नेपाली लेखक संघले राष्ट्रिय संघका केन्द्रीय विभागहरूको गठन गरेको छ। त्यस्तै संघले २०८२ का लागि पुरस्कृत गर्ने व्यक्तिको नाम पनि सार्वजनिक गरेको छ। 
संघका केन्द्रीय अध्यक्ष वियोगी बुढाथोकीको अध्यक्षता बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय लेखक पुरस्कार २०८२ आगामी वैशाख १६ गते आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने निर्णय गरेको हो।  एक लाख राशी रहेको सो पुरस्कार हरेक दुई वर्षमा प्रतिष्ठित साहित्यकारलाई संघले प्रदान गर्दै आएको छ।
संघका परराष्ट्र विभाग संयोजक युवराज डिसीका अनुसार  बैठकले संघको हालै लुम्बिनीमा भएको आठौँ  राष्ट्रिय अधिवेशनपछि नौ वटा केन्द्रीय विभागहरूको गठन गरेको  छ। जसको कानूनी परामर्श विभाग–संयोजक दामु मार्सीफूल, परराष्ट्र विभाग  संयोजक  युवराज डिसी, अर्थ विभाग  संयोजक विसुकुमार केसी, प्रकाशन विभाग संयोजक डा. विष्णु केसी, नीति अनुसन्धान तथा प्रतिष्ठान विभाग संयोजक मनोज न्यौपाने, सम्पर्क तथा समन्वय विभाग संयोजक  डा. शशी थापा पण्डित,  युवा प्रतिभा विभाग संयोजक डा. ईश्वरमणि अधिकारी, संचार विभाग संयोजक  विमला तुम्खेवा र संगठन विभाग संयोजक भरत भण्डारी (सोझो गाउले) रहेका छन्। 
प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद  कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटा, ऋद्धिबहादुर मल्ल, गोविन्द मल्ल (गोठाले), वालकृष्ण सम लगायतको सक्रियतामा वि.सं २००८ सालमा स्थापना गरिएको नेपाली लेखक संघले अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको छ। 
त्यसपछिका दिनहरूमा संघलाई प्रा.डा. तुलसी भट्टराई, प्रा.डा. विष्णुविभू घिमिरे, प्रा. डा. कुलप्रसाद कोइराला, प्रा.डा. गोविन्द भट्टराई,  कृष्ण धरावासी  लगायतले पुनर्जीवत बनाएका थिए।