नेपाली फिल्म 'अभिमन्युः च्याप्टर १' मा समावेश आइटम गीत 'लड्की गोरी' सार्वजनिक गरिएको छ।
शुक्रबार युट्युबमा सार्वजनिक भोजपुरी लवजमा रहेको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ। संगीत संयोजन विषम आचार्यले गरेका छन्।
गीतमा जुना सुन्दासको आइटम नृत्य छ भने नृत्य कोरियोग्राफी रोहन विश्वकर्माले गरेका हुन्।
गीत भोजपुरी लवजमा रहे पनि भाषा भने नेपाली प्रयोग गरिएको छ। नृत्य र कोरियोग्राफी पनि भोजपुरी गीतको जस्तै छ। युवायुवतीको एकअर्काप्रतिको चाह गीत र भिडियोमा देख्न सकिन्छ।
फिल्ममा तराईको पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहको भोजपुरी शैलीको गीत तयार पारेको बुझ्न सकिन्छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको 'अभिमन्युः च्याप्टर १' लाई सुशान्त गौतमले निर्देशन गरेका हुन्।
पोस्टप्रोडक्सनमा रहेको यो फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरूङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्।
फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। यसमा मुकेश खनालको लेखन छ भने क्रिएटिभ निर्देशकमा मदन थापा छन्।
शरद महतोको डिओपी रहेको फिल्ममा सुरेन्द्र पौडेल र मदन घिमिरेको सम्पादन छ।
'अभिमन्युः च्याप्टर १' नेपालमा भदौ २७ गते रिलिज हुँदैछ भने हिन्दी भाषामा असोज ६ गते विश्वव्यापी रूपमा प्रदर्शनमा आउने जनाइएको छ।