यतिबेला नेपाली सिरियल 'गाह्रो छ हो' प्रसारणमा छैन। कमेडी विधाको यो सिरियलको प्रसारण केही महिना अघिदेखि अचानक रोकिएको थियो।
यसका लेखक, निर्देशक तथा कलाकार बेगम नेपाली (भटभटे माइला) ले विविध कारणले 'गाह्रो छ हो' बन्द भएको जानकारी दिएका छन्।
एक समय यो सिरियल दर्शकमाझ कतिसम्म लोकप्रिय थियो भन्ने यसको युट्युब भ्युजले देखाउँछ। यो सिरियलको एउटै एपिसोड (भाग १४)लाई युट्युबमा २ करोड १६ लाखपटक हेरिएको छ। यो भ्युज नेपाली सिरियलमा सर्वाधिक हो।
यसका अन्य केही एपिसोड १ करोडमाथि हेरिएका छन्। सिरियलमा खासगरी बेगम नेपाली र रियाशा दाहालको जोडीलाई दर्शकले निकै रूचाउँथे। पछि रियाशा सिरियलबाट अलग भइन्। विस्तारै सिरियलका दर्शक पनि विस्तारै घट्दै गएको देखिन्छ।
बेगमले यसको दोस्रो सिजन पनि सुरू गरेका थिए। तर, त्यसको प्रसारण पनि लामो समयसम्म जान सकेन।
अहिले बेगमले नयाँ सिरियल 'गाह्रो छ जिन्दगी' दर्शकमाझ ल्याउने तयारी गरेका छन्। यसको ट्रेलर हालसालै सार्वजनिक गरिएको छ। 'गाह्रो छ जिन्दगी' आउँदो बुधबारदेखि हरेक साता प्रसारणमा आउने छ।