शुक्रबार गोदावरीमा भएको भ्वाइस अफ नेपाल-५ का विजेता विनोद राई बनेका छन्।
ब्लाइन्ड अडिसनमा कोच प्रमोद खरेललाई ब्लक गरेर कोच मिलन नेवारले आफ्नो टिममा ल्याएका विनोद शुक्रबार भएको फाइनलमा विजेता बनेका हुन्। योसँगै पाँचौं सिजनमा भ्वाइसकी महिला कोचले पहिलो पटक ट्रफी उचालेकी हुन्।
पाँच वर्षअघि अमेरिका गएका विनोदले त्यहीँबाट डिजिटल अडिसन दिएका थिए। त्यसलगत्तै उनी नेपाल फर्किए। अहिले भ्वाइसको ट्रफी जितेपछि एकदमै खुसी लागेको उनी बताउँछन्।
'अमेरिकामै बसेर डिजिटल अडिसन दिएको थिएँ। भ्वाइसको लागि सबै कुरा छोडेर यता आएको थिएँ,' भ्वाइसमा सहभागी जनाउँदाको पल सम्झँदै उनले भने, 'शुभचिन्तकले रूचाएर टाइटल जित्न सफल भएँ, एकदमै खुसी लागिरहेको छ।'
कोच राजेश पायल राईको टिममा रहेका मकरबहादुर योञ्जन, टिम प्रमोदका नोगेन लिम्बु र कोच उदय सोताङका कुमारप्रयास राई पनि फाइनलमा पुगेका थिए।
यीमध्ये पनि विनोद र मकरबहादुर अन्तिम प्रतिस्पर्धी बनेका थिए। कसले जित्ला भन्ने तनाव भएपछि विनोदले आफ्नो ध्यान अन्तै डुलाउन थालिसकेका थिए। त्यही बेला कार्यक्रम सञ्चालक सुशील नेपालले भने- द विनर इज विनोद राई।
'त्यहाँको माहौल देखेर पिर परेको हुँदा दिमाग अन्तैतिर घुमाइरहेको थिएँ,' टाइटल जित्नु अगाडिको क्षण साट्दै उनले भने, 'साइडबाट मकर दाइ र अर्का प्रतिस्पर्धी कुमार भाइले अँगालो मारेपछि मात्रै आफू विजयी बनेको थाहा पाएँ। मैले जितुँला भन्ने त लागेकै थिएन।'
विनोदका अनुसार यस जीतको पछाडि श्रीमती रेनुका राईको ठूलो हात छ। उनकी श्रीमती अमेरिकामा छिन्। जीतको क्षणमा उनलाई अमेरिकामा फोन गरेर ट्रफी देखाउन मन थियो। यस्तै घरमा रहेका आमाबुवालाई सम्बोधन गरेर ट्रफी उचाल्न मन थियो। तर माहौल नमिल्दा उनले दुबै गर्न पाएनन्।
यी सपना पूरा हुन नसके पनि जसो ट्रफी लिएर स्टेजबाट उनी झरे सुरूमै अमेरिकामा भएकी श्रीमतीलाई भिडिओ कल गरे।
'भिडिओ कलमा मैले श्रीमतीलाई- फाइनल्ली वी गट दिस् भनेर भनेँ,' उनले श्रीमतीले दिएको प्रतिक्रिया उद्धृत गर्दै भने, 'तिमीले यो डिजर्भ गर्छौं, एकदमै गर्व लागिरहेको छ भनेर प्रशंसा गरेकी थिइन्।'
श्रीमतीको अपार साथ सहयोग र संगीतमा लाग्नुपर्छ भनेर झकझक्याएको कारण टाइटल पाएको उनको भनाइ छ।
इलाममा जन्मिएका विनोद उच्च शिक्षाका लागि घरमा झगडा गरेर पथरी गए। त्यहाँ संगीत क्षेत्रमै काम गरिरहेका गीत लेखक तथा संगीतकार देव गुरूङ र गायक अमिर राई सँगको हिँडडुलपछि उनको गीत संगीतप्रति रूचि बढेको थियो। उनीहरूले विभिन्न ठाउँमा हुने सांगीतिक कार्यक्रममा विनोदलाई लग्थे। सँगसँगै हिँडडुल गर्न थालेपछि उनले पनि सिक्न थाले।
सोही बेला अडिसन लिँदै 'सिंगिङ आइकन' दमक आएको थियो। उनलाई आफ्ना गुरूहरूले त्यस शोमा भाग लिन प्रोत्साहन गरे।
'गुरूले शोमा अडिसन देऊ भनिरहनुभएको थियो,' उनले भने, 'तर मलाई म अझ रियालिटी शोमा जान सक्षम भएको छैन भन्ने लागिरहेको थियो। गुरूले एकदमै झकझक्याएपछि मैले अडिसन दिएँ। छनोट पनि भएँ।'
काठमाडौंमा कोही पनि नभएका विनोद सपना पछ्याउँदै शोकै लागि काठमाडौं आए। टप-६ सम्म पुगे पनि बीचमै शो बन्द भयो।
'शो बन्द भएपछि हामी बिचल्ली भयौं। के गर्ने, कसो गर्ने भयो,' उनले भने, 'के गर्ने दोधारमा पुग्यौं। एक/ दुई हप्ता काठमाडौंमै बस्यौं। त्यसपछि शो सुरू हुँदैन भन्ने भएपछि पथरी फर्किएँ।'
गायक बन्ने सपना बोकेर काठमाडौं आएका उनी खाली हात घर फर्किनुपर्दा तनावमा थिए। उक्त शो गरेपछि उनले निर्णय लिए- अब गीत संगीत सिक्दै यही क्षेत्रमा काम गर्छु, तर रियालिटी शोमा सहभागी हुन्न।
आम्दानी नै नभएपछि उनले विद्यालयमा विद्यार्थीहरूलाई संगीत सिकाए। त्यसैबीच अवसरको रूपमा अर्को रियालिटी शो नेपाली तारा-३ अडिसन लिन धरान आइपुगेको थियो।
उनले त्यसबारे अमिर राईबाट थाहा पाए। सिंगिङ आइकनकै हालत होला भनेर विनोदले यसमा खासै रूची देखाएका थिएनन्। तर अमिरले यसमा जानुपर्ने भन्दै जोड बल गरिरहे। रियालिटी शोमा नजाने निर्णयबाट विनोद पछि हट्ने मुडमा थिएनन्। तर दाइ अमिरको अगाडि उनको केही लागेन, उनी अडिसन दिन धरान पुगे।
धरान जान दाइले आफ्नै स्कुटरमा पूरा ट्यांकी तेल भरेर सबै चाँजोपाँजो मिलाइ पठाएको विनोद बताउँछन्।
'बाइक कुदाउन आएपनि लाइसेन्स थिएन,' उनले भने, 'तर पनि दाइले पास बनाएर, स्कुटीसहित एक हजार खाजा खर्च भनेर पठाउनुभएको थियो।'
धरानमा उनले नेपाली ताराको अडिसन पार गरे। रियालिटी शोकै लागि उनी दोस्रो पटक काठमाडौं आए। काठमाडौं आएर उनले अडिसन दिए। नेपाली तारामा उनी टप-७ सम्म पुगेर आउट भए। त्यसपछि सांगीतिक यात्रा अगाडि बढाउने भनेर काठमाडौंमै बस्न थाले। त्यसको एक वर्षपछि उनले आफ्नो पहिलो सांगीतिक एल्बम 'पारा' निकाले।
एल्बम नचले पनि उनले हार मानेनन्। उनले गायनलाई निरन्तरता दिने अडान लिए।
'अहिले सम्झिँदा उक्त एल्बम निकाल्न हतार गरेँ कि जस्तो लाग्छ,' उनले भने, 'सायद अपरिपक्व हुँदै सो एल्बम निकालेको हुँदा त्यति धेरै चर्चा नपाएको होला। तर पनि संगीत क्षेत्रमा निरन्तर काम गरिरहेँ।'
उनले एकल गायनमा ध्यान दिन थाले। उनले 'भिज्ला कतै परेली', 'म तिम्रो मायामा', 'सेवारो ठूली', 'यहाँ गाउँ' लगायत गीत निकाले। तर यी गीत पनि चलेनन्।
गीत खासै नचलेपछि उनले अमेरिका जाने निर्णय लिए। त्यहाँ उनले पाँच वर्ष बिताए। तर संगीतबाट उनी टाढा हुन सकेनन्। उनलाई आफू नेपालमा भएको भए धेरै प्रगति गरिसक्थे भन्ने सधैं भान हुन्थ्यो। जुन कुरा उनकी श्रीमतीले नियालिरहेकी थिइन्।
सोही क्रममा एक दिन विनोदले भ्वाइस अफ नेपाल-५ को डिजिटल अडिसन खुलेको थाहा पाए। यो कुरा श्रीमतीलाई सुनाए। पहिलेदेखि नै गीत संगीत क्षेत्रप्रति देखाएको मोह बुझेकी उनले श्रीमानलाई अडिसन दिन भनिन्। आफ्नो अधुरो सपना पूरा गर्न भनिन्।
'मलाई अमेरिका बसाइमै गीत संगीतबाट झन् टाढा भइरहेको छु कि भन्ने लाग्थ्यो,' उनले भने, 'मलाई पनि संगीत क्षेत्रमै फर्किने यो एक माध्यम पनि बन्यो। त्यसमाथि श्रीमतीले गीत संगीतमा सधैं लाग्न हौसला दिएपछि काठमाडौं फर्किएँ। अहिले टाइटल नै जितेँ।'
अब आउने दिनहरूमा गीत संगीतमै योगदान गर्ने उनी बताउँछन्।
'मेरो आधा परिवार यता र उता छन्,' उनले भने, 'त्यही भएर सधैं यतै बस्न त सक्दिनँ। तर जता भए पनि गीत-संगीत क्षेत्रमा काम गरी नै रहने छु।'
हेर्नुहोस् भिडिओ कुराकानीः