पर्दापछाडिका हिरो
जिरा फुराएको रायोको साग, चार वटा रोटी अनि कचौरामा दही। गायक पुष्पन प्रधानले रोटी टुक्रा पारेर खाँदै सोधे, 'कुमार दाइ, सागमा प्याज त हालेको छैन नि है?'
भान्साबाट उत्तर आयो, 'छैन सर, ढुक्कले खानुस्।'
त्यस दिन काठमाडौंको उत्तरी क्षेत्रको टोखामा मधुरो घाम लागेको थियो। 'भ्वाइस क्लब' को अडिसनका लागि कुमारले अस्थायी भान्साघर बनाएका थिए। त्यहीँ रोटी खाँदै थिए पुष्पन। रोटीको खाजा तयार गर्ने भान्से थिए हेम कुमार शाह।
पुष्पन र उनीजस्ता धेरै कलाकारलाई झन्डै दुई दशकदेखि खाना र खाजा बनाएर खुवाउँदै छन् कुमार।
कुमार करिब २५ वर्षअघि साथी नन्दु मगरको साथ लागेर पहिलोपटक फिल्म 'मिस्टर रामकृष्णे' को छायांकनमा पुगेका थिए। सिनेमा हलमा मात्र देखेका कलाकार नाचेको र बोलेको आफ्नै सामुन्नेमा देख्छु भन्ने त कुमारले कल्पना पनि गरेका थिएनन्।
त्यसै दिन फिल्म निर्देशक एवं निर्माता अशोक शर्माले कुमारलाई अचानक सोधे, 'फिल्ममा सहयोगी भएर काम गर्छौ?'
'सुटिङमा जम्मा भएका कलाकार र प्राविधिकहरूले अह्राएका काम गर्ने, पानी र खाजा बाँड्ने, भाँडा माझ्ने इत्यादि काम थियो,' कुमारले सुनाए।
काभ्रे जिल्लाको मंगलटारमा २०३२ सालमा जन्मेका हुन् कुमार। उनी ६ वर्षका हुँदा छोराछोरी लिएर बाबुआमा मकवानपुर बसाइँ सरे। आमाबुबाले खेतबारीमा काम गरेर कुमारलाई ६ कक्षासम्म पढाए। यसपछि पढ्ने अवसर मिलेन। घरमै काम सघाए।
२०५० सालको एक दिन गाउँले दिदीको पछि लागेर काठमाडौं पसे।
कुमारले काठमाडौंमा पाँच वर्ष गलैंचा बुन्ने काम गरे। गलैंचाको कामले जिउ पाल्न कठिन थियो। यही बीचमा उनले बिहे गरे। अब झन् कडा आर्थिक समस्या आइलाग्यो।
यही समय कुमार फिल्मको सुटिङ हेर्न गएका थिए। उनले एउटा कोठाभित्र गलैंचा बुनेर बस्नुभन्दा फिल्मी टिमको भाँडा माझ्नु उचित ठाने।
कुमारले अशोक शर्मालाई तुरून्तै भने, 'हुन्छ, म काम गर्छु।'
एउटा कोठामा खुम्चेर गलैंचा बुन्नुभन्दा फिल्मी कलाकारसँग काम गर्नु तुलना गर्नै नमिल्ने गरी उम्दा भयो। आफ्नै साथीहरूसँग काम गरेजस्तो सजिलो भयो। संगत पनि राम्रो भयो।
'मलाई त आफ्नै घरमा काम गरेजस्तो लाग्यो। कलाकारहरू आफूलाई ठूलो मान्छे नठान्ने, उनीहरूको व्यवहारले नै काम गर्न मन लाग्ने बनायो,' कुमारले भने, 'मजस्तो पढाइ–लेखाइ नभएको व्यक्तिलाई पनि कलाकारहरू सम्मान दिन्थे।'
'मिस्टर रामकृष्णे' मा राजेश हमाल, करिश्मा मानन्धर लगायत कलाकार थिए। उनीहरूका नजिकमा रहेर काम गर्दा कुमार खुसी भए। कामको पारिश्रमिक कति पाउने भन्ने टुंगो थिएन। पछि कलाकारहरूले खुसीले पैसा दिए। त्यो पैसाले उनले कोठा भाडा तिरे।
सुरूका केही दिन यसरी नै बिते। उनले 'परदेशी', 'जिन्दगानी', 'अप्सरा', 'सहर' लगायत फिल्ममा यस्तै सहयोगीका रूपमा काम गरे। कामबाट आम्दानी पनि हुन थाल्यो।
यही क्रममा फिल्म 'अर्जुन' को काम हुँदै थियो। निर्देशक टंक लम्सालले कुमारलाई खाना बनाउने प्रस्ताव राखे। कुमार अलमलमा परे। उनलाई खाना बनाउने कामको मेलोमेसो थिएन।
कुमारको मुखबाट फुत्त निस्कियो, 'सर, मलाई रोटी त बनाउन आउँदैन, खाना कसरी बनाउनु र! सक्दिनँ होला।'
टंकले सम्झाउँदै भनेछन्, 'सकिहाल्छौ नि, गर्दै गएपछि जानिन्छ, तिमी सक्छौ।'
टंकले यति भनेपछि कुमार अघि सरे। भोलिपल्टदेखि नै सुटिङ टिमलाई खाना बनाउने भए। त्यो बेला दाउरामै खाना बनाउनुपर्थ्यो। कुमारले सकेसम्म सिप लगाएर पकाए। पहिलो दिनमै कलाकार, निर्देशक, प्राविधिक सबै खुसी भए, खाना मन पराए।
'अर्जुन' मा पनि हिरो थिए राजेश हमाल। कुमारका अनुसार राजेश सुटिङका खाना खाँदैन थिए। खाएर आएको भन्थे। अन्डा मात्रै खान्थे।
'त्यो पनि बनाएर दिने काम मेरै थियो,' उनले सम्झिए।
बिस्तारै कुमार फिल्मी टिमलाई खाना बनाउने मान्छे अर्थात् कुकका रूपमा चिनिन थाले। सुटिङ युनिटमा कुक भइदिन अफर आउन थाल्यो। 'अर्जुन' पछि उनी 'गाजल' र 'मितिनी' टिमका लागि कुक भए। यही कामका लागि काठमाडौं बाहिर पनि गए।
फिल्मी टिमलाई खाना बनाएर खुवाउनमा एक किसिमको मजा थियो। कहिलेकाहीँ हैरानी पनि हुन्थ्यो।
उनले एक दिनको कष्ट सम्झिए, 'एउटा फिल्मका लागि गाउँ गएका थियौं। त्यहाँ पानी पर्यो। बाँसको दाउरा थियो। चामलको बोरा पनि भिजेछ। त्यस दिन साह्रै दुःखले आगो बालेर खाना बनाएँ।'
फिल्मी टोलीसँग हिँडेपछि कहाँ, कुन ठाउँमा खाना बनाउनु पर्छ भन्ने टुंगो हुँदैन। एक पटक जंगलमा खाना बनाएको पनि उनलाई सम्झना छ।
कुमारका अनुसार कलाकारको असल व्यवहारले सबै कष्ट बिर्साइदिन्थ्यो।
उनी आफूले खाना पकाएर खुवाएका कलाकारलाई जसरी सम्झिन्छन्, उनले पकाएको खाना खाने धेरै कलाकारले पनि उनलाई बिर्सिँदैनन्।
यस्तै कलाकार हुन् रमेश उप्रेती।
अभिनेता रमेशका अनुसार कुमार निकै हँसिला व्यक्ति हुन्। उनको हाँसोले खानाको माहोल रमाइलो बनाउँछ।
'कुमार दाइ मिठो खाना बनाउनु हुन्छ। उहाँले बनाएपछि जस्तो भए पनि खान मन लाग्ने,' रमेशले कुमारलाई सम्झिँदै सेतोपाटीसँग भने, 'उहाँ अरूलाई हँसाइराख्न मन पराउनु हुन्छ। रिसाएको त कहिल्यै देखिएन।'
खाना खाने समयमा मात्र भेट हुने भए पनि कुमारसँग आफ्नो दाजुभाइ जस्तै सम्बन्ध रहेको रमेश बताउँछन्।
अभिनेत्री करिश्मा मानन्धर पनि उनको प्रशंसा गर्छिन्। करिश्माका अनुसार सुटिङका क्रममा खानाको निकै ठूलो महत्व हुन्छ।
'भान्सामा काम गर्ने दाइहरू कडा परिश्रम गर्नु हुन्छ। बिहान चाँडै उठ्ने उहाँहरू, सबैभन्दा ढिलोसम्म काम गर्ने पनि उहाँहरू,' करिश्माले भनिन्, 'मलाई उहाँ (कुमार) को बानी मन पर्छ।'
भान्सामा काम गर्नेहरूको श्रमको तुलनामा पारिश्रमिक भने थोरै भएको करिश्माको भनाइ छ।
कुमारले रमेश, करिश्मा, राजेश लगायत सयौं कलाकार र सुटिङ टिमका लागि खाना बनाएको दुई दशक भयो। को कलाकारलाई कस्तो खाना मन पर्छ भन्ने उनलाई खुटैखुट थाहा छ।
उनका अनुसार रमेश उप्रेती खानामा डल्ले खुर्सानी मन पराउँछन्। दिलीप रायमाझी आफैं खाना पस्किन अघि सर्छन्। राजेश हमाललाई कफी मन पर्छ।
'नेपाली कलाकारहरू धेरै सजिला हुनु हुन्छ,' ४७ वर्षीय कुमार भन्छन्, 'उहाँहरूले म हिरो, हिरोइन हो भनेर घमण्ड गर्नु भएन। भान्सामा जे पाकेको छ, त्यही मिठो मानेर खानुभयो।'
कुमारले पस्किने मिठो खानाका पछाडि उनका आँखा पोलेका हुन्थे। दाउरा राम्रो नपर्दा सास्ती हुन्थ्यो। फिल्म 'सन्तान' देखि भने उनले ग्यास चुलोमा खाना पकाउन थाले। यसअघि फिल्मका निर्माताले अड्कलेर ल्याएको सामानबाट खाना तयार गर्थे। 'सन्तान' मा भान्साको सामान जुटाउने जिम्मेवारी पनि उनैले पाए। यसो गर्दा झन् सजिलो भयो।
'पहिलाजस्तो फुफु गरेर धुवाँ खाएर आगो सल्काउन नपरेपछि खाना बनाउन छिटो हुन थाल्यो,' कुमारले भने, 'आफैं सामान अड्कलेर ल्याउने भएपछि सकिने डर पनि भएन।'
एक पटक कुमारले भारतको आग्रामा छायांकन भएको एउटा भोजपुरी फिल्ममा पनि भान्से हुने अवसर पाए। यसरी जान पाउँदा निकै खुसी भए। तर त्यहाँ उनको अनुभव त्यति सुखद रहेन।
'नेपालमा जस्तो सुटिङ टोलीका सबैलाई एउटै खाना बनाएर नहुने रहेछ। कलाकार र अन्य कर्मचारीलाई छुट्टाछुट्टै बनाउनु पर्ने,' उनले त्यो अनुभव सुनाए, 'खानामा थोरै गडबडी हुँदा पनि गाली गर्थे। खाना बनाउनेको कुनै अस्तित्व नै नभएजस्तो भयो, हेपाहा व्यवहार।'
उताबाट फर्केपछि उनले आफ्नो देशमा मात्रै काम गर्ने अठोट गरे।
हालसम्म कुमारले दुई सयभन्दा बढी फिल्ममा सुटिङ टिमका लागि खाना बनाउने काम गरेका छन्। उनी फिल्ममा मात्र सीमित छैनन्। म्युजिक भिडिओ र रियालिटी प्रदर्शनमा पनि भान्से भएर काम गर्छन्।
सुटिङ टिमका लागि खाना बनाउनु नै कुमारको पेसा भएको छ। दिनको पचास रूपैयाँबाट काम थालेका उनी अहिले दिनको पच्चीस सय रूपैयाँ लिन्छन्। यसैको आम्दानीले उनको घरव्यवहार चलेको छ। दुई सन्तानलाई पढाउन सकेका छन्। छोरालाई अस्ट्रेलिया पठाएका छन्। छोरी नेपालमै छिन्।
फिल्म क्षेत्रमा जोडिनुअघि कुमारलाई फिल्मका हिरो र हिरोइन मात्रै कलाकार लाग्थ्यो।
'संगतबाट थाहा पाएँ, कलाकारको मात्रै के कुरा; निर्देशक, प्राविधिक र अन्य सबै सहयोगीहरू आ-आफ्नो क्षेत्रका हिरो–हिरोइन रहेछन्,' कुमारले भने।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
पर्दापछाडिका हिरो शृंखलाका अन्य स्टोरीहरूः
आजकाल कसले ढोग्छ र मेकअप बाकसलाई!
फिल्मका चर्चित पोस्टरपछाडिका 'हिरो' भीमसेन (भिडिओ)