गुड फ्राइडे सिनेमा
एसएस राजामौली भारतीय फिल्म निर्देशनमा अहिले अग्रस्थानमा पर्ने नाम हो।
बाहुबलीः द बिगनिङ, बाहुबलीः द कन्क्लुजन, आरआरआर — पछिल्लो समय निर्देशक एसएस राजामौलीलाई संसारभरका दर्शकमाझ चिनाउने फिल्म हुन्।
राजामौलीले आफ्नो निर्देशनको बीस वर्षे करिअरमा जम्मा १२ वटा फिल्म निर्देशन गरेका छन्। यी सबै सफल भए र दर्शकले रूचाएका छन्।
सुरूआती दिनमा दक्षिण भारतीय बजारमा मात्र सार्वजनिक भए पनि उनका सबैजसो फिल्म सफल भएका छन्।
अहिलेसम्म भारतीय फिल्मको इतिहासमै सबभन्दा बढी कमाउने बाहुबलीले नै उनलाई संसारका धेरै कुनासम्म चिनायो।
दक्षिण भारतमा भने उनलाई राम्रा निर्देशकका रूपमा चिनाएको 'मगधीरा' ले हो।
अनि पूरा भारतीय दर्शकमाझ उनलाई चिनाउने फिल्म हो 'इगा (मख्खी)'।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
राजामौलीले विभिन्न अन्तर्वार्ताहरूमा बताए अनुसार इगाको कथा धेरै पुरानो हो। नब्बे दशकको मध्यतिर उनका बुबा र बुबाका साथीले कुरा गरेको उनले सुनेका थिए।
उनीहरू एउटा झिँगाले मान्छेसँग कसरी बदला लिन सक्छ भन्नेबारे कुरा गर्दै थिए।
राजामौलीले त्यही कथा टिपेर इगा बनाएका हुन्।
हट्के कथा भएको इगा फेन्टासी एक्सन फिल्म हो। सन् २०१२ मा रिलिज भएको इगा त्यो बेला वर्षकै धेरै कमाउने तेलेगू फिल्ममध्ये एक बनेको थियो।
यसमा सामान्था रूथ प्रभु, खिचा सुदीप र नानीको मुख्य भूमिका छ। ऊ बेलै १२५ करोड भारू कमाउन सफल यो फिल्म सुपरहिटमा दर्ज भएको थियो।
दुई विधामा नेसनल फिल्म अवार्ड, पाँच विधामा साउथ फिल्म फेयर अवार्ड र ९ विधामा टोरन्टो आफ्टर डार्क फिल्म फेस्टिभलमा यसले अवार्ड जितेको छ।
हेर्नुहोस् युट्युबमाः