टिकटक साना केटाकेटीदेखि पाका हजुरबा-आमासम्मको मनोरञ्जन थलो बनेको छ भन्दा फरक पर्दैन। अनि टिकटक स्टार हुँदै अन्य क्षेत्रमा ख्याति कमाउनेहरूको जमात पनि बढ्दै छ।
यिनैमध्ये एक हुन् सानी नानी समाइरा थापा मगर। आगामी मंसिर ९ गते समाइरा ३ वर्ष पुग्छिन्। टिकटक बनाउन थालेको ३ महिनामै उनको फ्यान फलोइङ पनि ३ लाख पुग्ने दौडमा छ।
समाइराको अभिनयले धेरैलाई लोभ्याएको छ। उनका हाउभाउ हेरिरहूँ लाग्ने छन्। त्यसैले त साथीसंगी नचिन्ने उमेरकी समाइरा हजारौं फलोअर कमाएर टिकटक संसारमा 'क्युट' सेलेब्रेटी बनेकी छन्।
उनको चर्चा नेपाली प्रयोगकर्तामाझ मात्र सीमित छैन। छिमेकी मुलुक भारतमा पनि उनका प्रशंसक उत्तिकै छन्। यसको उदाहरण सोमबार भारतीय अखबार 'द इन्डियन एक्सप्रेस' को एउटा स्टोरीले पनि दिन्छ।
इन्डियन एक्सप्रेसले 'नेपालकी यी सानी नानीले आफ्ना हाउभाउबाट सबैको मन जितेकी छन्' भन्दै समाइराका बारेमा छोटो स्टोरी गरेको छ।
समाइराको यो यात्रामा लकडाउन सहयोगी बनेको उनकी आमा सबिना बताउँछिन्।
'पहिलो चरणको लकडाउनमा आमाछोरीको टाइम पास भयो। म अलिअलि भिडिओ बनाउँथेँ। नानीलाई नजाने पनि नाचम् भन्थेँ,' समाइराको आनीबानीबारे सबिना भन्छिन्, 'टिकटक नबनाउँदा पनि गीत बजेपछि कम्मर मर्काइहाल्ने, खुट्टा उफारिहाल्ने उसको बानी छ।'
पछि सबिनाको टिकटक प्राविधिक कारणले बिग्रियो। उनले समाइराकै नाममा एकाउन्ट बनाएर भिडिओ पोष्ट गर्न थालिन्। त्यसयता भने उनी चर्चामा छिन्।
सबिनाका अनुसार समाइरा अभिनित अधिकांश भिडिओले एक लाखभन्दा धेरै लाइक पाएका छन्। एकाधबाहेक नराम्रा कमेन्ट छैनन्। अधिकांशले उनको अभिनय र कलाको प्रशंसा गरेका छन्।
उनी थप्छिन्, 'अहिले त उसको हाउभाउ नै यस्तो छ कि, जो कोहीले मन पराउँछ। कसरी जानेको हो, म आफैं दंग पर्छु।'
समाइराको टिकटक भिडिओका कमेन्ट बक्स निकै मीठामीठा कमेन्टले भरिएका छन्। दर्शकले गरेका केही कमेन्ट यस्ता छन्–
'म पाकिस्तानदेखि हेरिरहेको छु। ठूलो फ्यान हुँ।'
'नानीको अभिनय देखेर मेरो धड्कन रोकियो।'
'प्यारी छोरीलाई हेर्न टिकटक चलाउँछु।'
'तिमीलाई देखेर म पागलै भएँ।'
'एक जनाले त यस्तै छोरी मेरा लागि पनि जन्माइदिनू न भनेर समेत कमेन्ट गर्नु भएको थियो। त्यो पढ्दा मेरोजस्तो छोरी कसैको छैन जस्तो लाग्यो,' सबिना समाइराकी आमा हुनु गर्व भएको महशुस गर्छिन्।
समाइरा सबिनाको पहिलो सन्तान हुन्।
'आफ्नो सन्तान नाचोस्, गाओस्, रमाओस् भन्ने लाग्ने रहेछ। त्यसैले छोरीलाई भरपुर टिकटकमा रमाउन दिएकी हुँ,' उनी भन्छिन्।
सबिनाका अनुसार चार–पाँच महिनामै समाइराको अभिनय क्षमतामा निखार आएको छ। पहिले भिडिओ बनाउँदा ४–५ चोटि खिच्नुपर्थ्यो। हिजोआज एकैपटकमा हुन्छ। अझ अचेल त कुनै नयाँ गीत आयो भने सुनेर आफैं 'स्टेप' सिक्दै के-कसो गर्ने तयारी गर्छिन् रे।
'उसलाई नाचूँनाचूँ लाग्ने गीत मनपर्छन्। सिरियस गीत रूचाउँदिनन्। त्यस्तोमा अभिनय गर्न पर्यो भने उनी आफैं दुखी हुन्छिन्। दुःखी हुने काम किन लगाउनु,' सबिना भन्छिन्।
धेरै प्रयोगकर्ताझैं समाइराका लागि पनि टिकटकले आम्दानीको बाटो खोलिदिएको छ।
कोरोना महामारीले नबिथोलेको भए यसैपालि तीजमा समाइरा रातो पहिरनमा नाच्दै गरेको गीत हेर्न पाइने थियो। तीज गीतमा सुटिङ हुन नसके पनि अरू गीतका लागि महामारीलगत्तै सुटिङ सुरू हुने सबिनाले जानकारी दिइन्।
'समाइराका लागि गीत तयार भइसकेको छ। लकडाउनले रोकिएको हो,' उनले भनिन्, 'भिडिओको लागि नानीले घरैमा तयारी गरिरहेकी छिन्।'
सबिनाका अनुसार गायक दुर्गेश थापाले पनि समाइरालाई आफ्नो म्युजिक भिडिओमा खेल्ने प्रस्ताव गरेका थिए। यो दुई महिना अघिको कुरा हो। समाइराको उमेर र बाहिरी मान्छेसँग घुलमिल नभएकाले आफैंले हुँदैन भनेको सबिनाले बताइन्।
बाहिर माहोलमा अलि नझ्याम्मिएको बताउँदै उनले भनिन्, 'उमेर बढ्दै गएपछि उसलाई पनि सजिलो होला। तर अहिले नै धेरै गीतमा अभिनय गराउने सोचेका छैनौं।'
सानै उमेरमा छोरीले आफ्नो प्रतिभामार्फत नाम कमाउँदा समाइराका आमाबुवा दंग छन्। अहिलेजस्तै देश-विदेशबाट कमाएको चर्चा बचाइराख्न भोलिका दिनमा छोरीको रूचि भए यही क्षेत्रमा अघि बढाउने उनीहरूको सोच छ।
'यो उमेरमा हामीलाई सिँगान पुछ्न पनि आउँदैन थियो होला, छोरीलाई संसारले हेरिरहेको छ,' सबिना भन्छिन्, 'नानीले यसैमा रूचि देखाइन् भने यही बाटोमा हिँड्न दिने हो। रूचि फेरियो भने भविष्य अर्कैतर्फ मोडिएला।'
उसो त कतिपयले सानै उमेरमा आमाबुवाले जबरजस्ती केटाकेटीलाई अभिनय गर्न लगाएको टिप्पणी पनि गर्छन्। तर अहिले समाइराले जे जति अभिनय गर्छिन्, सबै उसैको मर्जीमा भएको सबिना बताउँछिन्। समाइराले मनैदेखि चाहेको भएर अभिनय पनि राम्रो भएको उनको भनाइ छ।
'मैले जबरजस्ती गराएको हुन्थ्यो भने उसको अनुहारमा यस्तो एक्सप्रेसन आउँदैन थियो होला। अभिनय नै फिक्का हुन्थ्यो होला,' सबिना भन्छिन्, 'समाइराले मनैदेखि चाहेको भएर अभिनय राम्रो भएको हो।'
आफूले गीत घोकाएर, स्टेप सिकाएर अभिनय गर्न लगाएको नसम्झिन पनि उनी दर्शकलाई अनुरोध गरिन्। छोरीको खुसी र रमाइलोका लागि भिडिओ बनाइरहेको उनी बताउँछिन्।
भन्छिन्, 'समाइराले अलिअलि कमेन्ट पढ्न जानेकी छन् अचेल। आफ्नै भिडिओ हेरेर रमाउँछिन् पनि। सन्तानको खुसीभन्दा ठूलो के छ र!'
सबै तस्बिर र भिडिओ सौजन्यः सबिना थापा