दक्षिण भारतीय अभिनेता महेश बाबु हिन्दी फिल्ममा डेब्यू गर्दैछन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले 'बाहुबली' का निर्देशक एसएस राजामौलीको आगामी फिल्मबाट हिन्दी भाषामा डेब्यू गर्न लागेका हुन्।
प्यान इन्डिया रिलिज हुने यो फिल्म अहिले स्क्रिप्ट तयार भइरहेको छ। फिल्ममा महेश बाबु अभिनेत्री आलिया भट्टसँग देखिने चर्चा छ।
केही दिनअघि दक्षिण भारतीय फिल्म सेन्सर बोर्डका सदस्यले आफ्नो ट्विटर मार्फत यस प्रोजेक्टलाई ध्यानमा राखेर महेश बाबुको आगामी फिल्म 'सरकारू वारी पाटा' हिन्दी भाषामा प्रदर्शन नगर्ने बताएका थिए।
यो फिल्म यस वर्षको अन्तिमबाट छायांकनमा जाने बताइएको छ।
केही समयअघि महेश बाबुले 'बलिउडले मलाई धान्न सक्दैन' भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति दिएपछि उनी लामो समयसम्म विवादित भए।
दक्षिण भारतीय फिल्मी दुनियाँका चर्चित अभिनेता भए पनि उनी हिन्दी भाषी दर्शकमाझ परिचित छन्।
४७ वर्षे यी अभिनेताको एक्टिङ करिअर सानैमा सुरू भएको थियो। उनी तेलुगूका चिरपरिचित अभिनेता कृष्णाका छोरा हुन्। उनी 'नीडा' बाट बालकलाकारका रूपमा फिल्मी दुनियाँमा प्रवेश गरेका थिए। आठ वटा फिल्ममा बालकलाकारकै रूपमा अभिनय गरेका उनले 'राजाकुमारुडू' बाट जीवनकै पहिलो अवार्ड पनि जिते।
महेश बाबुले सन् २००३ को फिल्म 'ओक्काडू' मा कबड्डी खेलाडीको भूमिका निर्वाह गरेका थिए। यसलाई तेलुगूको सबभन्दा हिट फिल्ममध्ये मानिन्छ।
यसको दुई वर्षपछि 'अथाडु' ले पनि कमाइको सबै रेकर्ड तोड्यो। यसपछि उनले लगातार हिट फिल्म दिइराखे। 'मुरारी, पोकिरी, ननेक्कोडाइन, सरिमंथुडू, व्यापारी, सीथम्मा वकितलो सरिमल्ले चेट्टू’ जस्ता फिल्मपछि महेश बाबुले अन्तर्राष्ट्रिय चर्चा पाए। साथै फिल्म फेयरको उत्कृष्ट अभिनेतासहित थुप्रै अवार्ड हात पारे।
पछिल्ला २० वर्षमा ४० भन्दा धेरै फिल्म खेल्ने महेश बाबुको आफ्नै प्रोडक्सन हाउस पनि छ। महेश बाबुले 'सीरीमंथुडू, ब्रम्होत्सवम, स्पाइडर, भरत अने नेनु, महर्षि र सरिलेरू निकेवारू' जस्ता सुपरहिट फिल्म दिएका छन्।