यति बेला पशुपतिनाथ मन्दिर परिसरका बाँदरलाई न्यास्रो लागेको होला। मन्दिर आउने मान्छे जिस्क्याउने र उनीहरूका खानादेखि सामानसम्म खोस्ने बानी परेका थिए! बाँदरको यो चकचकले धेरैलाई आजित बनाउँथ्यो। हाँस्य कलाकार किरण केसी भने बेग्लै अनुभूति गर्थे।
लकडाउनअघि उनी प्रायःजसो पशुपति जान्थे। पूजाअर्चना गर्थे। ती चञ्चले बाँदरका चर्तिकला नियाल्थे। मान्छेले दुःख पाए पनि उनलाई सबभन्दा रमाइलो बाँदरले खानेकुरा खोसेको लाग्थ्यो। बाँदरले भक्तजनका झोला, थाली जे भेटिन्छ, त्यही उडाउँदा उनी चाख मानीमानी हेर्थे।
लकडाउनले बाँदरको यो छुकछुकमा बन्देज लगाएको छ। यसको चिन्ता भने किरणलाई पर्यो।
'पशुपतिका बाँदरले हिजोआज भक्तजनको हातबाट स्याउ, केरा, खोसेर खानै पाएका रहेनछन्,' किरणले भने, 'कस्तो कस्तो लागेर आयो।'
'ए राता मकै..' थेगो भन्दाभन्दै रातामकै नामबाटै परिचय बनाउन सफल किरणले अब हँसाउने समयको पर्खाइ लामै हुने बुझेका छन्। त्यसैले यो बेला मानवसेवामा अभ्यस्त बन्दै थिए। सडकका अनाथदेखि जनावरसम्मलाई खानपिनमा सहयोग गर्दा मनमा आनन्द छाएको थियो।
पशुपतिको दृश्यले भने उनमा चिन्ता थपियो- दर्शनार्थी घट्दा बाँदरको आहारा घटेको छ। चञ्चलता घटेको छ। यस्तै हुने हो भने पशुपतिको सौन्दर्य मासिने हो कि!
'अरू सहयोग गर्दा ढुक्क भएको मन पशुपतिका बाँदर देखेर खिन्न भयो,' चाख लाग्ने दृश्य नै हराएपछि थोरै भए पनि केही प्रयास त गरौं भन्ने भएछ उनलाई, 'अनि सुरेन्द्र केसी र म मिलेर त्यहाँका बाँदर, कुकुर, गाई, परेवालाई पनि खानेकुरा खुवाउन थाल्यौं।'
लकडाउनको केही हिस्सा उनले यसैगरी बिताए। लकडाउन नभएको भए चाहिँ उनी पशुपति त के नेपालमा पनि हुन्थेनन् होला। उनको योजना अमेरिका जाने थियो। इमाडोलमा बस्ने किरण अमेरिका जाउआउ गरिरहन्छन्, प्रायः जसो कार्यक्रमका लागि। यसपटक भने उनको उता जान खोज्नुको कारण बेग्लै थियो।
'जेठी बुहारीको डेलिभरीको दिन नजिकँदै थियो। सुत्केरी स्याहार्न अमेरिका जाँदै थिएँ,' हास्यव्यंग्यमा चिनिएका किरण वास्तविक जीवनका पाटा पनि रमाइलै तरिकाले सुनाउँछन्।
सुत्केरी स्याहार्न जाने भनेपछि उनको दिमागले एउटा चित्र कोरिसकेको थियो- नातिलाई तेल लगाइदिने, उसको अनुहार हेर्दै हाँस्ने-बोल्ने, 'म तिम्रो हजुरबुवा' भन्ने, सुत्केरी बुहारीलाई मीठा परिकार बनाएर खुवाउने...यस्तै यस्तै।
'यति बेला बुहारीलाई मीठोमीठो बनाएर खुवाउँथे होला। सुत्केरीको निहुँ पारेर म पनि खान्थेँ होला,' उनी भन्छन्, 'ए राता मकै, म पनि सुत्केरी नै बसाउँथेँ होला। कोरोनाले त खतमै पार्यो नि!'
अमेरिका जाने र बुहारी-नाति स्याहार्ने उनको सपना पूरा भएन। नातिको बिहीबार न्वारान थियो। 'भर्चुअल न्वारान' गर्दै कर्म पूरा गरे। अनि यहीँ घरमा भएका अरू नातिनातिनालाई मनपर्ने खानेकुरा बनाउँदै खुवाएर सन्तुष्ट भए उनी।
'म खाना बनाउन सौखिन छु। यति बेला अझै नयाँ परिकार बनाउन खोज्दै छु,' उनले सुनाए, 'केटाकेटीलाई विभिन्न स्वादका बरफ र आइसक्रिम बनाएर खुवाए पनि मख्ख पर्छन्। ठूलो कुरै नचाहिने।'
उनी हाँस्दै थप्छन्, 'ठूलालाई पनि चटपटे र पानीपुरी खुवाएपछि दंगै। यति रुपैयाँ भयो है भनेर मजाक गर्छौं।'
लकडाउनका सुरूआती केही दिन भने पट्यार लाग्दा थिए। केही किताबहरू पढे। नभएपछि आलष्यबाट छुटकारा पाउन सामाजिक सञ्जालमा अपलोड भएका आफ्नै भिडिओ हेरे।
'त्यतिले पनि नपुगेपछि नारायण गोपाल, नरेन्द्र प्यासीका गीतमा आफ्नै भिडिओ बनाएर अपलोड गरेँ,' उनी कारण सुनाउँदै भन्छन्, 'लकडाउनमा दिक्क मानेर बसेका दर्शक-श्रोतालाई मनोरञ्जन गराउने भनेर आफू पनि व्यस्त रहन त्यसो गरेँ।'
उनको मन त्यसले पनि भरेन। हाँस्य शृंखला 'जिरे खुर्सानी', मह जोडीसँगै अभिनय गरेका टुक्राटाक्री खोजेर अपलोड गरे। लकडाउन आफ्नै विगत हेर्ने आँखीझ्याल जस्तो बन्यो उनलाई।
यो लकडाउनले उनको अमेरिका जाने योजना मात्र होइन, फिल्म रिलिज मिति पनि धकेलिएको छ। परिस्थिति नबिथोलिएको भए चैत २१ गते उनको फिल्म रिलिज भइसकेको हुन्थ्यो।
कोरोनाले रोकेपछि हाँस्य क्षेत्र र चलचित्रलाई छुट्याएको समय परिवारलाई दिएका छन्। उनको हकमा परिवारबाट समय लिएका छन् भन्दा पनि हुन्छ। उनी श्रीमती, छोराबुहारी र नातिनातिनासँग बस्छन्।
'फुसर्दको यो समय कामभन्दा परिवारलाई प्राथमिकतामा राखेको छु,' किरण भन्छन्, 'अचेल त घरबाट बाहिर निस्कन पनि मन लाग्दैन। घरैमा मन रमाउँछ।'
हाँस्य रसकैपछि दौडिरहेका किरणले पारिवारिक जीवनका धेरै कुरा छुटेको अनुभूति पनि गरेछन्। श्रीमतीसँगको सम्बन्धका धेरै पक्ष छुटेका रहेछन्। आफ्नै जीवनको अंगप्रति अनभिज्ञ रहेछन्। लकडाउनले श्रीमती चिन्ने मौका पाएको उनी बताउँछन्।
'श्रीमतीसँग दिनभरि बसेर ज्ञानगुनका कुरा त कहिल्यै गरेको रहेनछु। हिजोआज श्रीमती युनिभर्सिटी नै हो जस्तो लाग्न थालेको छ। म त त्यसैत्यसै दंग परेको छु,' उनी खुसी हुँदै सुनाउँछन्, 'मेरा लागि कस्तो अवसर सावित भयो भन्नै सक्दिनँ।'
नातिनातिना पनि आफूजस्तै ठट्यौली स्वभावका भएको उनी बताउँछन्। सात वर्षे नाति र हजुरबुवाको जोडी जमेको छ। एकआपसमा अन्तर्वार्ताको रमाइलो खेल हुने गरेको उनले सुनाए।
'के छ किरण जी खबर, भन्दै नातिले सोध्छ। तपाईंको पहिलो फिल्म कुन हो भन्छ,' उनी नातिसँगको कुराकानी दोहोर्याउँछन्, 'म पनि मख्ख परेर जवाफ दिन्छु। फेरि मेरो अन्तर्वार्ता लिने पालो आउँछ। म पनि उनीहरूसँग प्रश्न उत्तर गर्छु।'
लकडाउन पारिवारिक अन्तरघुलनको सुर्वण अवसर बनेको भन्न छुटाउँदैनन् उनी। जीवनप्रतिको मोह पनि बढाएको छ रे। सामाजिक दुरीको अर्थ पनि सिकाइदियो। स्वास्थ्य सबथोक हो भन्ने प्रेरणा दियो। त्यसैले होला उनी थप सचेत भएका छन्।
'यी दिनमा प्रतिरोधी क्षमता कम होला र कोरोनाले छोला कि भनेर पनि सचेत छु। बिहानै २–३ घन्टा व्यायाम गर्छु,' उनी दैनिकी सुनाउँछन्।
लकडाउनले नयाँनयाँ योगासन पनि सिकाइदियो उनलाई। दैनिक ८–९ किलोमिटर घरकै कम्पाउन्डमा फेरो मार्छन्। भजन-कीर्तनमा रमाउँछन्।
'अहिले गर्मी छ। पसिनैपसिना हुनेगरी हिँडेपछि श्रीमती, बुहारी, नातिनातिना सबै उठ्छन्। ६ र १३ वर्षका नातिनी र ७ वर्षे नातिसमेत सबैलाई लश्करै राखेर योग गर्न लगाउँछु,' किरण भन्छन्, 'ठूलाले गरेको देखेपछि उनीहरू पनि जागरुक हुँदा रहेछन्।'
किरण आफूलाई गणेशका भक्त भनेर चिनाउँछन्। लकडाउन लम्बिँदै जाँदा गणेशझैं लम्बोदर बन्ने हो कि भन्ने चिन्ता छ। उनी हनुमानजीका पनि भक्त हुन् रे। 'आइडल' नै मान्छन्। हनुमान जस्तै बन्न रहर पनि गर्छन्।
हाँस्दै भन्छन्, 'मन लागेर के गर्नु, ए राता मकै..आजभोलि त हनुमानको अर्कै अर्थ लाग्छ।'