तपाईं कल्पना गरेको वा सुनेको कथालाई चित्रमार्फत भन्नुहुन्छ भने त्यो विधालाई अंग्रेजीमा 'इलस्ट्रेसन' भनिन्छ।
काठमाडौंकी कृषा ताम्राकारले केही समयदेखि यही विधालाई कला अभिव्यक्ति माध्यमका रूपमा अभ्यास गर्दै आएकी छन्। हालसम्म विभिन्न किताब र 'प्रोजेक्ट' हरूमा काम गरी सकिन्। उनका केही किताब र इ-बुक प्रकाशन भएका छन्। हालै उनीसहित ६ कलाकारको काम भएको किताब 'हार्टस् अन आवर स्लिभ्स' प्रकाशित भएको छ।
त्यति हुँदाहुँदै कृषालाई आफूले लेखेको पहिलो इलस्ट्रेसन किताब 'आई विश आई कुड फ्लाई' अझै प्रकाशित नहुँदा सुर्ता लाग्छ। हँसाउने खालको काल्पनिक कविता समेटिएको उक्त किताबबारे चार वर्षअघि नै प्रकाशकले सम्झौता गरेका थिए।
यतिका समयसम्म प्रकाशित नहुनुको कारणबारे कृषा भन्छिन्, 'प्रकाशकले यस्तो किताब प्राथमिकतामा राख्दैनन्। इलस्ट्रेसनको बजार छैन, त्यति बिक्री हुँदैन भनेर पन्छिन खोज्छन्। मेरो किताब पनि त्यस्तै भयो।'
'हार्टस् अन आवर स्लिभ्स' को पालामा पनि यस्तै भएको थियो। प्रकाशकले किताब प्रकाशन गर्ने वाचा गरे। कृषासहित ६ जना कलाकार ढुक्क भए।
अन्तिम समयतिर प्रकाशकले बजार नभएको बहाना बनाउँदै पन्छिए।
यसपछि उनीहरू आफैंले आफ्नो किताब प्रकाशन गरे। जम्माजम्मी ५१ प्रति मात्र छापिएको किताब सबै बिक्री भइसक्यो। उनीहरू अर्को प्रति छाप्ने तयारीमा छन्।
'हाम्रो चाहना धेरैले हाम्रो किताब किन्नुपर्छ भन्ने होइन। कम नै बिकोस् तर कम्तीमा हाम्रो कामको उचित मूल्यांकन होओस् र सम्मान गरियोस्,' कृषाले भनिन्।
कृषाले काठमाडौं विश्वविद्यालयबाट ललितकलामा स्नातक गरेकी छन्। अन्तिम सेमेस्टरमा ग्राफिक डिजाइन अन्तर्गतको इलस्ट्रेसन पढ्दा उनलाई आफू अभिव्यक्त हुने माध्यम फेला पारेजस्तै अनुभूति भएको थियो। आफ्नो समाज र वरिपरिको वातावरण बुझ्न मद्दत पुगेजस्तो महसुस भयो। त्यसैले स्नातकमा कलाका विविध माध्यमबारे पढे पनि इलस्ट्रेसनमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता खोज्न थालिन्।
कृषाले यो पनि थाहा पाइन्, उनलाई संस्कृति र समसामायिक विषयमा काम गर्न मनपर्ने रहेछ। त्यही भएर उनले 'यःमरि' नामक किताब निकालेकी छन्। कीर्तिपुर नगरपालिकाले निकालेको कथा संग्रह, 'बाखं न्यने वा' समूहले निकालेको बालसंग्रह 'न्यकू बाजा र गुंला', डोल्पाको हराएको मूर्तिबारे बालसंग्रह 'पेमा एन्ड द स्टोलन स्ट्याचु फ्रम डोल्पा' मा काम गरेकी छन्।
कृषाझैं इलस्ट्रेसनमा होमिएकी नीति श्रेष्ठलाई आफ्नो बालापन र भावनासँग जोडिएका काम गर्न मनपर्छ। 'हार्टस् अन आवर स्लिभ्स' किताबमा पनि उनले आफ्नो भावनात्मक कठिनाइलाई उतारेकी छन्। कृषा र नीति स्नातकमा सँगै पढेका साथी हुन्।
यी दुई साथी मिलेर 'आई फर इलुस्ट्रेटर्स' चलाइरहेका छन्। यो 'हार्टस् अन आवर स्लिभ्स' किताब तयारीको प्रारम्भिक अवस्थामै खुलेको हो।
'आई फर इलुस्ट्रेटर्स' इलस्ट्रेसन विधामा काम गरिरहेका कलाकारलाई सिक्ने र व्यावसायिक बन्न सहायता दिने ठाउँ हो। यो ब्रिटिस काउन्सिलले सञ्चालन गर्दै आएको 'क्रिएटिङ हिरोइन्स' नामक कार्यशालाबाट सुरू भएको थियो।
कार्यशालामा भाग लिएपछि उनीहरूले ब्रिटिस काउन्सिलले दिने अनुदानमा निवेदन भरे र पाए पनि। त्यही अनुदान सदुपयोग गर्न उनीहरूले इलस्ट्रेसनमा काम गर्ने समूह बनाए र नाम दिए 'आई फर इलुस्ट्रेटर्स'।
'हामी दुई जना आफ्नो काम त गरिरहेका हुन्थ्यौं। तर एउटा समूह भइदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। समूह भएपछि एकअर्काबाट सिक्ने दायरा फराकिलो हुन्थ्यो। त्यसैले हामीले अनुदान सदुपयोग गर्दै एउटा समुदाय बनायौं,' नीतिले भनिन्।
उनीहरूको समूहका आठ जना प्रत्येकले ६ महिना लगाएर आफ्नो व्यक्तिगत कथामा काम गरेका छन्। दुई जनाले भने किताब छाप्न चासो देखाएनन्। किताब नछापे पनि सुकी नामकी एक कलाकारले किताबको नाम सुझाएकी हुन्।
ब्रिटिस काउन्सिलद्वारा सञ्चालित 'क्रिएटिङ हिरोइन्स' मा महिलाका मुद्दामा कला बनाइन्छ। कृषा र नीतिले कलालाई यतिमै सीमित गर्न चाहेनन्। काम गर्ने कलाकारहरू भने महिला नै छाने।
उनीहरूले आफ्ना बालापनका किस्सादेखि कोरोना समयसम्म चित्रण गरेका छन्। आफ्नो जीवनसँग जोडिएका प्रेम, साहस, कमजोरी र आशालाई चित्रकथामा उतारेका छन्। तिनै कथा 'हार्टस् अन आवर स्लिभ्स' मा पढ्न र हेर्न पाइन्छ।
आफैं किताब प्रकाशन गर्नुको फाइदा पनि रहेको कृषा र नीति बताउँछन्।
'नेपाली प्रकाशकको छपाइ गुणस्तरीय छैन। त्यसले गर्दा काम र मेहनत त खेर जान्छ नै, हामीले भन्न खोजेको कथा पनि राम्रो देखिँदैन,' नीतिले भनिन्, 'छपाइ नै नराम्रो भएपछि कलाकारले कस्तो झुर काम गर्ने रहेछ भन्ने प्रभाव पर्छ। तर प्रकाशकले त्यसरी सोच्दै सोच्दैनन्।'
कृषाले पनि नीतिको कुरामा थप्दै भनिन्, 'गुणस्तर राम्रो भएको मेरो एउटा पनि किताब छैन। त्यसैले मेरो किताब हो भनेर देखाउन पनि मन लाग्दैन।'
'हार्टस् अन आवर स्लिभ्स' मा भने उनीहरूले सम्झौता गरेनन्। सकेसम्म राम्रो छापेको उनीहरू बताउँछन्।
कृषा र नीतिका अनुसार नेपालमा इलस्ट्रेसन कलाकारका लागि उचित महत्त्व र सम्मान छैन। यति हुँदाहुँदै किन यही विधामा काम गरिरहेका छन्?
'संघर्ष होला तर यसमा जुन आत्मसन्तुष्टि भेटिन्छ, त्यो अरू कामले दिँदैन। फेरि अरू काममा पनि त अर्को खालको संघर्ष हुन्छ नि,' कृषाले भनिन्।
नीति पनि यो कुरामा सहमति जनाउँदै भन्छिन्, 'म चित्रको किताब लेख्ने कलाकार हुँ भन्ने स्टेजमा पुग्न पाए मात्र पनि राम्रो हुन्थ्यो। त्यो स्टेजमा अहिलेसम्म हाम्रो समाज पुगिसकेको छैन।'
'हार्टस् अन आवर स्लिभ्स' किताब स्वयम्भूस्थित 'आर्टुडियो' मा विमोचन भएको थियो। कलाकारहरूले किताबमा गरेका इलस्ट्रेसन कामका केही अंशको प्रदर्शनी पनि गरियो।
आर्टुडियोका सञ्चालक एवं कलाकार कैलाश के. श्रेष्ठका अनुसार कलाकारहरूले कलामा रङ, संयोजन, आकार लगायत स–साना कुरा ख्याल गरेका हुन्छन्। त्यसलाई प्रकाशकले महत्त्व नदिनु दुःखको कुरा भएको उनले बताए।
यो किताबले प्रकाशकलाई झक्झकाएको र सकारात्मक बनाएको बताउँदै उनले भने, 'यत्तिसम्मको किताब निकाल्न सकिने रहेछ भन्ने प्रकाशकहरूलाई भएको छ। कलाकारहरूले पनि आफैंलाई चुनौती दिएका थिए।'
'हार्टस् अन आवर स्लिभ्स' लाई कमिक कलेक्सन अन्तर्गतको पहिलो भागका रूपमा प्रकाशन गरिएको हो। कमिक कलेक्सनअन्तर्गत थप किताब प्रकाशन गर्ने 'आई फर इलुस्ट्रेटर्स' को योजना छ।
त्यससँगै इलस्ट्रेसनका कार्यशाला र कलाकारलाई प्रोत्साहन गर्ने काम त छँदैछ!
तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी