सफलता र असफलताको दूरी कति टाढा हुन्छ?
एक पटक असफल भएपछि अर्को सफलता प्राप्त गर्न कति मेहनत गर्नुपर्छ? अनुभवीहरू भन्छन्- भयंकर! तर जीवनमा कतिपय सफल र असफल परिणामको दूरी बिल्कुल नजिक हुन्छ।
यही संयोगले २०७५ को मध्य वैशाखका दुई दिन अस्मिताको मनमा ढुंगाका अक्षरझैँ कुँदिएका छन्। मेट्नै सक्दिनन्, बिर्सनै चाहन्नन्।
२०७५ वैशाख १८ गते काठमाडौंको तीनकुनेमा नेपाल आइडलको दोस्रो संस्करणका लागि अडिसन चलिरहेको थियो।
नेपाल आइडलमा प्रतिस्पर्धा गर्न एक वर्षदेखि नै तयारी गरिरहेकी उनी आमाको साथ लागेर अडिसनका लागि लाइनमा उभिइन्। भिड छिचोल्दै निर्णायकहरूका अघिल्तिर उभिएकी अस्मिता त्यस दिन प्रि-जज राउन्डबाटै अघि बढ्न सकिनन्।
‘मलाई अझ पनि ती मिति राम्ररी याद छ,’ तीनकुनेमा नेपाल आइडल-२ को अडिसन दिन गएको क्षण सम्झिँदै अस्मिताले भनिन्, ‘आमालाई लिएर अडिसन दिन गएको थिएँ। तर फिजिकल अडिसनसम्म पुग्न नपाई प्रिजज राउन्डबाटै आउट भएँ।’
वर्ष दिनदेखिको मेहनतका अघिल्तिर अस्मिताका लागि यो परिणाम अपेक्षित थिएन। निकै दुखी भइन् उनी। स्वभाविक थियो, छोरी दुखेको देखेर सँगै गएकी आमाको मन पनि खिन्न भयो।
रियालिटी शोमा अस्मिता छनौट नभएको यो पहिलो पटक भने थिएन। उनले झापाको दमकमा हुने स्थानीय रियालिटी शोमा पहिले पनि एक-दुई पटक अडिसन दिएकी थिइन्।
‘सानै उमेरमा केही नबुझी गरेको हुँदा मेहनत नपुगेको भएर सेलेक्ट भइन भन्ने लाग्यो,’ उनले भनिन्, ‘त्यतिबेला संगीतबारे खासै ज्ञान पनि थिएन।’ तर आइडलकै लागि भनेर एक वर्ष लामो साधना गर्दा पनि नछानिएपछि भने उनले क्षणभरका लागि सोचेकी थिइन्-सायद संगीत मेरा लागि हैन।
मनमनै योजना बनाउँदै थिइन्- हिँड्न खोजेको संगीतको बाटो अब मोड्नुपर्छ।
भोलिपल्ट वैशाख १९ गते अस्मिता भोकल क्लासबाट घर फर्किँदै थिइन्।
काठमाडौंमा त्यो दिन आइडलको दोस्रो दिनको अडिसन चलिरहेको थियो। अडिसन दिनेको लाइन देखेपछि उनी सम्हालिन सकिनन्। संगीत भनेपछि हुरूक्क हुने अस्मिताको मन नौनीझैँ पग्लिहाल्यो। सोचिन्- प्रयास गर्दैमा के जान्छ र!
फेरि लाइनमा मिसिइन्, उसैगरी जसरी हिजो लामबद्ध भएकी थिइन्।
त्यसदिन फेरि नसोचेको भयो। दुई वटै प्रि-जजिङ राउन्डमा छनौट भएर फिजिकल राउन्डमा अडिसन दिइन्। त्यहाँ पनि सफल भइन्। त्यसपछि त के चाहियो र! संगीतको आकाशका उडान भर्ने सपना फेरि देख्न थालिन्।
‘हिजो आउँदा सेलेक्ट भएको थिइनँ, तर आज भएँ। धन्यवाद!,’ उनले नेपाल आइडलमा भनेको कुरा सुनाउँछिन्, ‘त्यसपछि त सबै जना अचम्म पर्नुभयो कसरी हिजो सेलेक्ट भइनँ भनेर। यो कुरा नेपाल आइडलको यात्रा दौरान भर पनि चल्यो।’
अस्मिता नेपाल आइडलको फिनालेमा पुग्ने पहिलो महिला प्रतिस्पर्धी पनि बनिन्।
नेपाल आइडल सकिएपछि उनले थुप्रै गीतहरूमा आवाज दिएकी छिन्। गायक श्याम कार्कीले गाएको गीत फिमेल भर्जनमा गाइन्। जसले उनलाई अत्यधिक चर्चामा पुर्यायो। जुन उनको आवाजमा रेकर्ड भएको दोस्रो गीत थियो-
तिम्रो मायाले बाँधेर राख
तिम्रो सिरानी होस् मेरो काख
जान नदेऊ मलाई अब टाढा
सम्झना होस् हाम्रो अझैँ गाढा
तिम्रो मायाले बाँधेर राख।
त्यसपछि अस्मितालाई पछि फर्केर हेर्नुपरेको छैन, संगीतमा निरन्तर अघि बढिरहेकी छिन्। अहिले जुन अवस्थामा छिन्, त्यसमा नेपाल आइडलले प्रमुख भूमिका खेलेको उनी बताउँछिन्।
नेपाल आइडलमा दिएको प्रस्तुतिका कारण नै उनलाई गीत गाउन थुप्रै अफरहरू आए। मौकाहरूलाई समय अनुकूल प्रयोग गर्दै गइन्। अनि सफलताका पाइलाहरू चाल्दै गइन्, विस्तारै-विस्तारै।
झापा दमकमा जन्मिएर त्यहीँ हुर्किएकी २६ वर्षीया गायिका अस्मिता अधिकारीलाई सानैदेखि गीत संगीतमा रूचि थियो। परिवारमा कोही पनि गीतसंगीत क्षेत्रमा व्यावसायिक रूपमा संलग्न थिएनन्। यद्यपी घरमा भजनकीर्तन भने चलिरहन्थ्यो।
‘घरमा हजुर आमाले भजन कीर्तन गरिरहनुहुन्थ्यो,’ उनले भनिन्, ‘स्कुलमा हुने विभिन्न कार्यक्रमहरूमा पनि भाग लिइरहन्थे। त्यसैबाट संगीततर्फ झुकाव बढ्दै गयो।’
उनी १५ वर्ष अघि राजधानी काठमाडौं छिरिन्। काठमाडौं आउनुको उदेश्य थप अध्ययन अघि बढाउनु त थियो नै सांगीतिक यात्रालाई पनि फराकिलो पार्नुथियो।
तर त्यति बेला पनि काठमाडौंमा सांगीतिक इन्स्टिट्युसनहरू खासै खुलेका थिएनन्। उनी स्कुलमै भोकल क्लासहरू लिन्थिन् र स्कुलमा हुने अतिरिक्त सांगीतिक कार्यक्रममा पनि प्रतिष्पर्धा गर्थिन्।
कम बोल्ने स्वभावकी अस्मिता अधिकारीलाई संगीतले नै सामाजिक हुन सिकायो। पहिले घर परिवारका मानिसहरूलाई मात्र गीत गाएर सुनाउने अस्मिता पछि-पछि अरूतिर पनि खुल्दै गइन। दकस,अप्ठ्यारो र लाजको पर्दा उघ्रिँदै गयो।
स्कुलमा साथीसँगी र गुरूहरूले उनका गीत सुन्न थाले। विद्यालयमा हुने अभिभावक दिवस, गुड फ्राइडेजस्ता कार्यक्रमहरूमा भाग लिन थालिन्। उनको सांगीतिक प्रस्तुति देखेपछि साथीहरूले पनि उनलाई हौसाएका थिए।
जब उनी नर्सिङ पढ्दै थिइन्। त्यति बेला पहिलो पटक आइडल नेपालमा भित्रिएको थियो। साथी र गुरूहरूले आइडलमा सहभागी हुन निकै जोड बल गरेका थिए तर अस्मितालाई संकोच लाग्थ्यो। जसका लागि उनले एक वर्ष आइडल हेरेर तयारी गर्ने र दोस्रो सिजनमा सहभागी जनाउने सपना बोकेकी थिइन्।
‘दोस्रो सिजनमा जान तयारी गर्न थालेको थिएँ,’ उनी भन्छिन्, ‘दिउँसो नर्सिङ पढ्न जान्थेँ अनि अरू समय संगीतको साधना गर्थें।’ तर सपना चुम्ने पहिलो खुड्किलो मै उनलाई ठेस लाग्यो।
‘सायद अडिसनको पहिलो दिन मेरो लक रहेनछ, दोस्रो दिन रहेछ। त्यसैले सेलेक्ट भएँ,’ उनी भन्छिन्, ‘एक पटकको प्रयासमा असफल भयो भन्दैमा पछि हट्न नहुने रहेछ। आफूले आफैंलाई पनि दोस्रो मौका दिनुपर्ने रहेछ। त्यही भएको होला।’
अस्मिताले काले केटाले, बाबरी रंग, उता परेली झिम झिम भो, तिमी सँगै सँगै हिँड्ने, टाढा भए पनि, लज्जावती झार, ओत लाग्ने छाता, हाम्रो जोडी, लाइटरले बिडी सल्केको लगायत थुप्रै गीतहरूमा स्वर दिएकी छिन्। कतिपय गीतमा त आफैं फिचर पनि भएकी छिन्।
गायिका अस्मिताले अरूहरूसँग सहकार्य गरेता पनि गायक तथा संगीतकार महेश काफ्लेसँग सहकार्य गर्दा भने चर्चा आइरहेको हुन्छ। लज्जावती झारजस्तैमा सहकार्य गर्दा सबैले दुई जनाको जोडी रूचाएको अस्मिता बताउँछिन्।
'त्यस गीतमा सबैले हाम्रो सहकार्यको जोडी मन पराइदिनुभयो जसले गर्दा अन्य गीतहरूमा पनि हाम्रो धेरै सहकार्य भयो,' उनी भन्छिन्, 'हाम्रो यो जोडीलाई मन पराइदिनुभएको छ, धन्यवाद। अझ कतिपय गीतहरू आउनै बाँकी छ। तपाईंहरूको मायाको लागि धेरै धेरै धन्यवाद।'
अस्मिता पछिल्लो समय मेला महोत्सवमा सांगीतिक प्रस्तुति दिन व्यस्त छिन्। नर्सिङ पढे पनि तत्काल नर्सिङ पेसामा फर्किने योजना भने उनको छैन।
‘अहिलेसम्म गीत-संगीतले साथ दिइरहेको हुँदा यता नै समय व्यवस्थापन गर्न धौ-धौ परिरहेको छ,’ उनले भनिन्, ‘नर्सिङबारे त सोच्नै पाएको छैन। तर अहिले नभए पनि पछि नर्सिङमा फर्किने योजना छ।’
सबै तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी।