नेपालको चर्चित डान्सर समूह 'द कार्टुन्ज क्रु' ले आफ्नो वेब-सिरिज 'द लास्ट ट्रिपः अन्तिम यात्रा' युट्युबबाट हटाएको छ।
सिरिजका लेखक तथा निर्देशक सरोज अधिकारीले एक भिडिओ सन्देश जारी गर्दै छायांकन भएको क्षेत्रका व्यक्तिहरूको विरोधपछि युट्युबबाट हटाइएको बताएका छन्।
उनले कतिपय दृश्य र संवादले पर्न गएको असरप्रति माफी समेत मागेका छन्।
कार्टुन्ज क्रुले युवापुस्तालाई लक्षित गरेर जम्बीससम्बन्धि सिरिजको प्रसारण सुरू गरेको थियो। यसको पहिलो एपिसोडलाई नै लिएर कतिपयले आलोचना गरेपछि हटाइएको हो।
'कसैलाई चित्त दुखाउने उद्धेश्यले बनाएका थिएनौं। युवापुस्तालाई लक्षित गरेर फरक फ्लेवर आओस् भन्ने सोचेर ल्याएका थियौं। कतिपयले नेपालमा नयाँ खालको सिरिज आयो भनेर साथ पनि दिनुभएको थियो। त्यसमा खुसी पनि लाग्यो,' उनले भनेका छन्, 'कतिपय अडियन्सलाई मन परेन। मन नपरी नगरी ल्याइराख्नु पनि राम्रो होइन् भन्ने लागेर हटाएका छौं।'
सरोजले विवादित कन्टेन्ट हटाएर पुनः दर्शकमाझ ल्याउने बताएका छन्। त्यसका लागि केही समय लाग्ने उनको भनाइ छ।