कोट, ढाकाटोपी र चस्माले सजिएका एक व्यक्ति हरियो रङ र ब्रस लिएर सडकमा हिँड्दै छन्। उनले घरघरमा हरियो रङ पोतेका छन्। रङ बोकेको बाल्टिनबाट सडकमै पनि हरियो रङ पोखेका छन्। ती व्यक्तिको पछाडि रूखका ठुटा मात्र देखिन्छन्, हरिया पात र हाँगाबिँगा देखिँदैनन्।
सडकमा हरियो रङ बोकेर हिँडिरहेका ती व्यक्तिको काम देखेर अर्को छेउबाट एउटा कुकुर दंग परेर भन्दैछ, ‘ग्रिन सिटी!’
पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई हरित सहर बनाउन घरघरमा हरियो रङ पोत्ने योजना अघि सारेका छन्। पोखराका सयौं वर्ष पुराना रूख चित्रमा देखिएजस्तै ठुटामा सीमित छन्। हाँगाबिँगा र हरिया पात काटिएका छन्।
चित्रकार जीत गुरूङले महानगरको उक्त योजनामा व्यंग्य गर्न यस्तो चित्र बनाएका हुन्। उनले कोरेको यो चित्र शनिबारदेखि पोखरामा प्रदर्शनीमा छ। गुरूङसहित गण्डकी प्रदेशका सबै जिल्लाका चित्रकारका ७४ वटा चित्रकला प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनीमा सबैजसो चित्रले सामाजिक यथार्थ चित्रण गरेका छन्।
चित्रकार झविन्द्र गुरूङले दोस्रो विश्वयुद्धमा मारिएका आफ्ना हजुरबुबाको सम्झनामा चित्र बनाएका छन्। उनले बनाएको ‘स्टलेशन आर्ट’ मा धागोले बाँधिएको एउटा चिठी छ। चिठीभित्र गोली छ।
‘मेरा हजुरबुबा तत्कालीन ब्रिटिस–भारत सरकारका तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी हुनुभयो। लडाइँमा गएको तीनचार महिनामै मारिनुभयो,’ उनले सेतोपाटीसँग भने, ‘घरमा उहाँले वीरगति प्राप्त गर्नुभयो भनेर धागोले बाँधेको चिठी आएको थियो। त्यो चिठीका शब्दहरू हाम्रो मुटुमा गोली बनेर बसेका छन्।’
यसै कारणले उनले चिठीको खामभित्र गोली राखेका हुन्।
विश्वयुद्धमा लड्न लाहुर जाने परम्परा अहिले रोजगारीका नाममा खाडी मुलुक र मलेसिया जानेमा विस्तार भएको छ। यी देशहरूमा जाने श्रमिकका अँध्यारा पाटा कलाकार डिबी गुरूङले उतारेका छन्।
‘राहदानी नेपाल’ शीर्षकमा उनले बनाएको चित्रमा एउटा श्रमिकको टाउकोमा राहदानीमा छ। अनुहारमा राहदानीको सरकारी छाप छ।
राहदानीको दायाँबायाँ विदेश जान श्रमिकले लिएको ऋणको तमसुक छ। बेलामा ऋण भुक्तान गर्न नसक्दा आएको घरबारी लिलामको सूचना पनि छ।
‘काम गर्न विदेश जाने मजदुरको अँध्यारो पाटो चित्रकलामा उतारेको हुँ,’ कलाकार डिबी भन्छन्, ‘नेपाली पासपोर्टले यस्ता अनेक कथा बोकेका छन्।’
कलाकार सुनिल सिग्देलले आफ्नो चित्रमा कलाकारकै पीडा उतारेका छन्। उनले चर्चित मेक्सिकन फ्रिडा काह्लो र भारतीय कलाकार अमृता साइकलको पोट्रेट बनाएका छन्। चित्रमा उनीहरूकै कलायात्राका पीडा उतारेका छन्।
‘एउटा साधारण मान्छेबाट कलाकारमा रूपान्तरण हुँदाका पीडा चित्रमा उतारेको हुँ,’ उनी भन्छन्, ‘अमृता साइकल र फ्रिडा काह्लोका पीडा मेरो चित्रमा अनुभव गर्न सकिन्छ।’
वरिष्ठ कलाकार बुद्धि गुरूङले भगवान कामदेवका वरिपरि महिलाहरू झुम्मिएको देखाएका छन्। चित्रमा भगवानलाई चढाइएका रङहरू देखिन्छन्। कामदेवका सामु पुगेकी एक महिलाले भने लाजले मुख छोपेकी छन्।
उनले भने, ‘जीवन रंगमय छ, मैले धेरै ठाउँमा कामदेव भगवानको मूर्ति भेट्टाएँ। उनको पूजा गरेको दृश्य चित्रकलामा उतारेको हुँ।’
भगवानप्रतिको आस्था देखाउन अन्य चित्र पनि प्रदर्शनीमा छन्। बुद्धले बुद्धत्व प्राप्त गर्ने बाटोदेखि ढुंगामा अनेक आकार दिएर चित्र बनाइएका छन्। चित्र कुँदिएका यस्ता ढुंगा देवता बनेका छन्।
चित्रकार अनिशा भण्डारीले प्राध्यापक अभि सुवेदीको ‘क्यारिकेचर’ बनाएकी छन्। कला विश्लेषक, लेखक तथा प्राध्यापक सुवेदीको अनुहार बढाइचढाइ गरेर आफूले क्यारिकेचर गरेको भण्डारीको भनाइ छ।
‘प्रोफेसर अभि सुवेदी सरको क्यारिकेचर बनाउँदा कस्तो हुन्छ भनेर बनाएको हुँ,’ चित्र देखाउँदै उनले भनिन्, ‘मैले उहाँको अनुहार बढाइचढाइ गरेर चित्र बनाएँ।’
काठमाडौंमा ललितकला विषय पढ्दै गरेकी सपना नेपालीलाई कला क्षेत्रमा लाग्न सुरूमा परिवारको सहयोग मिलेन। उनले काठमाडौंमै बुटिक तालिम लिइन्। बुटिकले उनलाई कलामा लाग्न सहयोग गर्यो। उनले आफ्नो कला यात्राको कथा बुटिक र पेन्टिङमार्फत् देखाएकी छन्।
‘हाउ क्यान लिभ यु ब्याक’ शीर्षकको उनको कलामा बुटिकका धागाको घेरा हालिएको छ। छेउछाउमा पेन्टिङ गरिएको छ।
‘यो चित्रकला मेरो जीवनमा जोडिएको छ,’ उनी भन्छिन्, ‘चित्रकलामा किन बुटिक प्रयोग नगर्ने भनेर प्रयास गरेकी हुँ।’
पोखरामा शनिबार सुरू भएको चित्रकला प्रदर्शनीमा राखिएका ७४ वटा चित्रबाट ३५ वटा छनोट हुनेछ। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठका अनुसार छानिएका चित्र काठमाडौंमा आगामी जेठ १५ गते आयोजना हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिनेछन्।
पोखराको नयाँ बजारस्थित क्षेत्री समाज भवनमा आयोजित प्रदर्शनी बुधबारसम्म चल्नेछ। प्रदर्शनीमा सहभागी चित्रकलाबाट उत्कृष्ट ठहरिएका एक कलाकारलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिनेछ।
परम्परागत र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार एक–एक जनालाई प्रदान गरिनेछ।
लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई ३० हजार रुपैयाँ पुरस्कार दिइने सदस्य सचिव श्रेष्ठले बताए।
पुरस्कार लागि चित्रकला छनोट गर्न वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’ को संयोजकत्वमा कलाकार रमेश श्रेष्ठ लगायतको रहेको समिति गठन भएको छ। समितिले राष्ट्रिय ललितकला प्रदर्शनीमा पुग्ने चित्र पनि छनोट गर्नेछ।
पोखराका महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी महानगरले भत्काएर शौचालय बनाएपछि क्षेत्री समाजको भवनमा अस्थायी आर्ट ग्यालरी बनाएको प्रतिष्ठानले जनाएको छ।
चित्रकला प्रदर्शनीका लागि ५० वटा लाइटसहित अन्य सामग्री राखेको सदस्यसचिव श्रेष्ठले बताए।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीमा पोखराको सिर्जनशील कलाकार समूहले सहकार्य गरेको छ।
प्रदर्शनीमा सहभागी भएका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाका अनुसार सबै प्रदेशमा यस्ता प्रदर्शनी आयोजना गरेर छानिएका चित्रकला राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिनेछन्।
उनले पोखरामा प्रदर्शनीमा राखिएका चित्रकलाले नेपाली समाजको इतिहास, वर्तमान र भविष्य बोलेको बताए। यस्ता प्रदर्शनीले कला र कलाकार दुबै तयार हुने उनको विश्वास छ।