पर्दापछाडिको हिरो
उनलाई सानो छँदैदेखि नाच्न मन लाग्थ्यो।
उनका काकाहरु कुमार र दिपक गुरुङ्गले उनलाई नृत्य प्रशिक्षण र प्रतिष्पर्धामा अघि सार्थे। रेडियोमा गीत बज्दा फुरुंग पर्दै नाच्थे। प्रतियोगिताहरूमा धेरै जसो प्रथम नै हुन्थे। पुरस्कार बोकेर दंग पर्दै घर फर्किन्थे।
करिब दुई दशकअघि इलाम बजारबाट ३६ किलोमिटर टाढा सन्दकपुरमा जगदीश गुरुङका दिन यसरी नै बित्थे। समयसँगै उनले आफ्नो रूचिलाई प्रतिभामा बदले। अहिले उनी सफल कोरियोग्राफर हुन्।
धेरैलाई थाहा नहोला, कोरियोग्राफीमा चर्चित नाम जेडी तमू नै जगदीश गुरुङ हुन्।
२९ वर्षको उमेरमा आफ्नो करिअरको खुड्किलो उक्लिसकेका जेडीले आफ्नो बाल्यकाल सम्झिँदै भने, 'नाच्छु नै भन्ने थिएन तर गीत गाउन मन पर्थ्यो। पारि डाँडामा बजाएको गीत सुन्दै म वारि नाच्थेँ, उफ्रिन्थेँ।'
बाल्यकालमा भविष्यबारे कसले पो धेरै सोचेको हुन्छ र! उनले पनि सोचेका थिएनन्। आमाबुबाको चाहनाअनुसार आफूलाई पढाइमै केन्द्रित गरे।
त्यो बेला एसएलसी पहिलो पटकमै पार भइएन भने भविष्य उज्ज्वल बनाउन कठिन हुन्छ भन्ने मान्यता थियो। त्यो दबाबका बीच उनी साढे एक घन्टा हिँडेर स्कुल पुग्थे। जेठो छोरा भएकाले घरायसी कामको जिम्मेवारी पनि बढी नै हुन्थ्यो। घरमै बसेर राम्रो पढाइ हुने छाँट देखिएन।
जेडीले भने, 'घरमा खाना बनाएर, घाँस ल्याएर, गाईवस्तु स्याहारेर मात्र स्कुल जान पाइन्थ्यो। यसरी त पढाइ बिग्रिन्छ भनेर बुबाले मलाई एक जना शिक्षककोमा बस्न पठाउनुभयो।'
२०६४ सालमा एसएलसी दिएपछि उनलाई बुवाले अंग्रेजी भाषा र कम्प्युटर सिक्न झापास्थित मामाघर पठाए। जेडीले त्यही बसेर अंग्रेजी र कम्प्युटर सिक्न थाले। जेडीका मामा रत्न लामा एउटा गुम्बाका प्रमुख थिए। उनले त्यहाँ गिटार र वाद्यवादनका अन्य सामग्री देखेर ती सामग्रीमा आफ्ना औंला नचाउँन थाले। त्यससँगै हरेक शनिबार उनी हलमा फिल्म हेर्न जान्थे। त्यहाँ कलाकारहरू नाचेकाे देख्दा उनलाई आफ्नो शरीर पनि नचाउने हुटहुटी जाग्न थाल्यो।
जेडी झापामै पढे। कक्षा १२ मा पढ्दै गर्दा विर्तामोडको 'मयुर कला केन्द्र' मा नृत्य सिक्न भर्ना भए। बिहान पाँच बजे नै जान्थे। ६ बजे त कलेजै पुग्नु पर्थ्यो।
दैनिक खर्च चलाउन र नृत्य कक्षाको शुल्क तिर्न उनी एउटा निजी स्कुलमा पढाउन थाले। महिनाको दुई हजार पाउँथे। मामाले खाजा खान दिएको पैसा पनि जम्मा गर्थे। पढाउन थाल्नुमा भने अंग्रेजी भाषामा अभ्यस्त हुने उद्देश्य पनि थियो।
नाच सिकिरहेको कुरा उनले कसैलाई भनेका थिएनन्। पछि मामाले थाहा पाए र कुरा घरमा पुग्यो।
'त्यो बेला नाच्न जानुलाई गतिलो काम मानिन्थेन। आमाबुबाको रहर पढाइ राम्रो गरेर छोरो ठूलो मान्छे होस् भन्ने थियो,' जेडीले भने, 'नाच्न जानेर कसैको भविष्य राम्रो बन्छ भन्नेमा भरोसा थिएन।'
नृत्य सिक्नुको अर्थ नाच्न जान्नु मात्रै होइन, यसका अन्य आयाम पनि छन् भन्ने कुरा उनका आमाबुबालाई थाहा थिएन। जेडी भने नृत्यमै आफ्नो भविष्य छ र यसबाट राम्ररी गुजारा चलाउन सक्छु भन्नेमा त्यो बेलैदेखि ढुक्क थिए।
कक्षा १२ को परीक्षा सकिएकै दिन उनी इलाम फर्के। नृत्यको कक्षा पनि सकिएको थियो। एक वर्षसम्म गाउँमा खेतीकिसानी गरेर बसे। फुर्सदमा गाउँठाउँमा भएका मेला र कार्यक्रममा सुटुक्क नाच्न गए। पुरस्कार पनि ल्याए।
त्यो समय सम्झिँदै जेडी भन्छन्, 'विभिन्न कार्यक्रममा पुरस्कार जितेर ल्याउन थालेँ। आमाबुबा र आफन्तलाई पनि नृत्यको महत्व र सम्भावना बुझाउँदै गएँ।'
बिस्तारै उनका लागि घरमा अनुकूल वातावरण बन्दै गयो। उनले कार्यक्रमहरूमा नाच्न जाने अनुमति पाउन थाले तर खर्च नमाग्ने शर्तमा। जेडीले पनि माग्नु परेन, बरू थोरैतिनो कमाइ हुन थाल्यो। आमाबुबालाई पनि दिए।
नृत्यमा उनको सिप खारिँदै गयो। इलाममा उनको प्रशंसा हुन थाल्यो। एक दिन उनलाई झापाबाट उनका नृत्यगुरुद्वय चन्द्र चाम्लिङ र विपिन श्रेष्ठले फोन गरे। चन्द्र अमेरिका जाने तयारीमा थिए। उनले मयुर कला केन्द्र सम्हाल्ने जिम्मेवारी जेडीलाई दिने भए।
जेडीले भने, 'उहाँहरू (चन्द्र र विपिन) ले ममा के देख्नुभयो थाहा छैन। तर मेरो लागि त्यो ठूलो जिम्मेवारी र अवसर थियो।'
आफूले सिकेकै ठाउँमा नृत्य सिकाउन पाउँदा उनी दंग परे। नृत्यगुरु चन्द्रले उनलाई थप तीन महिना प्रशिक्षण दिए र अमेरिका गए। जेडीले एक वर्ष झापा बसेर नाच सिकाए।
मयुर कला केन्द्र सम्हाल्ने जिम्मेवारी दिन बोलाएकाबारे विपिनले सेतोपाटीसँग भने, 'उनी अरूभन्दा दोब्बर मेहनत गर्थे। नयाँ र फरक तरिकाले नाच्थे। उनीप्रति हामीलाई गर्व छ, राम्रो मान्छे छानेछौं।'
प्रशिक्षकका रूपमा काम गर्दा जेडीले आफूलाई अझ खार्दै लाने अवसर पाए। हरेक दिन बिहान तीन बजे उठेर प्रशिक्षणको तयारी गर्थे। नयाँनयाँ शैली र कला पहिल्याउँथे।
प्रशिक्षक हुँदाको समय सम्झिँदै उनी भन्छन्, 'बिहान तीन बजेदेखि एक घन्टा तयारी गर्थेँ। नाच्ने ठाउँ राम्रो थिएन। भत्किएको कंक्रिटको भुइँ थियो। निकै कठिन हुन्थ्यो तर हार मानिनँ।'
नृत्य कक्षा पाँच बजे सुरू हुन्थ्यो। बीचमा पनि अर्को प्रशिक्षणको तयारी गर्नुपर्थ्यो। झापामा आफूले विद्यार्थी, सैनिकदेखि कारागारका कैदीसम्मलाई नृत्य सिकाएको उनी बताउँछन्।
जगदीश गुरुङको अर्को नाम जेडी तमू भएको पनि यही बेला हो। दस वर्षअघि यो नाम उनको साथी काशीले जुराइदिएको थियो।
नृत्य सिकाउन थालेको एक वर्षपछि जेडीलाई आफ्नो कामको क्षेत्र अलि फराकिलो हुनुपर्छ भन्ने लाग्यो। उनी थप प्रशिक्षणका लागि भारतको कोलकाता पुगे। उनका गुरु विपिनले कलकत्ताको 'पदतिक डान्स क्लब' मा नृत्य सिकेका थिए। उनलाई पनि त्यहाँ जान सुझाए।
त्यहाँ जेडी दैनिक पाँच घन्टा प्रशिक्षण लिन्थे। केही घन्टा प्रशिक्षण दिन्थे पनि। क्लबले प्रशिक्षार्थीको क्षमताअनुसार 'सी', 'बी' र 'ए' गरी तीन श्रेणीमा वर्गीकरण गर्थ्यो। जेडी तीन महिनामै 'ए' मा पुगे। हिपहपबाट सुरू गरेर, बलिउड, कन्टेम्पोररी, ज्याज, ब्याले, कथक लगायत नाच सिके।
तीन वर्ष कोलकाता बसेर फर्केपछि उनले कन्टेम्पोररी नृत्यलाई प्राथमिकता दिए। उनका अनुसार यसमा वर्तमान समयमा चलनचल्तीका नृत्य सिकाइन्छ। आफ्नो इच्छाअनुसार निःसंकोच खुला रूपमा नाचिन्छ।
यसबारे प्रस्ट पार्दै उनले भने, 'म जीवनलाई एकदमै नजिकबाट हेर्छु। हाम्रो समाज, संस्कृति र कला हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ। यी सबै तत्वको प्रतिनिधित्व कन्टेम्पोररी कलाले गर्छ। यसै कारण मैले यही विधा बढी आत्मसात गरेको हुँ।'
सन् २०१६ मा उनले मुम्बईको टेरेन्स लेविस एकेडेमीबाट कन्टेम्पोररी नृत्यमा डिप्लोमा गरे। उनी भन्छन्, 'नेपालमा कन्टेम्पोररी नृत्यमा डिप्लोमा गर्ने मै पहिलो व्यक्ति हुँ कि!'
उनले भारतमै पनि काम गर्ने अवसर पाएका थिए। तर नेपालमै आफ्नोपन पाउँछु भनेर फर्केको उनी बताउँछन्।
केही समयअघि उनी रियालिटी कार्यक्रम 'डान्सिङ स्टार नेपाल' मा पनि देखिएका थिए। उक्त प्रतियोगितामा सेलेब्रेटीसँग जोडी बाँधेर नाच्नु पर्छ। जेडी पर्दापछाडिका कलाकार हुन्, उनलाई पर्दामा देखिने उत्ति साह्रो रहर नभएको बताउँछन्।
'धेरै वर्ष पर्दापछाडि काम गरेँ, मलाई कहिल्यै पनि पर्दामा देखिन मन भएन। आमाबुबालाई चाहिँ छोरो पर्दामा देखिए हुन्थ्यो भन्ने रहेछ,' उनले भने, 'आमाबुबाको चाहना पूरा गर्नै म डान्सिङ स्टारमा सहभागी भएको हुँ। साथीभाइले पनि भनेका थिए।'
छोरालाई टेलिभिजनमा देख्दा आमाबुबा खुसी भए। प्रतियोगी भएका बेला आमाबुबाले उनका लागि भोट पनि मागे।
'कुनै बेला आमाबुबा मैले नाचेको मन पराउनु हुन्नथ्यो। अहिले राम्रोसँग काम गर, हिरो बन, हामी तिम्रो साथमा छौं भन्नुहुन्छ,' जेडीले पनि खुसी हुँदै सुनाए।
हाल जेडी काठमाडौंका केही स्कुलमा नृत्य सिकाउँछन्। रंगमञ्चका लागि पनि काम गर्छन्। फिल्मी कलाकारलाई नाच्न सिकाउँछन्। म्युजिक भिडिओमा कोरियोग्राफी गर्छन्। अनलाइनमार्फत् विदेशी विद्यार्थीहरूलाई पनि सिकाउँछन्।
पर्दापछाडि बसेर आफ्नो सपना पूरा गरिरहेका उनी सन्तुष्ट छन्, भन्छन्, 'जहिल्यै राम्रो कलाकार बन्छु भन्ने सोचेर अघि बढेँ। नृत्यको हुटहुटी लिएर भौंतारिएकालाई नाच्न सिकाउने सपना पूरा गर्दैछु।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
पर्दापछाडिका हिरो शृंखलाका अन्य स्टोरीहरूः
दुई दशकदेखि कलाकारहरूलाई खाना-खाजा खुवाइरहेका कुमार दाइ
आजकाल कसले ढोग्छ र मेकअप बाकसलाई!
फिल्मका चर्चित पोस्टरपछाडिका 'हिरो' भीमसेन (भिडिओ)