फिल्म 'सोल्टिनी' मा समावेश गीत 'नौलाखे तारा' सार्वजनिक गरिएको छ।
लिरिकल शैलीमा तयार गीतमा शब्द, संगीत र स्वरको माधुर्यसँगै फिल्मको भावनात्मक कथावस्तु झल्किन्छ।
गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर छ। यसको शब्द र संगीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हो। संगीत संयोजन देवेश राईले गरेका हुन्।
'नौलाखे तारा' मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले फिल्मका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छ। लिरिकल भिडिओमा भावनात्मक उतार–चढाव देखिन्छ, जसले फिल्मको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोडने निर्माणपक्षले जनाएको छ।
कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने 'सोल्टिनी' अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। फिल्ममा प्रकाश र परीक्षाका साथमा विल्सनविक्रम राई, प्रेम सुब्बा, रविन्द्र झा, प्रकाश घिमिरे, कविता आलेलगायत कलाकारहरूको अभिनय छ।
फिल्ममा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको 'हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम' कार्यकारी निर्माताका रूपमा संलग्न छ। रेजिना विष्ट र संसार चौलागाईं फिल्मको निर्माता हुन्।
'सोल्टिनी' ले समाजमा विद्यमान जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरूद्धको आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताए।
इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा फिल्मको छायांकन गरिएको हो।