भारतीय अभिनेता प्रदीप रावत फेरि नेपाली फिल्ममा देखिने भएका छन्।
यसअघि नेपाली फिल्म 'ह्रस्व दीर्घ' मा अभिनय गरेका उनी 'आ बाट आमा' मा अनुबन्ध भएका हुन्।
यो फिल्मलाई 'ह्रस्व दीर्घ' कै निर्देशक चन्द्र पन्तले निर्देशन गर्न लागेका हुन्। निर्देशक पन्तले फिल्ममा प्रदीप रावत पल शाहको बुबाको भूमिकामा रहने बताए।
उनले भने, 'नितान्त नेपाली लोकमा नेपाली स्टाइलको भूमिका निर्वाह गर्दै हुनुहुन्छ।'
प्रदीपले यसअघि 'ह्रस्व दीर्घ' मा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका थिए।
प्रदीपले मुख्यतया तेलुगु, हिन्दी र तमिल भाषाका चर्चित फिल्महरूमा काम गर्छन्। खासगरी खलनायकको भूमिका निभाउनका लागि उनी प्रसिद्ध मानिन्छन्।
'आ बाट आमा' को कुरा गर्दा यसमा विपना थापा र पल शाह अनुबन्ध भइसकेका छन्। चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म 'ह्रस्वदीर्घ' बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्।
भदौबाट फ्लोरमा जाने तयारीमा रहेको 'आ बाट आमा' को स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका हुन। अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाइ छ।
निर्देशक पन्तले यो फिल्मको प्रदर्शन मिति समेत तोकिसकेका छन्। उनका अनुसार आगामी फागुन १५ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ।