लोक–रक ब्याण्ड नेपथ्यले सउल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार आफुलाई प्रस्तुत गरेको छ।
‘ओलपार्क’का रुपमा बहुचर्चित यस ओलम्पिक हल सन् १९८८ मा दक्षिण कोरियाले ओलम्पिक आयोजना गर्दा तयार पारेको ओलम्पिक पार्कभित्रै समेटिएको छ। सन् २०११ मा त्यसै हललाई कोरियाली सरकारले कन्सर्ट आयोजना गर्ने थलोका रुपमा विकास गर्दै पुनःनिर्माण गरेको थियो। त्यसयता अन्तर्राष्ट्रिय स्तरमै बहुचर्चित सांगीतिक नामहरु ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’ र ‘एयर सप्लाइ’ले समेत आफूलाई यसै हलमा प्रस्तुत गरिसकेका छन्।
कोरियाको राष्ट्रिय पर्व ‘चुसोक फेस्टिभल’को अवसर पारेर कास्की परिवारले नेपथ्य कन्सर्टको आयोजना गरेको थियो। चुसोक कृषिमा आधारित परम्परागत पर्व हो। खेती-किसानीको मौसमलाई ध्यानमा राखेर मनाइने यो पर्वका बेला कोरियाली समाजका मानिस अघिल्ला पुस्ता र मान्यजनहरुसँग भेटघाट गर्छन्। धेरैजसो कोरियाली यसै समय पारेर आफ्नो पुर्ख्यौली थातथलो पनि पुगिरहेका हुन्छन्।
तर, त्यसै मुलुकमा कमाउन पुगेका आप्रवासीहरुको निम्ति भने यो पर्व साथीभाइसँग भेटघाट गर्ने र स्वदेशका सम्झनाहरु ताजा पार्ने अवसर बन्न पुग्छ। यतिबेला दक्षिण कोरियामा चालीस हजारभन्दा बढी नेपाली कामदारहरु रोजगारीका निम्ति पुगेका छन्। इपिएस प्रणाली लागू भएयता यसरी नेपाली तन्नेरीहरु त्यस मुलुकमा जान थालेका हुन्।
‘स्वदेशमै तपाईंहरुलाई रोजगारीको प्रवन्ध गर्न नसकेकै कारण सबैजना यो ठाउँ आइपुग्नुभएको हो,' कन्सर्टकै क्रममा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, 'आफन्त, साथीभाइ र मान्यजनहरुबाट यसरी टाढिएर बाँच्नुपर्दाको पीडा म बुझ्दछु। जेजस्तो भए पनि यहाँ रहँदाको क्षणलाई अवसरका रुपमा लिइदिनुस् र सकेसम्म आफूमा स्वदेसका निम्ति काम लाग्ने सीप विकास गर्नुस्। हाम्रा नेताहरुमा यी तमाम तन्नेरीहरुले राष्ट्रनिर्माणमा सघाउन सक्ने वातावरण तयार पार्ने दृष्टिकोणका लागि हामी अनुरोध गर्छौं।’
यति भनिसकेपछि अमृतले केही वर्षअघि मात्र तयार पारेको गीत प्रस्तुत गरे, जसको भाव आफ्नो प्रिय मानिस छाडेर हिँडेका आप्रवासी कामदार नेपालीको पीडामाथि उभिएको थियो–
‘मै मरी जाउँला, जीवन छोटो छ
लेखेको सम्झना, चेतेर नफाल
सिरानमा फोटो छ...’
यस गीतलाई नेपथ्यले आफ्नो २५ औं वर्ष मनाउने क्रममा हालै म्यूजिक भिडियोका रुपमा पनि सार्वजनिक गरेको छ। यस गीतको भिडियोले मजदुरीका निम्ति विदेशिएका नेपालीको भोगाइ प्रस्तुत गर्छ।
नेपथ्यका केहि सदावहार गीतहरु प्रस्तुत गरिसकेपछि अमृत फेरि दर्शकहरुसँग कुरा गर्न तम्तयार भए।
‘यस ओलम्पिक पार्कमा उभिएर गीत गाइरहँदा मलाई यति बेला विधान लामाको याद आइरहेको छ, जसले १९८८ को ओलम्पिकमा मुलुकका निम्ति पदक हासिल गरेका थिए,’ उनले थपे, ‘दुर्भाग्य! त्यस्ता प्रतिभाशाली खेलाडीलाई पनि हाम्रो मुलुकले रोकेर राख्न सकेन र अहिले उनी पनि विदेशिएका छन्। यस्ता धेरै प्रतिभाशाली विधानहरुलाई यतिबेला नेपालले गुमाइरहेको छ। म हाम्रा नेताहरुलाई मुलुक भित्रै राम्रो अवसरको सिर्जना गरेर यस्ता प्रतिभाहरुलाई स्वदेशमै आकर्षित गर्न आह्वान गर्छु।’
योसमेत गरेर दक्षिण कोरियाली राजधानी सउलमा नेपथ्यको यो पाँचौ प्रस्तुती थियो ।
त्यसपछिको चरणमा ‘यो जिन्दगानी’ बाट अघि बढेको कन्सर्ट ‘कोशीको पानी’, ‘गाउँ गाउँबाट उठ’ हुँदै नेपथ्यका सुपरहिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’मा प्रवेश गरेको थियो।
‘रातो र चन्द्रसूर्य’ बाट अन्त्य गर्नुअघि अमृतले फेरि मधुरो स्वरमा भलाकुसारी गर्न चाहे। ‘नेतृत्वका कमी कमजोरीले गर्दा हामीले धेरै दुःख पाइसकेका छौं,’ राज्य र संसदको चुनाव आउन लागेको परिवेशमा उनले भने, ‘अबचाहिँ कम्तीमा तमाम नेपाली मतदाताहरुले झुठा वचन दिनेलाई भन्दा एकपटक राम्ररी सोचेर सही नेतृत्वको चयन गरुन्।’
कन्सर्टमा सधैंझैँ अमृतलाई स्टेजमा ध्रुव लामाले ड्रम सेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाएका थिए।