बेलायतमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा 'लाफ्टर फर लाइफ' कार्यक्रम आयोजना गर्ने भएको छ।
२७ अप्रिलमा हुन लागेको कार्यक्रममा सहभागी हुन राजेश हमाल बेलायत जाने भएका छन्। कार्यक्रममा हमालको उपस्थिति विगतको भन्दा भव्य र पृथक हुने आयोजकले बताएको छ।
प्राय दुई-तीन डायलग र एक-दुई नृत्यमा सिमित प्रस्तुति दिने हमालले यस पटक लण्डनका दर्शकका लागि भने फरक प्रस्तुतिका साथ स्ट्याण्ड अप कमेडी गर्ने भएका छन्। कार्यक्रममा सहभागी हुन राजेश हमालसँगै कमेडियन सन्दिप क्षेत्री र अतृप्त ब्याण्डका साथमा नविन के भट्टराईले नयाँ पुराना गीत प्रस्तुत गर्नेछन्। स्ट्याण्ड अप कमेडीको लागि हमाललाई सन्दिप क्षेत्रीले साथ दिनेछन्।
कार्यक्रमको सम्पुर्ण तयारी भइसकेको र माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए अनुसार कार्यक्रममा सहभागी हुने सबै कलाकारहरूको युकेको भिसा लागिसकेको छ।
त्यस्तै कार्यक्रमलाई स्तरिय बनाउन साउण्ड, स्टेज, भिडिओ प्रोजेक्सन र लाइटमा विशेष ध्यान दिने बेलायतका स्थापित साउण्ड इन्जिनियर हेम विष्टले बताए। १२ सय दर्शक क्षमता भएको उक्त हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिन समेत प्रबन्ध भएको हुँदा उक्त दिनलाई 'बेष्ट सन्डे नाइट' बनाउन सबै बेलायतवासीलाई थापाको आग्रह छ। विष्टका अनुसार सुरूको दुई घण्टा राजेश हमाल र सन्दीप क्षेत्रीको कमेडी प्रस्तुत हुने र बाँकी समय करिब दुई घण्टा गायक नवीन के भट्टराईले आफ्नो ब्यान्डकासाथ सांगीतिक प्रस्तुति दिनेछन्।