दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीन नेपाली फिल्मले बक्स अफिसमा कुल ९ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेका छन्।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ८ दिनको बक्स अफिस रिपोर्टअनुसार तीन फिल्मले कुल ९ करोड १० लाख ८८ हजार १०३ रूपैयाँ कमाइ गरेका हुन्।
तीनवटामध्ये सन्तोष सेन निर्देशित 'बलिदान' ले सबैभन्दा धेरै व्यापार गरेको छ। गत सोमबार रातिसम्मको विवरणअनुसार यो फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यस्तै, दीपेन्द्र के. खनाल निर्देशित 'हरिबहादुरको जुत्ता' ले ३ करोड २१ लाख ७० हजार १६० रूपैयाँ कमाएको छ। मिलन तामाङको निर्देशनमा बनेको 'माइतीघर' को कमाइ २ करोड १३ लाख ६४ हजार ६९२ रूपैयाँ रहेको छ।
'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' असोज १३ गते एकसाथ रिलिज भएका थिए।