'तपाईंलाई नेपालमा भएका कति प्रकारका धानको बिउको नाम थाहा छ?'
केही साताअघि काठमाडौंमा भएको 'रिइम्याजिनिङ म्युजियम्स इन नेपाल' नामक कार्यशालामा फोटो सर्कलकी सह-संस्थापक एवं निर्देशक नयनतारा कक्षपतिले प्रश्न गरिन्।
कार्यशालामा करिब तीस जना सहभागी थिए।
नेपालका विभिन्न ठाउँको प्रतिनिधित्व गर्ने सहभागीहरूले सामूहिक रूपमा धान बिउको नाम सम्झिन थाले।
र, जबाफ दिए — बासमती, मन्सुली, मार्सी, जिरा मसिनो, गोपाल, कृष्णभोग, ताइचिन, अनदी, सौठारी (थारू समुदायको धान)।
सबैजना भएर जम्मा दस प्रकारका धानको नामसमेत हामीले राम्ररी भन्न सकेनौं।
हामी भर्खरै नेपाल कला परिषदको माथिल्लो तलामा जारी 'सार्वभौम वन' नामक प्रदर्शनी हेरेर फर्किएका थियौं। भारतीय फिल्ममेकर तथा अभियन्ता अमर कन्वरले अर्का फिल्ममेकर सुधीर पटनायक र शर्ना दस्तुरसँगको सहकार्यमा यो प्रदर्शनी गरेका हुन्।
करिब तीन महिनादेखि परिषदमा चलिरहेको 'सार्वभौम वन' मा फिल्म छन्। श्रव्य–दृश्यका खुराक छन्। फोटो, किताब र लिखित दस्तावेजहरू छन्। पत्रिकामा छापिएका समाचारहरू छन्। सबभन्दा चाखलाग्दो यहाँ दुई सय ७२ प्रजातिका धानका बिउ छन्।
यो प्रदर्शनी अनि त्यहाँका सयौं प्रजातिका बिउ हेरेर आइसकेपछि फोटो सर्कलकी नयनताराले हामीलाई उक्त प्रश्न सोधेकी थिइन्। हाम्रा दस औंला पनि भरिभराउ नभएका उत्तर, हामीसम्म पुस्तान्तरण नभएका र गुमाउँदै गएका रैथाने ज्ञान र सीपको उदाहरण थियो।
यो विषयलाई गम्भीर भएर सोच्नुअघि आउनुहोस्, एकछिन हामी 'सार्वभौम वन' लाई नै नियालौं।
तपाईंले कुनै पनि कला प्रदर्शनी अन्धकारमा हेर्नुभएको छ?
छैन भने यो प्रदर्शनी तपाईंका लागि नौलो हुनसक्छ। यहाँ बत्तीको उज्यालो त्यहाँ–त्यहाँ मात्र केन्द्रित छ, जहाँ–जहाँ हेर्नुपर्ने सामग्रीहरू छन्।
यसको फाइदा के भने, तपाईंको ध्यान निश्चित कुरामा केन्द्रित हुन्छ। घाटा के भने, अन्धकारसँग डराउनेले यो प्रदर्शनी छुटाउन सक्छन्।
यो प्रदर्शनी जति अन्धकारमय छ, त्यति नै अँध्यारो यसले बोकेको कथा र इतिहास छ। यो प्रदर्शनीले भारतको एउटा कालो र अन्धकारमय कालखण्ड समेटेको छ। यसमा भारत, उडिसाका मानिसले आफ्नो जग्गा–जमिनमा स्वामित्व लिन खोज्नेहरूविरूद्ध गरेको संघर्षका कथा कलात्मक र सिर्जनशील ढंगमा समेटिएको छ।
उडिसा जंगल, जमिन, नदी लगायत प्राकृतिक स्रोतको धनी थियो। सन् १९५० देखि त्यहाँ ठूला कम्पनीको दबदबा सुरू भयो। त्यहाँका आदिवासी जनजाति र किसानलाई जबरजस्ती विस्थापित गरियो। आलुमिनियम, खनिज र स्टिल उद्योग खुले। कम्पनीहरूले त्यहाँका स्रोतमा नियन्त्रण राख्न थाले। उर्वर जग्गा–जमिन उजाडिए।
आधुनिकता र औद्योगिक मनोवृत्तिले एउटा सुन्दर ठाउँ क्षणभरमै तहसनहस हुन्छ भन्ने बलियो उदाहरण बन्यो उडिसा।
फिल्ममेकर अमर कन्वरले उडिसाका किसान र आदिवासी समुदायलाई औद्योगिक गतिविधिले कसरी प्रभाव पारेको छ भनेर लामो समयदेखि अध्ययन र दस्तावेजीकरण गर्दै आएका छन्। त्यही क्रममा एक दिन उनको भेट निधन नाम भएका एक जना मान्छेसँग भएको थियो। निधन र उनको पुस्ता त्यो गाउँमा वर्षौंदेखि बस्दै आएका थिए।
जति बेला अमरले निधनलाई भेटे, त्यति बेला भारत सरकारले यहाँको जमिन बेचिसकेको थियो। छिट्टै ठूला आलुमिनियम कम्पनीहरू खुल्नेवाला थिए र यहाँको गाउँ विस्थापित हुनेवाला थियो।
पहाडछेउको जंगलको खुला आकाशमुनि अमरले निधनलाई सोधे, 'निधन, देशलाई आलुमिनियम चाहिएको छ। किन दिन मान्दैनौ? राष्ट्रहितका अगाडि दुई-चार छरिएका गाउँ के नै हुन् र?'
निधनले कुनै भावबिना अमर कन्वरको आँखामा हेरे।
भुइँमा भएको चक्कु उठाए र भने, 'यो चक्कु देखिरहेका छौ नि? यसले म घाँस काट्न सक्छु। त्यो कामलाई तिमी काट्नु भन्छौ। अब तिमीले यही चक्कु लिएर मेरो गला काट्यौ भने, यसलाई तिमी के भन्छौ? तिमी फेरि यसलाई पनि काट्नु नै भन्छौं, क्रियापद जसरी। चक्कुले त यहाँ पनि काट्यो, चक्कुले त्यहाँ पनि काट्यो।'
यति बताइसकेपछि निधनले सोधे, 'काट्नुका यी दुई कर्मबीचको भिन्नता के हो, बताउन सक्छौ? तिमीले त्यो भिन्नता बताइसकेपछि म तिम्रो प्रश्नको उत्तर दिनेछु। अनि तिमीलाई देशको हित, हाम्रो हित र यो उपत्यकाको हितबीचको भिन्नता बुझाउनेछु।'
निधन र त्यस गाउँका बासिन्दाको मनोदसा समग्रमा उस्तै थियो। अमर कन्वरलाई निधनसँगको उक्त संवाद यति घत लाग्यो, उनले त्यसलाई पनि प्रदर्शनीमा पर्चाका रूपमा राखेका छन्।
यसलाई तपाईं पढ्न सक्नुहुन्छ, महसुस गर्न सक्नुहुन्छ र आफ्नो घरमा समेत लान सक्नुहुन्छ।
प्रदर्शनीमा प्रवेश गर्नेबित्तिकै तपाईंले अमर कन्वर निर्देशित फिल्म 'सिन अफ क्राइम' देख्नुहुन्छ। यो करिब ४५ मिनेट लामो छ। तर फिल्म हेर्दा नाममा भएझैं कुनै अपराधको दृश्य हेरेजस्तो लाग्दैन। बरू एउटा कवितात्मक अनि आँखालाई शीतल बनाउने दृश्य हेरेजस्तो हुन्छ। निर्देशकले त यसलाई 'पोयट्री एज इभिडेन्स' अर्थात् 'सबूतको रूपमा कविता' भनेर वर्णन गरेका छन्।
फिल्ममा उडिसाको जल, जंगल, जमिन, मानिस, जनावर लगायत दृश्यहरू हतार नगरी धैयपूर्वक कैद गरिएको छ। ती दृश्यहरूको अस्तित्व भने क्षणिक देखिन्छ। किनभने, त्यो ठाउँ भारत सरकारले बेचिसकेको छ र त्यहाँ औद्योगिक कम्पनीहरूले आफ्नो कार्य क्षेत्र विस्तार गर्नेवाला छन्।
प्रदर्शनीमा बायाँतर्फ एउटा सानो कोठा छ। कोठामा प्रोजेक्सनसहितका तीन ठूला किताब छन् – द काउन्टिङ सिस्टर्स एन्ड अदर स्टोरिज (२०११), द प्रेडिक्सन (१९९१–२०१२) र द कन्सटिच्युसन (२०१२)।
काउन्टिङ सिस्टर्स एन्ड अदर स्टोरिज अमरले वास्तविक घटनालाई आख्यान शैलीमा लेखेका छन्। यसमा ६ जना बहिनीहरूको कथा छ। केराको पातबाट बनाइएको कागजमा लेखिएको यो किताबको एकातर्फ भने 'सिन अफ क्राइम' फिल्म नै प्रोजेक्सनमार्फत देखाइएको छ।
अर्को किताब द प्रेडिक्सनमा आख्यान, तथ्य, कागजपत्र र फोटा छन्। यसलाई अमरले अपराधको सबूतका रूपमा प्रयोग गरेका छन्। यसले भारत छत्तीसगढका ट्रेड युनियनका नेता एवं वातावरण अभियन्ता शंकर गुहाको कथा समेटेको छ। गुहाको सन् १९९१ मा घरमा सुतिरहेका बेला हत्या भएको थियो।
त्यस्तै अर्को किताब द कन्सटिच्युसन हातले बनाएको कागजको हो। यसभित्र जुटका धागाजस्ता रेसाहरू छन् जुन रूखका जराजसरी फैलिएका छन्। यो किताबमा कुनै स्क्रिप्ट छैन भन्दा हुन्छ।
लेखक अमर कन्वरका अनुसार यो किताबले संविधानमा चुकेको कुरालाई संविधानभन्दा बाहिर रहेर हेर्ने प्रयास गरेको छ। लेखिएका कुरा मात्र सत्य होइन, त्यसभन्दा बाहिर अर्को सत्य छ भन्ने कुरा किताबले बताउने प्रयास गरेको छ।
यो प्रदर्शनीमा यी तीनै किताब अपराधको सबूतको रूपमा प्रस्तुत गरिएको छ। पुरानो अपराध अहिलेका नयाँ अपराधसँग एकाकार भएजस्ता लाग्छन्। उडिसाको घटना जति नै पुरानो भए पनि अहिलेको समयमा समसामायिक छ। किनभने, प्रकृति दोहन अनि औद्योगिक गतिविधिले गाउँ विनास गराउने क्रम अझै उस्तै छ।
यो कोठामा स-साना किताबहरू पनि छन् जहाँ फोटा र कथाहरू समेटिएको छ। कुनै किताब किसानको आत्महत्याबारे छ त कुनै समाचारसँग जोडिएको छ। ती स्मृति किताबका रूपमा आएका छन्।
अर्को कोठामा भने २७२ प्रजातिका धानका बिउ छन्।
बिउ भनेको ज्ञानको प्रणाली हो जुन किसान र किसानबीच स्थानान्तरण हुँदै अहिलेसम्म आइपुगेका हुन्। यी बिउ कुन आकारका छन्, कहाँ रोपिन्छन्, कसरी रोपिन्छन् र कसरी हुर्किन्छन् भन्नेसम्मको जानकारी भएको सानो किताब पनि बीचमा राखिएको छ।
'बिउले इतिहास, विविधता अनि विशेषज्ञता प्रतिनिधित्व गर्छ। बिउलाई प्रमाणका रूपमा हेर्यौं भने देखिन्छ, त्यो बिउ मात्र होइन- हराएको, मासिएको वा गुमाउँदै गरेको जमिन वा क्षेत्र पनि हो। त्यस हिसाबले बिउ गुमाउँदा एउटा वस्तु मात्र गुम्दैन, त्योसँग जोडिएको ज्ञानको प्रणाली अनि संस्कृति पनि गुम्छ,' अमर कन्वरले बिउबारे अर्थ्याउँदै रिइम्याजिनिङ म्युजियम्स इन नेपाल कार्यशालामा भने।
अमर र उनका साथीहरूले उडिसाका रैथाने धानका बिउहरू संकलन गर्दै उमारेका हुन्। त्यसका लागि उनीहरूले एक जना किसानसँग सहकार्य गरेका थिए जसले उनीहरूलाई रैथाने धानका बिउ संकलन अनि पुनर्जीवित गर्न मद्दत गरे। ती बिउ अन्य किसानलाई बाँड्दै, हुर्काउँदै अहिलेसम्म जोगाउन सकिएको हो।
'बिउ भनेको आत्मनिर्भरता र स्वतन्त्रताको प्राथमिक कुरा हो। जब बिउ हराउँछ, तपाईंको सार्वभौमसत्ता हराउँछ,' अर्का फिल्ममेकर सुधीर पटनायकले भने, 'अनि तपाईं एक–दुई प्रकारको धानको चामलमा खुम्चिनुहुन्छ। रैथाने बिउहरू हराउने क्रम हरित क्रान्तिपछि व्यापक भएको थियो। रैथाने बिउ हराउन थालेपछि हामीले संकलन गरेर प्रदर्शनी गर्दै त्यसको महत्त्व बुझाउन थालेका थियौं।'
बिउ संकलन गर्ने क्रममा उनीहरू विभिन्न गाउँ पुगेका थिए। त्यहाँका मानिसहरूलाई 'गाउँको जीवनी' लेख्ने कार्यशाला पनि सञ्चालन गरे। त्यही क्रममा उनीहरूले गाउँका नयाँ र पुरानो पुस्ताबीच राम्रो संवाद नभएको पनि पत्ता लगाए। कार्यशालाले गाउँलेहरूलाई आफ्नो परिवारको जेष्ठ सदस्यसँग नजिक पनि बनायो। आफ्नै गाउँबारे उनीहरूले अझ बढी जान्ने र बुझ्ने अवसर पाए।
दोस्रो तलामा पनि ठूलो पर्दामा अमर कन्वरको अर्को फिल्म 'अ लभ स्टोरी (२०१०)' प्रदर्शन भइरहेको छ। प्रेममा हुने विछोड जसरी बनाइएको यो छोटो फिल्मले आफ्नो भूमि गुम्दाको पीडा अनुभूत गराउँछ।
फिल्मसँगै फोटाहरू, साना किताब, निधनको पर्चा, अडिओ लगायत विभिन्न माध्यमबाट उडिसाको घटना बताइएको छ। यो प्रदर्शनीले एउटा घटनालाई कसरी विविध मल्टिमिडियामा देखाउन सकिन्छ भनेर देखाएको छ। कथा भन्ने विभिन्न माध्यम भए पनि यसको मूल कथा उडिसाबारे नै हो र त्यसैको सेरोफेरोमा घुमेको छ।
भारत, उडिसाको प्रदर्शनी किन हेर्नुपर्यो भन्ने पनि तपाईंलाई लाग्न सक्छ।
तर जब तपाईं जंगल र खेतीयोग्य जमिन मासेर बन्न लागेका संरचना, पूर्वाधार र आयोजनाहरू सम्झिनुहुन्छ, अनि शंकर गुहाको ठाउँमा नेपालका वातावरण अभियन्ता दिलिप महतो मारिएको घटना राखेर हेर्नुहुन्छ, तपाईंलाई यो प्रदर्शनी सान्दर्भिक लाग्नेछ।
यो प्रदर्शनीमा हेर्ने, सुन्ने र पढ्ने थुप्रै कुरा छन्। प्रायः प्रदर्शनीमा 'यहाँ नछुनुहोस्' लेखिएको सूचना हुन्छ। यहाँ भने हरेक कुरा छुन अनि महसुस गर्न सकिन्छ।
प्रदर्शनीमा यति धेरै मल्टिमिडियाका माध्यम छन्, त्यसले दर्शकलाई अलमलाउन भने सक्छ। त्यसकारण प्रदर्शनीबारे बताउन फोटोसर्कलका गाइडहरू पनि छन्। नबुझेका कुरा सोध्न सकिन्छ। कति कुरा यति 'एब्सट्रयाक्ट' र अस्पष्ट छन्, ती बुझ्न धेरै समय लाग्छ। एकपटकको भ्रमण काफी नहोला!
अनि लामा फिल्म र पढ्ने थुप्रै सामग्री भएकाले यो प्रदर्शनीमा आउँदा अलि धेरै समय छुट्ट्याउनुपर्ने हुन्छ।
'मानिसहरूले यो प्रदर्शनीको पूरा अर्थ नबुझ्नुहोला। तर उडिसामा के भइरहेको छ भने थाहा पाउनुहुन्छ र त्यसको सम्बन्ध यहाँ खोज्नुहुन्छ भन्ने आशा छ,' अमर कन्वरले भने।