पत्रकार रोहित भण्डारीको तेस्रो पुस्तक ‘दिए पुग्छ’ सार्वजनिक भएको छ।
भण्डारीको यसअघि २०७१ सालमा ‘सम्भव छ ’ र २०७३ सालमा ‘नेपालमै सकिन्छ’ प्रकाशित भएको थियो । यी दुई पुस्तकका लागि उनले राष्ट्रिय युवा प्रतिभा सम्मान समेत प्राप्त गरेका थिए।
लेखक भण्डारीले तेस्रो पुस्तक ‘दिए पुग्छ’ पनि वास्तविक पात्रहरुको कथामा आधारित रहेको बताउँदै कथा लेखनका लागि आफू महिनौंसम्म विभिन्न गल्ली, आश्रम र घाटमा पुगेको बताए।
यसअघिका आफ्ना दुई पुस्तकले झैं यो पुस्तकले पनि पाठकको माया पाउने विश्वास व्यक्त गर्दै उनले परोपकारी भावनाको हेतुले कथात्मक शैलीमा वास्तविक पात्रहरुलाई पुस्तकमा समावेश गरेको उल्लेख गरे।
उपसभामुख राना मगरले भण्डारीको ‘दिए पुग्छ’ पुस्तकले परोपकारी समाज निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताइन् ।
यसअघिका दुई पुस्तक ‘सम्भव छ ’ र ‘नेपालमै सकिन्छ’ जस्तै ‘दिए पुग्छ’ ले पनि पाठकको मन जितोस् भन्दै उनले शुभकामना व्यक्त गरिन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुस्तक लेखनको यात्रामा रोहित भण्डारीले समातेको बाटो प्रशंसनीय रहेको बताए । भण्डारीको लेखन शैलीदेखि लिएर विषयबस्तुको छनोटसम्म उत्कृष्ट रहेको बताउँदै उनले ‘दिए पुग्छ’ पठनीय कृति रहेको विश्वास व्यक्त गरे ।
पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार बलराम दाहालले पत्रकार रोहित भण्डारीको लेखन शैलीबाट आफू प्रभावित भएको बताए । वास्तविक पात्रहरुका प्रेरणादायी कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको पुस्तक ‘दिए पुग्छ’ पढ्दै जाँदा आफू धेरैपटक भक्कानिएको उल्लेख गर्दै दाहालले नेपाली साहित्यमा फरक धारको लेखकका रुपमा भण्डारीले आफूलाई अघि बढाएको बताए । यस्तै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले प्रेरणादायी पुस्तक लेखनको क्षेत्रमा रोहित भण्डारीले चालेको कलम अनुकरणीय रहेको बताए ।