फिल्म 'अभिमन्युः च्याप्टर १' का दुईवटा पोस्टर सार्वजनिक गरिएको छ।
निर्माणपक्षले सोमबार सार्वजनिक गरेको पोस्टरमा खुसी र तनाव देखाइएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्।
एउटामा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरूङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकारहरू पनि फिचर्ड छन्। यी मध्ये किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन्। सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालयमा प्रहरी अधिकृतले बयान लिइरहेका छन्। अर्का एक प्रहरी जवान सुरक्षाका लागि छेउमा उभिएका छन्। यो पोस्टरको उद्देश्य कलाकारहरूको लुक्स र थोरै कथाबारे संकेत दिनु रहेको बुझ्न सकिन्छ।
अर्को पोस्टरमा फिल्मका मुख्य दुई कलाकारहरू कामेश्वर र लक्ष्मी छन्। कुनै मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू खुसी मुद्रामा देखिन्छन्। निकै खुसी झल्किएको दुवैको अनुहार र लक्ष्मीको गेटअपले उनीहरू नवविवाहित जोडी रहेको अनुमान गर्न सकिन्छ।
यी दुई पोस्टरले क्यारेक्टर लुक्स, क्यारेक्टर र सम्बन्धलाई थोरै खुलाउँदै सस्पेन्स सिर्जना गर्न खोजेको देखिन्छ।
फिल्म 'अभिमन्युः च्याप्टर १' भदौ २७ गते रिलिज हुँदैछ। हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ। हिन्दी भर्सन पनि वर्ल्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले बताएका छन्।
फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ।
पोस्ट प्रोडक्सनमा रहेको यो फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरूङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायत छन्।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्म 'अभिमन्यु: च्याप्टर–१' लाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशकमा मदन थापा छन्।
फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
शरद महतोको डिओपी रहेको फिल्ममा मनोज श्रेष्ठको भीएफएक्स, सुप्रिम पराजुलीको रंग संयोजन, मदन घिमिरेको सम्पादन छ।