भोलि शुक्रबारदेखि बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ को प्रदर्शनलाई ध्यानमा राख्दै सिनेमाघरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
‘बाहुबली’ निर्देशक एसएस राजमौलीले निर्देशन गरेको फिल्म भोलि शुक्रबारबाट रिलिज हुँदैछ।
दर्शकको भीड अराजक हुन सक्ने आकलन गर्दै पर्दा जोगाउन काँडेतार लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
आन्ध्र प्रदेशको विजयबाडास्थित अन्नपूर्ण थिएटरको पर्दाअगाडि प्लाईबोर्डका किला ठोकेर सुरक्षा मजबुत पारिएको छ।
यस्तै आन्ध्र प्रदेश श्रीकालाकुलमको सूर्या थिएटरको पर्दा अगाडि पनि काँडेतार लगाइएको छ।
आन्ध्र प्रदेशकै अर्को एक सिनेमाघरमा पर्दा अगाडि काठका बारहरू लगाइएको छ । कतिपय हलमा भने पर्दाअगाडि प्लाईबोर्डमा किला ठोकेर राखिएको छ ।
बाहुबली, केजीएफ, पुष्पालगायतका दक्षिण भारतीय फिल्मले पछिल्लो समय नेपालमा राम्रो व्यापार गर्न थालेको छ।
बाहुबली सिरिजबाटै दक्षिण भारतीय फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भोलि शुक्रबारबाट भारत, नेपालसहित अन्य विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
नेपालमा फिल्मको अग्रिम बुकिङसमेत खुलिसकेको छ।
काठमाडौं उपत्यकाका अधिकांश मल्टिप्लेक्सहरूमा बुकिङ अन्तिम चरणमा पुगिसकेका छन्।
नेपालमा त्यति धेरै साउथ इन्डियन फिल्म नचल्ने बेला प्रदर्शनमा आएको ‘बाहुबली’ ले दर्शकलाई हलसम्म तान्यो । फिल्म वितरण गर्ने कम्पनी मात्र नभई प्रदर्शन गर्ने हल सञ्चालकले पनि राम्रै कमाए।
साउथ इन्डियन फिल्ममा मात्र सीमित प्रभास बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउँदै थिए। त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभरझैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्यो।
त्यसयता केजीएफ, साहो, पुष्पालगायतले नेपाली दर्शकलाई फिल्मले हलसम्म पुर्यायो।
पुष्पाको अनपेक्षित व्यापारपछि खिलाडी, वलीमै, राधेश्याम नेपाल आइसकेका छन्। यसैबीच भोलिदेखि ‘आरआरआर’ नेपालमा प्रदर्शन हुँदैछ।
नेपाली दर्शकलाई साउथ फिल्मतर्फ आकर्षित गरेका निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले यो फिल्म उत्तिकै प्रतीक्षित छ ।
निर्देशक राजामौलीले कन्टेनसँगै स्टारकास्ट पनि बलियो राखेको फिल्म हो ‘आरआरआर’। फिल्ममा साउथका दुई स्टार छन्, जुनियर एन्टीआर र रामचरण। एउटै अभिनेतालाई लिएर फिल्म बनाउन सकिए पनि निर्देशकले यसमा दुई स्टारलाई लिएका छन्। यति मात्र नभई बलिउड अर्थात् नर्थ इन्डियाका दर्शकलाई मध्यनजर गर्दै अजय देवगन थपिएका छन् । साथमा छिन् आलिया भट्टले मुख्य भूमिका निभाएकी छन्।
यी निर्देशकले नेपाली दर्शकलाई सम्बोधनसमेत गरेका छन्। एक भिडियोमार्फत उनले नेपाली दर्शकलाई फिल्म रिलिज हुनेबारे बताएका हुन्। ‘नमस्ते, सम्पूर्ण नेपाली दर्शकलाई । हाम्रो फिल्म आरआरआर यही मार्च २५ मा तपाईँको नजिकको फिल्म हलमा हेर्नसक्नु हुनेछ । धन्यवाद, मेरोतर्फबाट माया । राजामौली,’ उनले भिडियो सन्देशमा भनेका छन् ।
नेपाल प्रदर्शन अधिकार लिएको वितरण कम्पनी ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताएको छ। देशभर एक सय २१ बढी पर्दामा शो हुने फिल्मको अधिकांश शोहरू फिलिङ फास्ट छन्।