुरा फेरि नयाँ शिराबाट सुरू गर्नुपर्यो।
गरिबी, अनिकाल, राजनीतिक अस्थिरता र हिंसात्मक घटनाक्रमका बीच अन्य क्षेत्रजस्तै यहाँको सिनेमा क्षेत्र पनि पिल्सियो।
बंगलादेशको सिनेमा क्षेत्रको मूल्यांकन यही सन्दर्भमा गर्दा धेरै उत्साहजनक नदेखिनु पनि अस्वाभाविक लाग्दैन। तैपनि केही सार्थक प्रयासहरू भएका छन्।
यस्तै प्रयास हो तारेक मसुदको फिल्म 'मातिर मोइना'।
सन् १९६० को परिवेशको पूर्वी पाकिस्तान (हालको बंगलादेश) को सन्दर्भ उतारिएको यो फिल्मको केन्द्रमा बालक अनु र उनको परिवारको कथा छ।
एक समय बेलायती शैलीको जीवन बाँच्ने अनुको बुबा काजी कट्टर धार्मिक व्यक्तिमा बदलिएका मुसलमान हुन्। काजीका भाइ वामपन्थी राजनीतिमा लागेका युवा हुन्। बुबाले अनु आफ्नो काकासँग हिन्दु धार्मिक उत्सवमा सहभागी भएको रूचाउँदैनन्। छोराले बाटो नबिराओस् भनेर उनी अनुलाई मदरसामा पढ्न गाउँभन्दा पर पठाउँछन्।
होमियोप्याथी औषधि बेच्ने काजी आफ्नो छोरी बिरामी हुँदा पनि एलोप्याथी औषधि प्रयोग गर्न मान्दैनन्। काजीको जिद्दीले छोरालाई परिवारबाट टाढा पठाइएकोमा अनुकी आमा असन्तुष्ट हुन्छिन्। अझ, काजीकै संकीर्णताले छोरी गुमाउनु पर्दा उनी आहत हुन्छिन्।
मदरसामा अनु त्यहाँका केटाहरूले हेप्ने अर्को बालक रोकोनसँग नजिक भए पनि त्यहाँको वातावरणमा एक्लो उनी एक्लो महसुस गर्छन्।
फिल्ममा अनुको जीवन र उनको परिवारमा आउने उतारचढाव सँगै तत्कालीन राजनीतिक घटनाक्रम पनि क्रमशः जोडिएको छ।
बंगलादेशको जन्म हुनुअघिको त्रासदीपूर्ण समयको कथा भन्ने यो फिल्मले धार्मिक अतिवाद र पूर्वाग्रहमाथि तीखो व्यंग्य गर्छ। सामान्य घटनाक्रम मार्फत् विस्तारमा सामाजिक राजनीतिक कथा भनिएको यो फिल्ममा काजीको हठका कारण बन्दीझैं उकुसमुकुस जीवन बाँच्न बाध्य अनुकी आमाको छट्पटीलाई पनि मिहीन रूपमा देखाइएको छ।
सन् २००२ मा कान महोत्सवमा समीक्षकको रोजाइमा पुरस्कृत यो फिल्म बंगलादेशी उत्कृष्ट फिल्ममध्ये एक मानिन्छ। वृत्तचित्र र छोटा फिल्म बनाएर चर्चा कमाएका मसुदको यो पहिलो फिचर फिल्म हो।
मसुदको ५४ वर्षको उमेरमा सन् २०११ मा सडक दुर्घटनामा निधन भएको थियो। अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका मसुदका वृत्तचित्र काठमाडौंमा आयोजना हुने दक्षिण एसियाली वृत्तचित्र महोत्सवमा प्रदर्शन र पुरस्कृत भएको छ।
गुड फ्राइडे सिनेमाका अन्य फिल्महरू हेर्न यहाँ क्लिक गर्नुहोस्।