विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ गएको मार्च ११ बाट सिनेमाघरमा रिलिज भएको छ। कश्मीरी पण्डितहरूको पलायनको कथा देखाइएको फिल्म सुरूबाटै चर्चामा छ।
फिल्मले पहिलो हप्तामा बक्स अफिसका सबै रेकर्ड तोडेको छ। प्रभासको दक्षिण भारतीय फिल्म ‘राधे श्याम’ र आलिया भट्टको ‘गंगुबाई काठियावाडी’ जस्ता ठूला रिलिजलेसमेत यसलाई कुनै असर पारेन।
यसैबीच पछिल्लो समय फिल्मलाई लिएर भारतमा यतिबेला राजनीति गरेको भन्दै विवाद थपिएको छ।
भारतका यूपीसहित भाजपा शासित अधिकांश राज्यमा यसलाई करमुक्त गरिएको छ। धेरै ठाउँमा, बीजेपी समर्थकले यसलाई सित्तैमा हेर्न पाएका छन्। तर भाजपाले यो फिल्मलाई पार्टीको एजेन्डाको रूपमा प्रचार गरिरहेको विपक्षीले आरोप लगाएका छन्।
कांग्रेसले ट्वीट गर्दै फिल्मको आलोचना गरेको छ। केरला कांग्रेसले आफ्नो ट्विटर ह्यान्डलमा फिल्मले तथ्यलाई तोडमोड गरेको आरोप लगाएको छ। यससँगै आसमका सांसद बद्रुदिन अजमलले पनि फिल्म कश्मीर फाइल्सको विरोध गर्दै प्रतिबन्ध लगाउन माग गरेका छन्।
सामाजिक सञ्जालमा केही व्यक्तिहरूले यो फिल्मलाई प्रतिबन्धको मुद्दा लगाउन माग गरेका छन्। यो फिल्मलाई प्रचारका रुपमा प्रयोग गरिएको उनीहरूको भनाइ छ।