बाह्र वर्षअघि 'आरम्भ' नामको गीति एल्बम बजारमा आयो। सुर्खेतका कलाकारहरूको समूहले तयार पारेको उक्त एल्बममा पाँचवटा आधुनिक र एउटा झ्याउरे गीत समावेश थियो।
एल्बमले सिंगो रूपमा खासै चर्चा पाएन। पाँचवटा गीतले सामान्य प्रतिक्रिया पाए पनि एउटा झ्याउरे गीतले त्यो बेला बजारमा तहल्का पिट्यो।
गीतको बोल थियो — हातमा बाला सोल्टिना...!
यो झ्याउरे गीतको रचना घनश्याम खड्काले गरेका थिए। लय नृत्य निर्देशक कुलमान नेपालीको थियो। गायक भने कुलमानकै छोरा शिव संगीत थिए। एल्बममा भएका अरू तीन आधुनिक गीतमा पनि उनकै स्वर थियो।
शिव संगीतले बजारमा ल्याउने गरी पहिलोपटक रेकर्ड गराएका गीत तिनै हुन्।
'त्यति बेला त्यति धेरै खर्च गरेर निकालेको एल्बमको एउटा मात्र झ्याउरे गीतले बजार खायो,' शिवले २०६८ सालमा गीत सार्वजनिक हुँदाको क्षण सम्झे, 'गीत सार्वजनिक भएपछि बिहे, भोज, जुनै कार्यक्रममा त्यही झ्याउरे मात्र बजेको सुनिन्थ्यो। साथी, शुभचिन्तकबाट पनि राम्रो प्रतिक्रिया आयो। त्यस बेला मेरो खुसीले आकाश छोएको थियो।'
पहिलो दिनमै गीतले चर्चा पाएपछि शिवलाई निरन्तर झ्याउरे गीत गाउने प्रस्ताव आउन थाले। निरन्तर गीत रेकर्ड गर्नुपर्ने भयो। अन्ततः उनले व्यावसायिक रूपमै गीतसंगीततर्फ आफ्नो बाटो मोडे।
शिवले ओभरसियर पढेका हुन्। त्यति बेला सुर्खेतकै एउटा गैरसरकारी संस्थामा टेक्निकल सुपरभाइजर पदमा जागिर खान्थे। एउटा कलेजमा प्राविधिक विषय पढाइरहेका पनि थिए।
उनी जागिरै छाडेर संगीतमा मोडिए।
'हाम्रोतिर प्राविधिक विषय भनेको विशेषगरी जागिर खानकै लागि पढ्ने हो। मैले ओभरसियर पढे पनि घरबाट जागिर गर्नुपर्छ भनेर जबर्जस्ती भएन,' शिवले भने, 'बुबा जागिरसँगै कलाकारितामा भएकाले मलाई पनि त्यो बाटो समाउने अवसर मिल्यो।'
बाधा-अड्चनरहित नभए पनि त्यो यात्राले उनलाई सफलतातिरै डोर्यायो।
आज सुर्खेती झ्याउरे भन्नेबित्तिकै चर्चामा आउने गायकहरूको नाममा शिव संगीत पनि पर्छ।
गीतसंगीतमा राम्रो गर्न गहन रूपमा लाग्नुपर्ने रहेछ भन्ने थाहा पाएपछि जागिर छाडेर यो पेसालाई निरन्तरता दिन थालेको उनी बताउँछन्।
'सुरूमा पढ्दै गरौं, आफूसँग भएको गला कहीँ जाँदैन भन्ने लाग्थ्यो,' उनले भने, 'पछि गीतसंगीत भनेको डुबेर लाग्नुपर्ने कुरा रहेछ भन्ने महसुस भयो। पहिला खासै भविष्य देखिन्थेन। अहिले त धेरै प्लेटफर्म भएकाले भविष्य पनि छ। त्यसैले यसमै निरन्तरता दिएको छु।'
उनी २०७१ सालदेखि काठमाडौंलाई कर्मथलो बनाएर बस्न थाले। काठमाडौंमा रेकर्ड गरेको अर्को झ्याउरे गीत 'फूल फुल्यो बामरी' पनि हिट भयो। अघिल्लोपल्ट जस्तै प्रशंसा कमाए। आधुनिक गीत पनि गाउँथे, तर झ्याउरेमा उनले मारेको फड्को लोभलाग्दो थियो। त्यसैले अधिकांशले उनको स्वरमा झ्याउरै गीत नै खोजे, रूचाए।
उनले अहिलेसम्म एक सय ५० वटाभन्दा बढी गीत रेकर्ड गराइसकेका छन्। ७० प्रतिशत झ्याउरे हुन्। यीमध्ये कतिपय बजारमा आएनन्। त्यस्तै अहिलेसम्म २५ वटा गीतमा उनी आफैंले संगीत भरेका छन्।
शिवले गाएका 'हातमा बाला सोल्टिना' र 'फूल फूल्यो बामरी' बाहेक 'घर काँ हो नानीको', 'पुनर्जन्म', 'आँखा जुध्यो', 'श्यामु', 'नानीमैयाँ' जस्ता झ्याउरे गीत अहिले पनि चर्चित छन्।
उनलाई यो क्षेत्रमा आउनुको प्रेरणा परिवारबाट मिलेको हो। सानै उमेरदेखि नै गाउँथे। २०५५ सालमा रेडियो नेपालले बालगीत प्रतियोगिता आयोजना गरेको थियो। सिंहदरबारमा भएको कार्यक्रममा नेपालभरिबाट पाँच सयवटा गीत सहभागी थिए। त्यसमध्ये एक सय ७४ गीत प्रतिस्पर्धाका लागि छानिए। त्यस बेला जम्मा ९ वर्षका शिवले नेतृत्व गरेको समूहले उक्त प्रतियोगितामा तृतीय स्थान हासिल गर्यो।
'म स्टेजमा चढेर गीत गाएको पहिलो क्षण त्यही नै हो,' उनले भने।
त्यसपछि ०६१ सालमा भक्तपुरमा आयोजित विद्यालय स्तरीय राष्ट्रिय लोकगीत प्रतियोगितामा शिव प्रथम भए। यसपछिका लगातार तीन वर्ष, २०६४ सालसम्म उनी त्यो प्रतियोगितामा अटल भएर प्रथम स्थानमा बसे।
यसले उनको हौसला बढ्यो। गाउँघरमा गायक पहिचान बन्यो।
उनको समूह लोकगीत प्रतियोगिताहरूमा पनि सहभागी भयो। त्यसमा उनीहरू झ्याउरे गाउँथे। मध्यपश्चिमका विशेषता झल्किने गरी गाएकाले आफूहरू प्रथम भएको उनी बताउँछन्।
'मेरो बुबा राष्ट्रियस्तरको नृत्य निर्देशक हुनुहुन्छ। उहाँ र मेरो विधा फरक हो। तर पहिल्यैदेखि बुबाले घरमा हार्मोनियम बजाउने, गाउने पनि गर्नुहुन्थ्यो,' उनले भने, 'त्यसले मलाई गायनतर्फ प्रेरित गर्यो।'
संगीत क्षेत्रमा काम गर्ने सुर्खेतको वागीना समूहमा पनि उनी आबद्ध भए। बुबा वागीनाको अध्यक्ष हुँदा शिव त्यसमा आबद्ध भएर सिक्ने र सिकाउने काम गर्थे। वागीनाकै कोषाध्यक्षसम्म पुगेका उनी पछि काठमाडौं गएपछि जिम्मेवारीमुक्त भए।
सुर्खेती झ्याउरे गीतमा महत्त्वपूर्ण योगदान दिएका शिवले प्रतियोगितामा अवार्डहरू पाइरहन्थे। पछिल्लो समय मनोनयन गरेर दिइने तीनवटा महत्त्वपूर्ण अवार्ड पाएका छन् — एपिक नेसनल अवार्ड २०१९, स्टार अवार्ड २०२० र म्युजिक खबर, म्युजिक अवार्ड २०२३।
स्टार अवार्ड उनले कतारमा पाएका हुन्।
अन्य देशमा कलाकारले देशप्रति गरेको योगदान र त्यसको मूल्यांकन राम्रो भएको उनले बुझेका छन्। नेपालमा पनि यो वातावरण सिर्जना भइरहेको उनी बताउँछन्।
पछिल्लो समय लोकगीतलाई आधुनिकतामा लैजान खोजेर मौलिकता बिगारेकोप्रति भने शिव चिन्तित सुनिन्छन्।
'लोकगीतको मर्म, गायकी, संगीत कसरी गर्ने भन्ने कुरा पछिल्लो पिँढीले बिर्सेको जस्तो लाग्छ। मौलिक लोकगीतहरूलाई अहिलेको युवा पुस्ताले संरक्षण गर्नुपर्छ,' उनले भने, 'संगीतको जरा भनेकै लोकगीत हो।'