गुलजारको परिचय विशाल छ। सिनेमा क्षेत्रसँग विभिन्न भूमिकामा आधा शताब्दीभन्दा लामाे समयदेखि जोडिएका उनले आजकै दिन ८६ वर्ष पूरा गरेका छन्। यो अवधिमा उनका सृजनात्मक कामका कारण गुलजार नाम लिनासाथ हामी स्वत: उनले रचेका मीठा गीत, कविता वा उनले निर्देशन गरेका राम्रा सिनेमा सम्झने भइसकेका छौं। यही नै उनको सफलता हो।
विमल रायको बंदिनी (१९६३) फिल्मबाट गीत लेखन र सहायक निर्देशकका रुपमा सिनेमा क्षेत्रसँग जोडिनुअघि उनी मोटर ग्यारेजमा काम गर्थे। कयौं महत्वपूर्ण फिल्ममा पटकथा र संवादसमेत लेखेका गुलजारले सुरुआती चरणमा उनले निर्देशक विमल राय, हृषिकेष मुखर्जी, असित कुमार सेनजस्ता दिग्गज निर्देशकहरुको सामीप्यमा रही सहायक निर्देशकका रुपमा काम गरे।
सन् १९७१ मा सार्वजनिक 'मेरे अपने' उनले निर्देशन गरेको पहिलो फिल्म हो। 'आँधी', 'मौसम', 'खुशबु', 'परिचय', 'लेकिन', 'कोशिश', 'माचिस', 'नमकिन', 'अचानक', 'लिवास', 'अंगुर', 'किताब', 'हुतुतु' आदि उनका महत्वपूर्ण फिल्म हुन्। फिचर फिल्ममा जस्तै टेलिफिल्म, टेलिशृंखला, वृत्तचित्र र छोटा फिल्मसमेत निर्देशन गरेका उनले आफ्नो कामबाट विभिन्न प्रतिष्ठित राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरु प्राप्त गरेका छन्।
उनले निर्देशन गरेको ‘मिर्जा गालिब’ टेलिफिल्मले बहुतर्फी प्रशंसा पाएको थियो। ए आर रहमानको संगीतमा उनले लेखेको 'स्लमडग मिलेनियर'को 'जय हो' बोलको गीतले ओस्कार अवार्डसमेत पाएको थियो।
गुलजारको जन्म हालको पाकिस्तानमा पर्ने दीना गाउँमा भएको थियो। भारत पाकिस्तान विभाजनका मारलाई नजिकबाट देखेका भोगेका उनले आफ्ना अन्तर्वार्ताहरुमा आफ्नो मन मस्तिष्कमा त्यसको गहिरो असर परेको बताउँदै आएका छन्।
विभाजनपछि भारतको पञ्जाब अमृतसर हुँदै मुम्बई पुगेका गुलजारका गीत र कवितामा जस्तै फिल्ममा पनि आफ्नो शैली निर्माण गरेका छन्। तडक भडक र लार्जर द्यान लाइफभन्दा सामान्यजस्ता लाग्ने तर महत्वपूर्ण अर्थ राख्ने पात्र र विषयमा फिल्म बनाउने गुलजार निर्देशकका रुपमा सन् १९७० र ८० को दशकमा बढी सक्रिय रहे।
सिद्धहस्त गीतकार गुलजारका फिल्ममा विषयवस्तुसँगै संगीत, संवाद र विम्बहरुको कलात्मक संयोजन भेटिन्छ। समाज वा अतीतबाट लखेटिएका पात्रहरुको संवेदना उतार्ने उनको सिप यो सूचीमा परेका फिल्महरुमा पनि सहजै महसुस हुन्छ।
कोशिश (१९७२)
गुलजार र सञ्जीव कुमारले 'काेशिश', 'आँधी', 'मौसम', 'नमकिन', 'अंगुर'जस्ता महत्वपूर्ण फिल्ममा सहकार्य गरेका छन्।
उनीहरूबीचकाे प्रारम्भकालीन सहकार्य 'कोशिश' सुन्न र बोल्न नसक्ने जोडीको प्रेमकथामा बनेको छ। यो गम्भीर विषयमा बनेको सरल फिल्म हो।
फिल्ममा आरती र हरि दुवै सुन्न र बोल्न सक्दैनन्। उनीहरू सांकेतिक भाषा मात्रै बोल्छन् र बुझ्छन्। एकदिन बजारमा सामान किन्न गएका बेला आरतीलाई दुई जना फटाहा केटाहरूले जिस्क्याउँछन्। त्यही बेला बजार गएका हरिले आरतीलाई घरसम्म पुर्याउन साथ दिन्छन्।
उनीहरूको यो आकस्मिक भेट नियमित भेटमा बदलिन्छ। प्रेम र विवाह हुन्छ। तर उनीहरूको जीवनसंघर्ष यत्तिमै सकिँदैन।
दैनिक जीवनमा बोल्न-सुन्न नसक्दा अपहेलना सहेको यो दम्पत्तीले सन्तान हुर्काउने बेला नसोचेको कष्ट सहनु पर्छ। जिन्दगीका अड्चनहरू फरक तरिकाले सुल्झाउने बानी परेका यी दुई पात्र सानोतिनो दुःखमा आत्तिहाल्ने खालका भने हुँदैनन्। बरू ससाना कुरामा खुसी खोज्ने र जीवन सुन्दर बनाउन प्रयास गर्न अभ्यस्त भइसकेका हुन्छन्।
समाजमा अरूभन्दा अलग भएर बाँच्ने यी दुईलाई गुलजारले फिल्ममा दया र सहानुभूतिको पात्र बनाएका छैनन्। बरू उनीहरूको बोल्ने र संवाद गर्ने तौरतरिकालाई निकै रोचक ढंगले देखाएका छन्।
जीवनको सौन्दर्यलाई फरक तरिकाले आत्मसात गर्ने कोशिश गरेका यी पात्रको कथाले दर्शकलाई एउटा अलग संसारमा पुर्याउँछ। फिल्मका दुई मुख्य पात्रलाई प्रतिनिधि बनाई भीडमा अलग जीवन बाँचिरहेका मान्छेको संवेदना बुझ्न यो फिल्म उपयोगी छ।
फिल्म राम्रो बनाउन कलाकारले गरेको कामले महत्वपूर्ण भूमिका खेलेको छ। यसमा जया भादुरी र सञ्जीव कुमार दुवैको उम्दा अभिनय देख्न पाइन्छ। सञ्जीव कुमारले यो फिल्ममा गरेको अभिनयका लागि राष्ट्रिय पुरस्कार नै पाएका थिए।
फिल्मको चुस्त स्क्रिनप्लेका लागि गुलजारलाई पनि राष्ट्रिय पुरस्कार दिइएको थियो। रमाइलो, सरल र अर्थपूर्ण फिल्म हेर्न चाहने दर्शकलाई कोशिश एउटा गज्जबको खुराक बन्न सक्छ।
आँधी (१९७५)
सञ्जीव कुमार र सुचित्रा सेनको मुख्य भूमिका रहेको 'आँधी' गुलजारको एउटा महत्वपूर्ण फिल्म हो। फिल्ममा सुचित्रा सेन आरती देवी र सञ्जीव कुमार जेकेको भूमिकामा छन्।
आरती देवी चुनाव लड्ने तयारीमा रहेकी नेता हुन्। चुनाव प्रचार सिलसिलामा उनी आफ्नो टोलीसहित एउटा होटलमा बस्छिन्। त्यही क्रममा होटलका मेनेजर जेकेसँग उनको नौ वर्षपछि भेट हुन्छ।
यो भेटसँगै दर्शकले उनीहरूको प्रेम, विवाह, अन्तरविरोध र विग्रहको कथा थाहा पाउँदै जान्छन्। फ्ल्यासब्याक र वर्तमानका घटनाक्रम सँगसँगै बुनिएको यो फिल्मको पृष्ठभूमिमा राजनीति भए पनि अन्तर्यमा दुई पात्रबीचको प्रेमको कथा छ। फिल्ममा राजनीतिक आँधी र मनभित्रको आँधीको कथा समानान्तर रूपमा अघि बढ्छ र एकै ठाउँमा आएर मिसिन्छ।
यी दुई पात्र कसरी भेटिए र कुन परिस्थितिमा, के कारणले छुट्टिएका थिए भन्ने जिज्ञासाले दर्शकलाई बाँधी राख्छ।
वर्षौंपछि भेटिएका यी पात्र उमेरले पाका भइसकेका हुन्छन्, तर आफ्नो प्रेम लुकाउन सक्दैनन्। जीवनको खास मोडमा वैचारिक फाटो आएर अलग भएका यी दुई पात्र के फेरि सँगै बाँच्लान्? वा, स्नेह र सहानुभूतिका बावजुद उनीहरूले अलग बाँच्ने पुरानै निर्णय कायम राख्लान्? थाहा पाउन पूरै फिल्म हेर्नु पर्छ।
भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र उनका श्रीमानका कथामा आधारित भनेर चर्चामा आएको यो फिल्म इन्दिरा गान्धीले नै लगाएको संकटकाल बेला प्रतिबन्धित भएको थियो।
जुनसुकै भूमिकामा आफूलाई सिद्ध गरेका अभिनेता सञ्जीव कुमार आफ्नो भूमिकामा उत्तिकै जमेका छन्। आँधीको अभिनयका लागि उनले उत्कृष्ट अभिनेताको फिल्म फेयर अवार्ड जितेका थिए। फिल्म फेयर अवार्डमा आँधी फिल्म समीक्षकहरूको नजरमा त्यो वर्षकै उत्कृष्ट घोषित भएको थियो।
फिल्ममा राजनीतिमा कटिबद्ध युवती र प्रौढ महिलाको भूमिकामा सुचित्राको अभिनय तारिफयोग्य छ।
आरडी बर्मनको संगीत रहेको यस फिल्मका गीत निकै उम्दा थिए, जुन आज पनि उत्तिकै लोकप्रिय छन्। 'तेरे बिना जिन्दगी से कोइ सिकवा नहीँ', 'तुम आ गए हो', 'इस मोड से जाती है' मुख्य चर्चित गीत हुन्।
सुन्दर गीत लेखनमा माहिर गुलजारले 'तेरे बिना जिन्दगी से कोइ सिकवा नहीँ' गीतबाट उत्कृष्ट गीतकारको अवार्ड पनि पाएका थिए।
अंगुर (१९८२)
तपाईंले मुख्य कलाकारहरूको दोहोरो भूमिका भएका धेरै फिल्म हेर्नुभएको होला। 'अंगुर' पनि दोहोरो भूमिका भएको फिल्म हो। तर यो अरुभन्दा फरक छ। यसमा एक होइन, दुई जना पात्रहरू दोहोरो भूमिकामा छन्।
फिल्ममा सञ्जीव कुमार र देवेन बर्मा दुवै 'डबल रोल'मा छन्। एकातिर अशोक र बहादुरको जोडी अनि अर्कोतिर अर्का अशोक र बहादुरको जोडी।
दुवै अशोक र बहादुर मालिक र सेवकको भूमिकामा छन्। पहिलो अशोक र बहादुर विवाहित हुन्छन्। अर्का अशोक र बहादुर दुवै अविवाहित।
फरक ठाउँमा बस्ने यो जोडी संयोगवश ठोक्किन पुग्छ। घटनाक्रम यसरी अघि बढ्छ कि अविवाहित अशोक र बहादुर विवाहित अशोक र बहादुरको घर पुग्छन् र भ्रम सिर्जना हुन्छ।
यी सबै घटनाक्रमले पात्रलाई जति परेशान बनाउँछ, दर्शकलाई उति नै रमाइलो बनाउँछ। सञ्जीव कुमार, देवेन वर्मा, मौसमी चटर्जी, दिप्ती नवल र अरुणा ईरानीजस्ता कलाकारको जमघटले अंगुर फिल्म घरी अमिलो र त घरी गुलियो बन्छ।
सशक्त अभिनय र चुस्त कथानकसहितको हाँस्यप्रधान फिल्म मन पराउनेलाई अंगुर स्वादिलो फिल्म हो। गुजलारको हास्य चेत झल्काउने यो फिल्म सेक्सपियरको 'कमेडी अफ एरर्स' मा आधारित छ।
इजाजत (१९८७)
दुई वटा नेसनल अवार्ड जित्न सफल इजाजत धेरै कारणले गुलजारको स्मरणीय फिल्म हो।
अविरल वर्षका कारण रेलवे प्लेटफर्ममा रात कटाउन एउटा मात्रै कोठा छ। यही कोठामा महिन्दर (नशिरुद्दिन शाह) र सुधा (रेखा) को वर्षाैंपछि भेट हुन्छ। कुनै समयका पतिपत्नी एक्कासि भेट्दा सुरूमा अपरिचित जस्तै बन्छन्। बिस्तारै उनीहरूको आँखा बोल्न थाल्छ। त्यसपछि संवाद गर्न थाल्छन्। जब उनीहरूको संवाद सुरू हुन्छ, दर्शक मौन भई घोत्लिन बाध्य हुन्छन्।
पत्रपत्रमा यी दुई पात्रलाई दर्शकमाझ चिनाउन निर्देशकले मौनता र संवादको सहारा लिन्छन्। उनीहरूको संकोच र आत्मीय हाउभाउको कथा बुझाउन फ्ल्यासब्याक र संगीतको सहारा लिन्छन्। त्यसपछि खुल्छ, महिन्दर र सुधाको वैवाहिक जीवनको जटिलता।
यो जटिलता ल्याउनमा महिन्दरको अतीतको प्रेम मुख्य कारण हुन्छ। फिल्ममा माया (अनुराधा पटेल) ले महिन्दरकी पूर्व प्रेमिकाको भूमिका निर्वाह गरेकी छन्।
महिन्दर र सुधाको वैवाहिक जीवनमा मायाको आगमनपछिको कथा थाहा पाउन पूरै फिल्म हेर्नुहोला।
फिल्मको कथा न्यारेट गर्ने शैली विशेष छ। तीन पात्रबीच जेलिएको प्रेम सम्बन्धका जटिलताले दर्शकको मनमा पार्ने सकस फिल्मको खासियत हो।
आरडी बर्मनको संगीत, आशा भोसलेको स्वर र गुलजारकै शब्दका गीतहरूले यो फिल्म अझ विशेष बनाएको छ। फिल्मका 'मेरा कुछ सामान', 'कतरा कतरा', 'छोटी सी कहानी' र 'खाली हात शाम आई' कहानीकै हिस्सा बनेर आउँछ।
'मेरा कुछ सामान' गीतका लागि आशा भोसले र गुलजारले राष्ट्रिय पुरस्कार र फिल्म फेयर अवार्ड जितेका थिए। सुबोध घोषले लेखेको फिल्मको कथाले पनि फिल्म फेयर अवार्ड जितेको थियो।
माचिस (१९९६)
आममान्छेका सामाजिक र व्यक्तिगत सम्बन्धका आयामबारे धेरै फिल्म बनाएका गुलजारले केही राजनीतिक फिल्म पनि बनाएका छन्। 'माचिस' उनको चर्चित राजनीतिक फिल्म हो।
सन् १९८० दशक मध्यतिर पञ्जाबमा भएको शिख विद्रोहका बेला एउटा सामान्य युवा आतंकीवादी गतिविधिमा संलग्न बन्न पुग्छन्। माचिसको मुख्य कथा यही हो।
माचिसले राज्य संरचना र प्रहरी प्रशासनले निर्दोष युवामा भड्किने विद्रोही चरित्रको कथा भन्छ। पञ्जाबको एउटा गाउँमा वीरा (तब्बू) र उनका भाइ जसवन्त सिंह रन्धावा (राज जुत्शी) उनीहरूकी आमासँगै बस्छन्। यहीँ नजिकै बस्ने कृपालसिंहको यो परिवारसँग नजिकको नाता छ। उनी वीराका मंगेतर र जसवन्तका मिल्ने साथी हुन्।
एकदिन जसवन्तको घरमा प्रहरी जिमी नामको व्यक्तिको खोजीमा आइपुग्दा जसवन्तले आफ्नो कुकुर जिमीलाई देखाइदिन्छन्। यो घटनाले क्रुद्ध प्रहरीहरूले जसवन्तलाई पक्रेर लैजान्छन्। पन्ध्र दिनपछि जसवन्त प्रहरी यातनाले घाइते अवस्थामा घर फर्किन्छन्। जसवन्तको घाउ त निको हुन्छ तर यो घटनाले कृपालको मनमा प्रहरी र राज्यप्रति घृणाको आगो सल्काउने काम गर्छ।
उनी आफ्नो नातेदार खोजमा निस्कन्छन्, जो आतंकवादी समूहसँग नजिक हुन्छन्। यो खोजमा भड्किँदा भड्किँदै कृपाल अकल्पनीय संसारमा पुग्छन्। कृपालको यो यात्रा नै माचिसको मूल कथा हो।
कृपालको यात्रा कहाँदेखि कहाँसम्म होला? कृपालको यो सनकको मूल्य उसकी मंगेतर र मित्र जसवन्तले के कसरी चुकाउनु पर्छ, थाहा पाउन हेर्नुस् माचिस।
फिल्ममा ओम पुरी, कुलभुषण खरबन्दा, जिमी शेरगिल लगायतको मुख्य भूमिका छ। यसले बेस्ट पपुलर विधामा नेसनल अवार्ड जितेको थियो।
गुलजारका अन्य फिल्मजस्तै माचिसको पनि संगीत पक्ष सबल छ। 'छोड आए हम वो गलियाँ', 'चप्पा चप्पा चर्खा चले' जस्ता चर्चित गीत रहेको माचिसमा विशाल भारद्वाजको संगीत छ।
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)