अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने एक फिल्म विवादमा तानिएको छ।
निर्देशक लव रञ्जनले निर्देशन गर्ने यो फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका हुन्।
रञ्जनको फिल्ममा काम गरिसकेका केही कामदारले पारिश्रमिक नपाएको भन्दै तोडफोड मच्चाएका हुन्।
निर्देशकले गत वर्ष अक्टोबरमा ‘चारकोप’, ‘कान्दीवली’मा एक गीतमा काम गरे पनि त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक रञ्जनले करिब ३ सय ५० व्यक्तिलाई मूल्य १ करोड २० लाख पारिश्रमिक दिएका छैनन्।
प्रहरीले कामदारले सुटिङ सेटमा तोडफोड गरेको सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको छ।
त्यसपछि वर्कस यूनियनले चौकीमा पुगेर प्रहरी नियन्त्रणमा रहेका सबै कामदारलाई बाहिर ल्याएको थियो।
यद्यपी निर्देशक रञ्जन यस विषयमा केही बोलेका छैनन्।
रणवीर र श्रद्धाको अभिनय रहने फिल्म रोमान्टिक ड्रामामा आधारित छ। यो फिल्म आगामी वर्षको मार्च ८ मा रिलिज हुँदैछ।
फिल्ममा डिम्पल कपाडिया र बोनी कपुर पनि प्रमुख भूमिकामा छन्। फिल्मको अन्तिम सुटिङका लागि लव टिमका साथ यसै वर्षको मध्यमा स्पेन जानेछन् ।