९८ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट मिलन चाम्स निर्देशित 'अञ्जिला' सिफारिस भएको छ।
द एकेडेमी अफ् मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष अस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली फिल्म 'गुन्यु चोलो - द ड्रेस' र 'अञ्जिला' प्राप्त भएका थिए। दुवै फिल्मको गहन मूल्यांकन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर 'अञ्जिला' लाई छनोट गरिएको हो।
'अञ्जिला' अब सन् २०२६ मा घोषणा हुने ९८ औं अस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको लागि नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ।
गत वर्षको फागुनमा सिनेमा हलमा प्रदर्शनमा आएको 'अञ्जिला' व्यापारिक रूपमा हिट फिल्म हो। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्ममा एन्जिला आफैले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। साथमा फिल्ममा सुनील थापा, दयाहाङ राई, विजय बराल, प्रेमकुमार श्रेष्ठ, सिर्जना सुब्बा, माओत्से गुरूङ, सुमीन गुरूङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।