जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबीच नेपाली फिल्मको प्रदर्शनमा झन् ठूलो प्रतिस्पर्धा हुने देखिएको छ।
दसैंको फूलपातीमा रिलिज हुने फिल्मको संख्या चार पुगेको छ। सन्तोष सेन निर्देशित 'बलिदान', मिलन तामाङ निर्देशित 'माइतीघर' र दीपेन्द्र के. खनाल निर्देशित 'हरिबहादुरको जुत्ता' सँगै सुशान्त गौतम निर्देशित फिल्म 'अभिमन्युः च्याप्टर वान' पनि असोज १३ मा रिलिज हुने भएको हो।
भदौ २७ मा रिलिज हुने तयारीमा रहेको फिल्म 'अभिमन्यु' जेनजी आन्दोलनका कारण पछि सरेको हो।
दसैं मात्र होइन, तिहारमा पनि नेपाली फिल्मबीच चौपक्षीय भिडन्त हुने निश्चित भएको छ।
कात्तिक ६ गते भाइटीकाको दिनका लागि यसअघि नै प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत 'सोल्टिनी' तथा दयाहाङ राई र विजय बराल अभिनीत 'वरिष्ठ बलराम' ले रिलिज मिति तोकेका थिए। त्यस्तै, धिरज मगर, मिरूना मगर र दीया पुन अभिनीत 'मैझारो' कात्तिक ७ गतेका लागि रिलिज तय छ। अब, दयाहाङ राई र मिरूना मगर अभिनीत 'जारी २' को प्रवेशसँगै तिहारमा चौपक्षीय प्रतिस्पर्धा तय भएको हो।
असोज ३ मा रिलिज हुने भनिएको यो फिल्म जेनजी आन्दोलनकै कारण पूर्वनिर्धारित मितिमा रिलिज गर्न असम्भव भएको भन्दै पोस्टपोन्ड भएर कात्तिक ६ मा आउने भएको हो।
'सोल्टिनी' मा अर्जुन सुवेदीको निर्देशन छ भने 'वरिष्ठ बलराम' सुरेन्द्र पौडेलको निर्देशनमा बनेको हो। त्यस्तै, 'जारी २' उपेन्द्र सुब्बा निर्देशित फिल्म हो भने 'मैझारो' विल्सनविक्रम राईको निर्देशनमा बनेको हो।
दयाहाङका तीन, विजय र मिरूनाका दुई फिल्म सँगै
यो प्रतिस्पर्धामा एउटै कलाकारका दुई वा दुईभन्दा बढी फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन्। त्योसँगै कलाकारहरूलाई प्रचारप्रसारको दबाब समेत देखिने भएको छ।
'जारी २' र 'बरिष्ठ बलराम' दुवैमा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा छन्। 'मैझारो' मा समेत दयाहाङले विशेष भूमिका निर्वाह गरेकाले तिहारमा उनका तीन फिल्म एकै समयमा दर्शकमाझ आउनेछन्।
अभिनेता विजय बरालले पनि 'जारी २' र 'बरिष्ठ बलराम' दुवै फिल्ममा शीर्ष भूमिकामा अभिनय गरेका छन्।
दयाहाङ र विजय मात्र होइन्, अभिनेत्री मिरूना मगरका पनि 'जारी २' र 'मैझारो' गरी दुई फिल्म एकै समयमा रिलिज हुने भएका छन्।
त्यसअघि दसैंमा अभिनेता प्रकाश सपुतका दुई फिल्म 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' एकसाथ आउँदैछन्।