ललितपुरको जावलाखेलस्थित चिडियाखानामा असरल्ल छाडिएका रूखका मुढामा जनावरका आकृति कुँदिदै छ। करिब एक महिनायता कलाकारहरूले चिडियाखानाका मुढामा जनावरका आकृति कुँद्ने काम गरिरहेका हुन्।
करिब दर्जनभन्दा बढी कलाकारले श्रमदानका रूपमा यहाँ काम गरिरहेका छन्। आफ्नो मिल्दो समयमा उनीहरू चिडियाखाना आउँछन्, मन भएसम्म बुट्टा कुँद्छन् अनि घर फर्कन्छन्।
चिडियाखानाका काठलाई उपयोग गर्दै यसरी कलाकृति बनाउने कामको योजना सुरूमा तीन कलाकारबाट भएको थियो। ती कलाकार हुन् विभुषण ताम्राकार, राजन महर्जन र विकास शाक्य। डेढ वर्षअघि चिडियाखाना घुम्न आउँदा खेर गइरहेको काठ देखेपछि यसलाई केही गर्न मिल्ला भन्ने सोच आएर यो काम गरेको कलाकार ताम्राकारले बताए।
‘चिडियाखानामा झन्डै चार–पाँच वर्षदेखि काटेर राखिएका रूख छन्। ती रूखका मुढा कति किरा परेर प्वाल परिसकेका छन्। हामीले केही राम्रा काठ छानेर त्यसमा जंगलका जनावरकै स्वरूप झल्कने बुट्टा कुँदेका हौं,’ उनले भने, ‘खेर गएका काठलाई यसरी पनि प्रयोग गर्न सकिन्छ भनेर यो नमुना मात्र हो। केही बनाएर चिडियाखानालाई दिऔं भनेर हामीले यो काम गरेका हौं।’
कलाकारहरूले काठबाट लाटोकोसेरो, कछुवा, हात्ती, गोही, माछा र चरा गरेर ६ वटा जनावरका आकृति बनाइसकेका छन्। उनीहरूले काम गर्दा यही जनावर बनाउँछु भनेर सोचेर बनाएका होइनन्। भेटिएका रूखका मुढाका आधारमा जनावरका आकृतिमा ढालिएको ताम्राकारले बताए।
‘एउटा लामो काठ भेटियो, त्यो त गोहीलाई ठीक हुन्छ भनेर गोही बनायौं। रूखको जराको तल्लो भाग मोडिएको थियो, त्यसलाई कछुवा बनाइदियौं। एउटा काठ हेर्दा हात्तीजस्तो थियो, हात्तीको रूप दियौं,’ उनले भने, ‘काठको आकार जस्तो छ, त्यही अनुसारको जनावर आकृति दिएका हौं।’
यहाँ काम गर्नका लागि चिडियाखानाको तर्फबाट ज्यावल (बुट्टा कुँद्ने सामग्री) का लागि बाहेक कुनै सहयोग भएको छैन। कलाकारहरू स्वेच्छाले काम गरिरहेका छन्। कति त सामाजिक संजालमा फोटो देखेर पनि सहयोग गर्न आएका छन्।
‘यहाँ काठकै काम गर्ने कलाकार भन्ने छैनन्। धेरै त पेन्टिङ गर्ने कलाकार छन्। म आफैं पनि पेन्टिङको कलाकार हुँ,’ ताम्राकारले भने, ‘एक–दुईजना मात्र काठ र मूर्तिको काम गर्ने कलाकार छन्। कोही कलाकार हाेइनन् तर कलामा जानकारी भएका मान्छे पनि छन्। आफूसँग सिप छ र काम गर्ने इच्छा छ भने जाे पनि हामीसँग जोडिन सक्नुहुन्छ।’
उनीहरूको हालको योजना यही ६ जनावरका आकृतिलाई पूरा गरेर चिडियाखानालाई हस्तान्तरण गर्ने हो। त्यसलाई दिर्गकालसम्म नबिगारी राख्न के गर्न सकिन्छ भन्नेबारे पनि अध्ययन भइरहेको ताम्राकार बताउँछन्।
कलाकारहरूको मिहिनेत र सिपले चिडियाखानामा काठका जनावरहरू बनाइँदा सकारात्मक सुनिन्छन् चिडियाखानाका कार्यलय प्रमुख राजकुमार गुरूङ।
‘हामीले त चिडियाखानाका खेर गइरहेका काठमा मुढाहरूलाई यसरी पनि प्रयोग गर्न सकिन्छ भन्ने सोचेकै थिएनौं। वहाँहरूले हामीलाई बाटो देखाइदिनुभयो,’ उनले भने, ‘वहाँहरूले हामीलाई यी कलाकृति हस्तान्तरण गरिसकेपछि हामी यसलाई सुरक्षितसँग राख्नेछौं। यसलाई के–कसरी राख्ने भन्नेबारे भने निर्कियोल भइसकेको छैन।’