प्रदर्शनको केही दिनअघि मलाई नेपाली फिल्म 'कठपुतली' को प्रिमियर शो हेर्ने अवसर जुर्यो। म उत्साहित हुँदै गएँ।
फिल्म हेर्न जानुअघि नै त्यसको समीक्षा गर्छु भन्ने मानसिकता बनाएको थिएँ। त्यसैले फिल्ममा रमाउने मात्र होइन, मैले त्यसका विभिन्न पाटा नियालेँ।
फिल्म हेरेर बाहिर निस्कँदासम्म यो-यो पक्ष यसरी लेख्छु, यो-यो विषय यसरी समेट्छु, यसरी भन्छु भनेर दिमागमै मोटामोटी खाका बनाइसकेको थिएँ।
जसै प्रिमियर शो सकिएर हामी बाहिर निस्कियौं, फिल्मको निर्माण टिम र पत्रकारहरूबीच कुराकानीको सिलसिला सुरू भयो। यसको निम्ति त्यहाँ औपचारिक स्टेज नै बनाइएको थियो जहाँ फिल्मका कलाकार, लेखक लगायत जम्मा भइसकेका थिए।
सवालजवाफ सुरू भयो।
तपाईंले फिल्ममा के भन्न खोज्नुभएको? फिल्म हेर्दा कतिपटक डराउनुभयो? फिल्मको लाइटिङ पक्ष कमजोर भयो कि भएन? यस्ता यावत् प्रश्न पत्रकारहरूले सोधे।
चलचित्र निर्माण टिम विभिन्न तर्कसहित जवाफ दिइरहेको थियो। त्यत्तिकैमा कार्यक्रमका होस्ट जितु नेपालले प्रिमियरमा पाहुनाका रूपमा आएका दिनेश डिसीलाई अगाडि बोलाएर मन्तव्य राख्न भने। उनले आफ्नो मन्तव्यमा एउटा अनौठो तर्क गरे, 'नेपाली फिल्म धेरै समयपछि हलमा लागेको छ। यो भनको हामीलाई दसैं लागेजस्तै हो। यदि फिल्म चल्यो भने हामी व्यस्त हुन्छौं र हामी व्यस्त भयौं भने तपाईंहरू (पत्रकार) ले काम पाउनुहुनेछ। त्यसैले यो फिल्मबारे सबैले राम्रो मात्र लेखिदिनुहोस्।'
धेरै समयदेखि नेपाली फिल्मले दर्शक पाएका छैनन् भन्ने सबैलाई थाहा छ। त्यसैले दर्शकलाई हलसम्म तान्नु फिल्मकर्मीहरूको निम्ति चुनौतीपूर्ण छ। कोरोनाका कारण दर्शकहरू हलमा नगएको र यसैबीच केही ठूलो बजेटका हिन्दी तथा अंग्रेजी फिल्म हलमा लागेपछि नेपाली फिल्मलाई प्रतिस्पर्धामा टिक्न गाह्रो भइरहेको छ। यस्तो अवस्थामा नेपाली फिल्मकर्मीहरू आफूले बनाउने सिनेमा र यो क्षेत्रकै भविष्यलाई लिएर चिन्तित हुनु स्वाभाविक कुरा हो।
तर यसको अर्थ फिल्म जस्तो भए पनि पत्रकार/समीक्षकहरूले त्यसका बारेमा राम्रो मात्रै लेखिदिनू भन्ने दिनेश डिसीको भनाइ कुनै हिसाबले पनि ठिक होइन।
आजको समयमा हिन्दी र अंग्रेजी फिल्मको बजार प्रवेशलाई हामी कुनै हालतमा रोक्न सक्दैनौं। त्यसैले नेपाली फिल्मले उनीहरूसँगको प्रतिस्पर्धाबाट आफूलाई कसैगरी पनि अलग राख्न सक्दैनन्। बरू त्यो प्रतिस्पर्धा कसरी गर्ने भन्ने चाहिँ उनीहरूले सोच्नुपर्ने विषय हो। हिन्दी फिल्मजस्तै वा त्योभन्दा झूर कन्टेन्ट बनाएर उनीहरूको बजेट र प्राविधिक क्षमतामा हामी बराबर उभिनु असम्भव छ। त्यसैले प्रतिस्पर्धा गर्ने हो भने हामीले कन्टेन्टमा नयाँपन दिनुपर्छ जुन स्वाद दर्शकले अरू फिल्मबाट नपाऊन्।
भन्नुको मतलब, दर्शक तान्ने एउटै मात्र अचुक उपाय उनीहरूको मन जित्नु हो। उनीहरूसँग मायाको याचना गर्नु होइन।
आखिर नेपाली निर्माता-निर्देशकले कहिलेसम्म नेपाली फिल्मलाई माया गरिदिनुस् भनेर दर्शकसँग याचना गरिरहने?
उनीहरू कहिले भन्न सक्लान्, 'समीक्षकको विचार आफ्नो ठाउँमा होला तर मेरो फिल्मबाट तपाईंले उत्कृष्ट मनोरञ्जन पाउनुहुनेछ, त्यसैले हेर्न आउनुस्।'
बलिउड अभिनेता शाहरूख खानले एक कार्यक्रममा भनेका थिए, 'मेरो बिहेको भिडिओ हेरेर पनि समीक्षकले भनेका थिए- त्यही पुरानो हिरो, त्यही पुरानो हिरोइन, त्यही पुरानो कथा, खासै नयाँ केही छैन्। मैले मेरो फिल्म समीक्षकका लागि होइन, दर्शकका लागि बनाएको हो।'
उनको यो कुरा नेपाली फिल्मकर्मीहरूले कहिले बुझ्लान् थाहा छैन। समीक्षकहरूलाई सकारात्मक मात्रै लेखिदिनू, नराम्रो समीक्षा नगर्नू भनेर भन्नुले फिल्मकर्मीहरूलाई क्षणिक फाइदा त होला तर यसले नेपाली सिने क्षेत्रलाई कहीँ पुर्याउँदैन।
केही दशकअघिसम्म नेपाली फिल्मका धेरै दर्शक थिए। अहिले नेपाली फिल्मलाई माया गरिदिनुस् भन्नुपर्ने नौबत आएको छ। यसमा एउटा मुख्य कारण त बलिउड फिल्मसँगको प्रतिस्पर्धा नै होला। सँगसँगै, त्यो प्रतिस्पर्धामा टिक्ने गरी दर्शकलाई राम्रो फिल्म दिन नसक्नु नेपाली सिनेकर्मीहरूको पनि दोष हो।
यही बजारमा बलिउडसँग टक्कर गर्दै व्यावसायिक रूपले जमेका नेपाली फिल्म थुप्रै छन्। 'लुट', 'छक्कापन्जा' लगायतले आफ्नो समयमा रिलिज भएका ठूल्ठूला हिन्दी फिल्मलाई कमाइमा धेरै पछाडि छाडिदिएका थिए। तर एकाध छाडेर एकपछि अर्को नराम्रो फिल्म बन्दै गएपछि दर्शक आजित भएर हलमा नफर्केका हुन्।
नेपाली फिल्मसँग सम्बन्धित पक्ष यति असहिष्णु बन्दै गइरहेको छ, उनीहरू आफ्नो फिल्मका कमी-कमजोरी सच्याउन चाहिँ खोज्दैनन् र कसैले कमी-कमजोरी औंल्याइदियो भने नेपाली फिल्म सिध्याउन लागे भनेर आरोप लगाउँछन्।
केही समयअघि सरकारले लागू गर्न खोजेको बक्स अफिसमा पनि फिल्मको आम्दानी गोप्य राख्नुपर्छ भन्दै उनीहरू अगाडि आए। अहिले बक्स अफिसको कुरा कता हरायो पत्तो छैन। फिल्म क्षेत्रमा दर्शक महत्वपूर्ण हुन् भने उनीहरूलाई आफूले हेरेको वा मन पराएको फिल्मले कति कमायो भनी थाहा पाउने अधिकार छ भन्नेसम्म नेपाली सिनेक्षेत्रका सरोकारवालाहरूले हेक्का राखेनन्।
अब धेरै नबहकिँदै 'कठपुतली' कै कुरा गरौं।
फिल्ममा दुइटा कथा छन्। एउटा कथा राजपरिवारको छ। त्यो राज्यका जनता आन्दोलन गरिरहेका छन्। तर जनता आन्दोलन गरिरहेका छन् भनेर फिल्मले देखाउँदैन। केही आवाज र केही संवादको भरमा दर्शकले बुझ्नुपर्छ।
यहाँ राजा र राजकुमार सत्ता टिकाइरहन चाहन्छन्। दुवैसँग आ-आफ्नै विचार छन्। सेना परिचालन गरेर केही मान्छे मारे आन्दोलन साम्य हुन्छ भन्ने राजाको भनाइ छ। राजकुमार भने जनतासँग माफी माग्नुपर्छ भन्छन्।
यहाँ राजकुमार आफ्ना साथीहरूसँग मिलेर सत्ता टिकाइरहने योजना पूरा गराउन दरबारबाट भाग्छ। आन्दोलनकारीले देख्लान् भनेर भाग्न खोज्दा लडेर मुर्छा पर्छ। उनलाई एक महिलाले सहयोग गरेर एउटा दरबारमा लग्छिन् जुन अनकन्टार ठाउँमा हुन्छ।
अब कथामा ट्विस्ट आउँछ। त्यो दरबारमा भुताहा गतिविधि देखिन थाल्छन्। राजकुमारलाई थाहै नदिई उनका कपाल काटिन्छन्। जुत्ताको धुलो र कपडाका टुक्रा लगिन्छन्। यहाँ पनि के भयो भनेर चलचित्रले भन्दैन। दर्शकले बुझ्नुपर्छ।
ती भूतहरू त्यही दरबारमा मारिएका पुराना सुसारे हुन् जसलाई राजकुमारका बाबुले बलात्कार गरेका हुन्छन् र गर्भवती भएपछि तिनको हत्या गराएका हुन्छन्। त्यसैको बदला लिन ती सुसारे भूत बनेर आएका हुन्छन्।
भूतहरूले आफ्नो प्रतिशोध कसरी लिन्छन्? यसको निम्ति चाहिँ फिल्म नै हेर्नुहोला।
यो फिल्ममा भुताहा दरबारका रूपमा रानीमहल देखाइएको छ तर हामीले त्यसलाई भिरकोट दरबारका रूपमा बुझ्नुपर्नेछ। रानीमहललाई भिरकोट दरबार मान्ने कि फिल्मको अन्त्यमा त्यो कुनै न कुनै रूपले रानीमहलसँगै जोडिन आउने पो हो कि भन्ने सोचले दर्शकलाई अल्मल्याइरहन्छ।
फिल्मको प्रिमियर शो कार्यक्रममा मैले कठपुतलीका निर्देशक भीमसेन लामालाई सोधेको थिएँ, 'मानिसहरुको मनमा प्रेमको प्रतीकका रूपमा गडेर बसेको रानीमहललाई भुताहा भिरकोट दरबार हो भनेर दर्शकलाई मनाउन सक्नुहोला?'
लामाले मधुरो स्वरमा भनेका थिए, 'यो एउटा फिक्सन हो। म रानीमहललाई जसरी पनि देखाउन सक्छु चाहे त्यो प्रेमको प्रतीक होस् वा भुताहा दरबार, त्यो त मेरो कुरा भयो।'
उनको कुरा आफ्नो ठाउँमा सही होला तर दर्शकले कुनै कुरा जबर्जस्ती मान्दिनुपर्ने अवस्था आयो भने उनीहरूको ध्यान कथावस्तुबाट बाहिर जान्छ। उनीहरू फिल्ममा डुबेर बस्न सक्दैनन्। फिल्म भनेको निर्देशक लामाले भनेजस्तै फिक्सन नै हो, तर त्यो फिक्सन पर्दामा देखाउँदा घटना साँच्चिकै आफ्नो आँखा अगाडि भइरहेको छ भनेर दर्शकलाई अनुभूति गराउनु चाहिँ निर्देशकको चुनौती हो।
कलाकारका रूपमा मिथिला शर्मा, कर्मा तथा उषा रजक प्रमुख भूमिकामा छन्। उषाले धेरै समयपछि नेपाली फिल्ममा फर्किँदा राम्रो छाप छाड्न सकेकी छन्। केही कमी-कमजोरीका बाबजुद नेपाली फिल्मको प्राविधिक पक्षमा सुधार आएको स्क्रिनमा देख्न सकिन्छ।