पछिल्लो समय दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेका छन्। एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेका छन्।
बाहुबली, केजीफ, पुष्पादेखि आरआरआरसम्मका दक्षिण भारतीय फिल्मले बक्स अफिसमा एक पछि अर्को उत्कृष्ट कमाई गर्दै आएका छन्।
रामचरण र जुनियर एनटीआर अभिनित ‘आरआरआर’ले अहिले विश्व बजारमै तहल्का मच्चाइरहेको छ। यस्तो अवस्थामा बलिउड स्टारहरुलाई समेत यसले छक्क पार्नु स्वभाविक हो। तर कुनै पनि बलिउड फिल्मले दक्षिण भारतीय बजारमा प्रभाव पार्न सकेको छैन।
यसैबीच बलिउड सुपरस्टार सलमान खानले एसएस राजामौली निर्देशित फिल्मलाई बधाई दिंदै तेलुगू फिल्मको सफलतालाई लिएर प्रश्न गरेका छन्। उनले आफ्नै शैलीमा तेलुगू फिल्मले भारतीय बक्स अफिसमा गरिरहेको सफल व्यापारलाई लिएर कमेन्ट गरेका छन् । उनले भनेका छन्, ‘हाम्रा फिल्म उनीहरुको राज्यमा चल्दैनन्। जबकि, उनीहरुको फिल्म पूरा देशमा सफल भएको छ।’
दक्षिण भारतमा बन्ने फिल्मले हिरोइज्ममाथि नाटकजस्तो क्राफ्ट बनाउने भन्दै सलमानले घुमाउरो ढंगले साउथका फिल्महरु यथार्थवादी बन्न नसकेको आरोपसमेत लगाए। ‘उनीहरु लाइफ फिल्म बनाउँछन् । तर हाम्रा फिल्म रियालिस्टिक बन्नुपर्ने ती राज्यका दर्शक हामीलाई भन्छन्,’ सलमानले टिप्पणी गरेका छन् ।
उनले दक्षिण भारतीय फिल्मको ‘वीरता’ नै दर्शकलाई थिएटरहरूमा लैजाने प्रमुख आधार भएको बताएका छन्। उनले यस्तो कुरा बलिउडमा कमि रहेको बताएका छन्।
'उनीहरू (दक्षिण फिल्म उद्योग) सधैं वीरतामा विश्वास गर्छन्, त्यसैले हामीले पनि गरेका छौं। थिएटरबाट बाहिर निस्कँदा वीरता चाहिन्छ। यहाँ हामीले १-२ वटाबाहेक हिरोइजम फिल्म बनाउँदैनौं। हामीले फेरि लार्जर द लाइफ हिरोइजम् फिल्मबाट सुरू गर्नुपर्छ’, उनले भने।
‘वान्टेड’ र ‘दबंग’ फ्रेन्चाइजीजस्ता फिल्ममार्फत बलिउडमा उचाई प्राप्त गरेका उनले उक्त प्रतिक्रियासमेत दिए।
मिडियासँगको कुराकानीमा सलमान खानले भने,‘अहिले मानिसहरू शान्त भएका छन् र यसलाई क्लिच ठान्छन्। वीरतासँग भावनात्मक सम्बन्ध हुनु महत्त्वपूर्ण मानिएको छ । यस ढाँचाका फिल्म दिने काम सलिम खान र जावेद अख्तरबाट सुरु भएको थियो । त्यसपछि भने उक्त ट्रेन्डले अर्कै मोड लियो ।
सलमानले भविष्यमा साउथ इण्डियन निर्माताले बलिउडका फिल्मको रिमेक बनाउने आशा समेत व्यक्त गरे।