गायिका कुन्ती मोक्तान हार्मोनियम समाएर बसेकी छन्। किबोर्डमा उनकै श्रीमान् शिलाबहादुर मोक्तान छन् भने भायोलिन र गितारमा दुई छोरीहरू शितल र सुवानी। साथमा ज्वाइँहरू मञ्जिलविक्रम केसी र सुजन श्रेष्ठ पनि आ–आफ्नो भूमिकामा तम्तयार छन्।
साँझ ५ बजेको छ। मोक्तान परिवारको लाइभ म्युजिक कन्सर्टमा तपाईंहरूलाई स्वागत छ।
यो प्रज्ञा भवन, सभागृह वा त्यस्तै कुनै सार्वजनिक मञ्चमा हुन लागेको कन्सर्ट होइन। यो कन्सर्टको प्रत्यक्ष प्रसारण हुँदैछ, फेसबुकमा।
लकडाउनबीच सबै किसिमका सार्वजनिक समारोह बन्द भएकाले मोक्तान परिवारले यही जेठ १० गते बौद्धस्थित आफ्नै घरबाट फेसबुक लाइभ कन्सर्ट गरेका थिए।
कार्यक्रममा कुन्तीले 'खुट्टा तान्दै गर', 'गोठालो जाँदा लाएको माया', 'भन्छन् कोही जिन्दगी यो' लगायतका आफ्ना सदाबहार सुपरहिट गीतहरू गाएकी थिइन्। छोरीहरू शितल र सुवानीले पनि सँगसँगै गाएर उनलाई साथ दिएका थिए।
कोरोना महामारीले पूरै संसार आक्रान्त बनाएका बेला मनोरञ्जनका लागि बाहिर निस्कने वातावरण कहिले बन्ने हो ठेगान छैन। यस्तो परिस्थितिमा धेरै कलाकारले फेसबुकलाई दर्शक-श्रोतासम्म पुग्ने माध्यम बनाए। उनीहरूले आफ्ना सांगीतिक प्रस्तुतिदेखि मनका भावनासमेत फेसबुकमै पेस गरे।
यही क्रममा कुन्ती मोक्तान र उनको परिवारले उक्त लाइभ कन्सर्ट गरेको थियो, जसको दोस्रो शृंखला लिएर उनीहरू फेरि आउने तयारीमा छन्।
'कलाकार भनेकै दुःख–सुखको साथी हो,' कुन्ती भन्छिन्, 'नभए दुःख पर्दा मान्छेले किन गीत सुनेर मन बहलाउन खोज्छ! हामीले जस्तोसुकै परिस्थितिमा पनि रोकिनु हुन्न, थामिनु हुन्न।'
यही विचारले लकडाउनमा पनि सांगीतिक प्रस्तुति लिएर दर्शक-श्रोतासम्म पुग्ने हुटहुटी बढाएको उनी बताउँछिन्।
लाइभ कार्यक्रमको तयारीबीच नयाँ गीत बनाउने क्रम पनि रोकिएको छैन। कुन्ती र शिलाले लकडाउन अवधिमा एक दर्जनजति नयाँ गीत बनाए। अधिकांश स्थान-विशेष र त्यहाँको रहनसहन झल्किने खालका छन्। चारवटा नयाँ गीतको त घरकै आँगनमा खिचेर म्युजिक भिडिओसमेत तयार पारे, जुन सार्वजनिक भइसकेका छन्।
'पुराना सम्झना बोकेका गीतहरूको नयाँ रेकर्डिङ गरेको छु,' कुन्ती भन्छिन्, 'लोपोन्मुख पूर्वेली विरही लोकभाकामा पनि गीत बनेको छ। आज नभए भोलि यसको महत्व बुझिने छ।'
सन् १९७७ मा अल इन्डिया रेडियोबाट पहिलोपटक स्वर परीक्षा पास गरेर लोकगायन सुरू गर्दा कुन्तीले पाँचवटा गीत गाएकी थिइन्। ती गीत फेरि उनको आवाजमा सार्वजनिक भएनन्। आफू १४ वर्ष हुँदा गाएका तिनै पाँच गीतमध्ये एक हो– बाह्र वर्ष टेक्दा टेक्दै। यो गीत अहिले रेकर्ड गरेर सार्वजनिक गरेको उनी बताउँछिन्।
'दार्जिलिङस्थित हाम्रो गाउँका माइला काकाले मादलको तालमा गाउनुभएको यो गीत संकलन गरेर मैले स्वर दिएको हुँ,' कुन्तीले उक्त गीतको भिडिओमा भनेकी छन्।
बाह्र वर्ष लागेकी किशोरीले आमाबा गुमाउनु परेपछि भोगेका दुःख यो गीतमा वर्णनमा छ। मारुनी विरही भाकाको गीतको बीचमा केही नयाँ शब्दहरू थपेर लकडाउनकै बेला सार्वजनिक गरेको उनी बताउँछिन्।
'अल इन्डिया रेडियोमा रेकर्ड भएपछि मैले यो गीत अन्त सुनाउन पाएकी थिइनँ। आधिकारिक रेकर्डिङ पनि भएको थिएन,' गीतबारे कुन्ती भन्छिन्, 'यो मलाई आफूले गाएकोमध्ये एउटा मनपर्ने गीत हो। यसलाई रेकर्ड गरेर सार्वजनिक गर्ने साइत लकडाउनले जुराइदियो।' उनले यो गीत आफ्ना गुरू पूर्णकुमार राईलाई समर्पण गरेकी छन्।
लकडाउनमै मोक्तान परिवारले सार्वजनिक गरेको अर्काे गीत हो– एकपाते मकै। यसको रचना शिलाबहादुर मोक्तानले अलि पहिले नै गरेका थिए। यसपालि फुर्सदमा केही शब्द हेरफेर गरे। पूर्वको कुनै एक गाउँमा बसिरहेकी युवतीले सहर हेर्ने इच्छा व्यक्त गरेको मनोभाव यो गीतमा छ।
कुन्तीका प्राय: गीत गाउँकै आँगनमा घुम्छन्। गाउँले परिवेशमा सजिएका हुन्छन्। गाउँले दुःखसुख र गाउँले युवायुवतीको प्रेम गीतमा पोखिएको हुन्छ।
'हामीमध्ये धेरै जना गाउँले जीवन पार गरेर आएका छौं, धेरैको बाल्यकाल गाउँमै छुटेको छ,' कुन्ती भन्छिन्, 'मेरो पनि बाल्यकाल गाउँमै बित्योे। धित मरुन्जेल पाखा-पखेरु डुल्न पाइएन। प्रकृति नै रचना गर्ने प्रेरणा रहेछ, यसलाई बुझ्न सके, भिज्न सके अरू किन चाहियो!'
उनका गीतहरूमा आसा जगाउने भाव पनि हुन्छन्। ‘एकपाते मकै’ त्यसैको एउटा उदाहरण हो, जसमा गाउँले युवा र युवतीको प्रेम र उनीहरूले बुनेको साधारण जीवनयापनको योजना वर्णन छ।
'समस्या जस्तोसुकै आओस्, मान्छेले आत्तिनु हुन्न, जसो पर्छ त्यसै टर्छ,' कुन्ती गीतबारे भन्छिन्, 'यो गीत अहिलेको समय सान्दर्भिक छ। महामारीको विषम् परिस्थितिमा हामी प्रत्येकले सकारात्मक सोचेर अघि बढ्नुको विकल्प छैन। त्यसैले यही मौका पारेर यो गीत सार्वजनिक गरिएको हो।'
मोक्तान लोकप्रिय गायिका मात्र होइनन्, शिक्षक पनि हुन्। उनी बालबालिकाको मनस्थिति बुझेर सिक्न प्रेरित गर्छिन्। ३० वर्ष शिक्षण क्षेत्रमा लाग्दा उनले केटाकेटीको मनोविज्ञान बुझेकी छन्। लकडाउनले कम उमेर समूहका बालबालिकालाई पारेको असर उनी अनुमान गर्न सक्छिन्। त्यही भएर केटाकेटीको भावना बुझ्दै उनले नयाँ बालगीत पनि सार्वजनिक गरेकी छन्।
लकडाउनकै बेला रचना गरिएको बालगीतले केटाकेटीलाई समयको महत्व बुझ्न सघाउने कुन्ती बताउँछिन्।
गीतले भन्छ-
फेरि कहाँ आउला यस्तो दिन,
समयलाई बुझ्नुपर्छ
चाहेर रोकिन्न कुनै पल, सँगै बढ्नुपर्छ।
'केटाकेटीले बुझ्ने भाकामा हामीले कस्तो समय पार गरिरहेका छौं भनेर बताउन आवश्यक देखेँ,' बालगीतबारे कुन्ती भन्छिन्, 'यति बेला धेरै बच्चाहरूलाई के भएको हो थाहा छैन। हामीले बताउन पनि सकेका छैनौं।'
कुन्तीले केही दिनअघि मात्र सार्वजनिक गरेको अर्को गीत हो- हरियो चुरा।
साउन महिना हातमा मेहन्दी र हरियो चुरापोतेको महिना हो। यही सन्दर्भ पारेर यो गीत बनाएको उनी बताउँछिन्। यो पनि उनले लकडाउनमै तयार पारेकी हुन्। मारुनी विरही भाकामा गाइएको यो गीतमा पनि दुःखको कथा छ। एउटी युवतीको मन आफ्नो श्रीमान साथ नहुँदा जुनसुकै मौसममा पनि रमाउन सक्दैन भन्ने विरहको भावना यो गीतले बयान गरेको छ।
गीतको भावले भन्छ- पर्यावरणमा हरियाली हुँदैमा सबैको मन हरियाली हुँदैन, न त हरियो पहिरन लगाउँदैमा मनमा उमंग छाउँछ।
'साउनको हरियालीले सबैलाई सुख दिन्छ, आहा बनाउँछ भन्ने छैन,' गीतबारे कुन्ती भन्छिन्, 'यो श्रीमान् साथ नहुँदा श्रीमतीले कहेको विछोडको कथा हो। लोप हुन लागेको भाका जोगाउने प्रयास पनि हो। यस भाकामा सुखका शब्द सुहाउँदैनन्।'
लकडाउन अवधिभरि गीत गाउनु, सिर्जना गर्नु र गीत-संगीतकै बारेमा छलफल गर्नु नै आफ्नो परिवारको दैनिकी बनेको उनको भनाइ छ। 'हाम्रो साधना र आराधना भनेकै कसरी राम्रो संगीत सिर्जना गर्ने भन्ने नै हो, यस अर्थमा लकडाउनको समय सिर्जनशील भएर बित्यो,' उनले भनिन्।
यसमा शिलाबहादुर पनि कम छैनन्। उनले यही अवधिमा दर्जनभन्दा बढी नयाँ गीत रचना गरे। कोरोनाकालले दिएको फुर्सदले सिर्जनात्मक कामलाई मलजल गरेको उनको भनाइ छ।
'स्टुडियोमा आवश्यकताअनुसार काम गरिन्थ्यो। सोचेजस्तो, भनेजस्तो गर्न नमिल्ने,' शिला भन्छन्, 'कहिले आफूले बुझ्न नसक्ने, कहिले अरूलाई बुझाउने नसक्ने। आफ्नै ढंगमा काम गर्दा स्वतन्त्र महशुस हुने रहेछ। कार्यक्षमता पनि बढेजस्तो लाग्यो। औसतभन्दा धेरै नै काम गरेँ।'
यही अवधिमा गरेका थुप्रै सांगीतिक सिर्जना सार्वजनिक हुने क्रममै रहेको मोक्तान दम्पती बताउँछन्। केही नयाँ गीत उनीहरूले अघिल्लो फेसबुक लाइभमा प्रस्तुत गरेका थिए भने केही नयाँ गीत अबको दोस्रो लाइभमा लिएर आउँदै छन्। यी नयाँ-पुराना गीतहरू संकलन गरेर एल्बम निकाल्ने उनीहरूको तयारी छ।
'लकडाउन छ भनेर यसै बसेको भए चार महिना त्यसै बित्थ्यो। भोलि कसैले के गर्यौ भनेर सोध्दा के जवाफ दिने?' कुन्ती–शिला एकै स्वरमा भन्छन्, 'त्यसैले पनि हामी पिर मानेर बसेनौं। आफूलाई अझै तिखार्यौं, अझै निखार्यौं। मनलाई आनन्द मिल्ने काम गर्यौं।'
यसमा कुन्तीले थपिन्, 'यसै पनि चिन्ता नगर्नू, चिन्तन गर्नू भन्छन् नि!'
'स–साना दुःखमा अत्तिने नेपालीको बानी नै होइन, जति धैर्य गर्न सक्यो त्यति छिटो खुसी हुन्छौं, सुखी हुन्छौं,' उनले आफ्नै गीतको भाका टिपेर भनिन्, 'सुनगाभा हुँ भीरमा पनि हाँस्न सक्छु, नेपाली हुँ पिरमा पनि बाँच्न सक्छु।'