बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’ नदिने भएको छ।
बंगलादेशी फिल्म ‘सोल्जर’ को सुटिङका लागि उनले वर्क परमिट मागेकी थिइन्। तर बंगलादेशको मिनिष्ट्री अफ इनफर्मेसन एण्ड ब्रोडकास्टिङ सनीलाई वर्क परमिट दिन अस्वीकार गरेको हो।
बंगलादेशले यसअघि पनि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’ दिएको थिएन।
बंगलादेश सरकारले अनुमति नदिएसँगै सनीले पहिलो पटक बंगलादेशी फिल्ममा अभिनय गर्ने मौका गुमाइन्।
सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य १० भारतीय कलाकारलाई भने बंगलादेशले सुटिङ गर्न मार्च ६ देखि सेप्टेम्बर ४ सम्म वर्क परमिट दिएको छ।
शमीम अहमद रोनीले निर्देशन गर्ने फिल्ममा भारतीय र बंगलादेशी कलाकारहरू रहनेछन्।
सनीले यसअघि एक बंगलादेशी म्युजिक भिडिओ ‘डस्टु पोलापन’ मा अभिनय गरेकी थिइन्। इन्टरनेटमा भाइरल भएको उक्त म्युजिक भिडिओपछि केही बंगलादेशी इस्लामिक समूहले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिएका थिए।
उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिए पछि सरकारले सनीलाई रोकेको हो। यद्यपी यसको आधिकारिक कारण सरकारले खुलाएको छैन।