अभिनेता आमिर खानले किरण रावसँग गरेको सम्बन्ध विच्छेदबारे ८ महिनापछि खुलासा गरेका छन्।
हालै उनले एक टेलिभिजन अन्तर्रवार्ताका क्रममा आफ्नो पारिवारिक सम्बन्धको बारेमा बताएका हुन्।
आफ्नो व्यक्तिगत जीवनबारे फैलिएका हल्लाका विषयमा बोल्दै खानले आफूले किरणसँगको १५ वर्ष लामो सम्बन्ध तोडेकोबारे स्पष्टीकरण दिएका छन्।
दुई जनाको सम्बन्ध विच्छेदको विषय सार्वजनिक भएपछि आमिरलाई अरूसँग सम्बन्ध राखेको आरोप लगाइएको थियो।
‘परिवारका रूपमा हामीले केही डिस्कस गरिरहेको हुँदा म कतै न कतै हराएको उहाँले मलाई बताउनुहुन्थ्यो। उहाँले मलाई म अर्कै व्यक्ति भएकोसमेत भन्नुहुन्थ्यो। यसपछि किरणजीले मसँग भन्नुभयो-तपाईं परिवर्तन हुनुहोस् भन्ने म चाहन्नँ किनकि, म तपाईँको मन र व्यक्तित्वलाई प्रेम गर्छु, त्यसैले म चाहन्न कि तपाईं कहिल्यै परिवर्तन हुनुहोस्,’ उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भने, ‘तर अहिले किरणजीले ७ वर्षअघि भनेको कुरा सम्झन्छु। र आज म भन्छु, गत ६-७ महिनामा मैले आफूमा धेरै परिवर्तन देखेको छु।’
के यही कारण आमिरलाई सम्बन्ध विच्छेद भयो कि भनेर सोध्दा उनले भने, ‘किरणजी र म एकअर्कालाई धेरै माया गर्छौ। हामी एकअर्काप्रति धेरै आदर गर्छौं। तर मानिसहरूले हाम्रो समीकरण बुझेनन्। मानिसहरूलाई बुझ्न गाह्रो छ। यसो हुनुको कारण के हो भने अक्सर हामी विवाहितहरूबीच त्यस्तो बन्धन देख्दैनौं।
उनले आफूहरूको सम्बन्धविच्छेद कुनै अर्को सम्बन्धका कारण नभएको जिकिर गरे।
कुनै समय आमिरले पहिले फिल्ममा सँगै अभिनय गरेको आफ्नै सहकर्मी अभिनेत्रीसँग तेस्रो बिहे गर्ने चर्को हल्ला चलेको थियो। उनको र किरणको सम्बन्ध-विच्छेदपछि सामाजिक सञ्जालमा आमिरको फिल्म ‘दंगल’ की अभिनेत्री फातिमा साना शैखको नाम ट्रेन्डिङमा आएको थियो। प्रशंसकहरुले फातिमाकै कारण आमिर र किरण छुटिएको हुन सक्ने अनुमान लगाएका थिए।
तै यो हल्ला केही समयमा रोकियो। फातिमा र आमिर एकअर्कासँग निकै नजिक छन्। दंगल फिल्ममा फातिमाले आमिरको छोरीको भूमिका खेलेकी थिइन्। आमिर उनलाई राम्रो अभिनेत्रीमध्ये मान्छन् र यता फातिमा भने आमिरलाई आफ्नो गुरु मान्छिन्। उनीहरुले ‘ठग्स अफ हिन्दुस्तान’ फिल्ममा पनि सँगै अभिनय गरेका थिए।
आमिरले यो सबै हल्ला भएको बताएका छन्।
उनले अझै पनि किरनलाई माया गर्ने बताए। र आफूहरू सँगै काम गर्ने जिकिर गरे।
‘पति-पत्नीको हैसियतमा हाम्रो सम्बन्ध परिवर्तन भएको छ तर हामी विवाहजस्तो पवित्र बन्धनलाई सम्मान गर्न चाहन्थ्यौं। हामी एक अर्काको हात समातेर अगाडि बढ्नेछौं। हामी सँगै काम गर्दैछौं। हामी पानी फाउण्डेशनमा पनि सहकार्य गर्दैछौं। उहाँ म बसेको त्यही भवनमा तल्लो तलामा बस्नुहुन्छ।’
यस्तै आमिर खानले पहिलो पत्नी रीना दत्तासँग विवाह टुट्नुको कारण किरण राव नभएकोसमेत स्पष्ट पारेका छन्। आमिरले रीनासँग सम्बन्ध विच्छेद गर्ने समयमा उनको जीवनमा कोही नभएको दाबी गरे।
आमिर खानले सन् २००५ मा किरण रावसँग विवाह गरेका थिए। सन् २००२ मा आफ्नी पहिलो पत्नी रीना दत्तासँग डिभोर्स गरेको ३ वर्षपछि उनीहरूले दोस्रो विवाह गरेका थिए।
जेठी श्रीमती रीनाबाट आमिरका दुई सन्तान जुनेद र आइरा खान छन् । यसैगरी सन् २०११ मा आमिर र किरण रावले सरोगेसीमार्फत छोरा आजाद राव खानलाई स्वागत गरेका थिए।
अहिले आमिर र किरण सम्बन्ध-विच्छेद पछि पनि खुसी देखिन्छन्। उनीहरु आफ्ना छोरा आजादका लागि भने सँगै समय मिलाइरहेका छन्।
२०२१ जुलाईमा आमिर र किरणले अलग हुने निर्णय गरेका थिए।