लकडाउन नभइदिएको भए हरिवंश आचार्य यति बेला अमेरिकामा हुन्थे। वा अलि अगाडि नै पुगेको भए उतै थुनिँदा हुन्। व्यस्त दैनिकी, भागदौडबाट छुटकारा पाउन हरिवंश अक्सर अमेरिका जान्छन्। पारिवारिक भेटघाट र केही कार्यक्रम सकेर फर्किन्छन्। यसपटक पनि उनको कार्यसूची त्यही थियो।
उसो त, उनी अमेरिका जान खोज्नुको अर्को कारण मुख्य छ- उनका दुई वर्षे नाति।
अमेरिका बस्ने आफ्नो जेठा छोरोका छोरा टुकुटुकु हिँड्ने भएका छन्। बोलीको दिउल भर्खर फुटेको छ। हरिवंशका लागि भर्खर अंकुराएको नातिको बोली दुनियाँकै सर्वश्रेष्ठ आवाज हो।
त्यो तोते बोली सुन्न उनी असाध्यै आतुर छन्। लकडाउनका कारण उनले 'मिस' गरेको सबभन्दा ठूलो कुरा पनि यही हो।
लकडाउनले सबैथोक रोकिए पनि मान्छे बढ्न त रोकिँदैन। यो अवधि पार भइसक्दा नातिको तोतेबली प्रष्ट भइसक्ला र आफूले सुन्नै नपाउने हो कि भन्ने दुखेसो छ उनलाई।
'वैशाख ३० गते नाति दुई वर्ष पुग्यो। तोतेबोलीमा 'हजुबा' भन्थ्यो होला। बांगा-बांगा खुट्टा बनाएर मतिर आउँथ्यो होला। हात समाएर हिँड्न सिकाउने थिएँ। तर जानै पाइनँ,' नाति भेट्न छटपटिएको उनको अन्तर्भावना उनको बोलीमा प्रष्ट सुनिन्छ, 'नातिको तोतेबोली फेरि फर्केर पनि आउँदैन। कम्प्युटरमा हेरेर चित्त बुझाउन परेको छ। तै पनि नेटबाटै झिकेर काखमा लिऊँ झैं हुन्छ।'
बालख नातिसँग चल्न अमेरिका जान नपाएपछि उनी आफ्नै बालापन नियाल्न काभ्रे पुगेका छन्। उकुसमुकुस काठमाडौंको बसाइ सहज पार्न उनी श्रीमतीसँगै पुर्ख्यौली थलो काभ्रे गएका हुन्। अबका केही दिन गाउँमै बस्ने उनले बताए। उनका अर्का छोराबुहारी भने काठमाडौंमै छन्।
'कलम कापी, स्किृप्टसँग धेरै चलियो। अब केही समय माटोसँग चल्नुपर्यो,' उनी ठट्यौली पारामा भन्छन्, 'बारीमा आलु खन्ने बेला भएको छ। आलुको काम गर्ने, माटोसँग चल्ने। कति ठूलो आलु फलेछ भन्ने यसैमा रमाइलो खोज्ने।'
माटोको गन्ध निकै मनपर्ने बताउँदै उनी थप्छन्, 'माटोको बासना मात्रै होइन, नङमा पसेको माटो छेस्काले निकालेर फाल्न पनि निकै मनपर्छ।'
काभ्रे होस् या काठमाडौं हरिवंशले सामाजिक सञ्जाल चहार्न भने छाडेका छैनन्। मदनकृष्ण श्रेष्ठ र आफू अभिनित 'हरिबहादुर–मदनबहादुर'का स–साना अंश सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छन्। उनको ध्यान तिनै अंशले तान्छ।
यो फुर्सदमा उनले सबभन्दा धेरै आफ्नै 'मिम' हेरेको सेतोपाटीलाई बताए।
'कि सामाजिक सञ्जाल हेर्ने कि सेतोपाटी हेर्ने,' उनले हाँस्दै भने, 'आफ्नो अनुहार आएपछि ओहो के आयो झैं लाग्छ। आँखाले पन्छाउन खोजे पनि कसोकसो औंला पुगिहाल्ने रहेछ। यसो फेसबुक चलाऊँ भन्यो, आफ्नै मिम देखिएर आफैंलाई हँसाउँछ। अहिलेको सन्दर्भसँग जोडिएपछि झन् मनोरञ्जन हुने रहेछ।'
प्रायः मानिस फुर्सदमा भएको यो समय झट्ट हेर्दा सर्जकका लागि उर्वर देखिन्छ। तर हरिवंशको हकमा लागू भएन। संसारमा कोरोनाका कारण मृत्यु हुनेको बढ्दो ग्राफले उनको चिन्ताको ग्राफ बढाएको छ। लकडाउनले प्रकृति, रुखबिरुवा, हावा, पानीलाई धेरै फाइदा पुग्यो। कति मान्छेले यसलाई फुर्सद र रमाइलो समय मानेका छन्।
उनी भने यो ठान्दैनन्, 'मानव जगत संकटमा परेको समयलाई म राम्रो मान्न सक्दिनँ।' आफ्ना परिवारसँगै विश्व संकटमा परेका बेला शान्त मनले सिर्जना गर्न नसकिने बताउँछन्।
'मीठो मीठो खान दिएर बाघको छेउमा पालेको खसीजस्तो महशुस भइरहेको छ। कोरोनाले कहाँ विस्फोट गर्छ, आतंक मच्चाउँछ कुरेर बसेका छौं,' कोरोनाको सकसबारे उनी भन्छन्, 'आतंकित मनले हाँस्यव्यंग्य कसरी फुराउने? हामीलाई पनि समस्या नै छ। बरू व्यस्त समयमा कलम समाउँदा पानी पोखिए झैं लेख्न आउँथ्यो।'
लकडाउन बेला घरै बस्दा पनि उनी बिहान ६ बजे उठिसक्छन्। दुई गिलास मनतातो पानी पिएपछि योग-ध्यानका लागि बस्छन्। सामान्य अवस्थामा सोह्रखुट्टेस्थित घरदेखि स्वयम्भूसम्म हिँड्थे। दुई महिनायता गएका छैनन्।
'घरैमा जति हिँडे पनि कहीँ नपुगिने बाटो छ, त्यसैमा हिँड्छु। जिन्दगीमा जति दौडधुप गरे पनि घरभित्रै थुनिनु पर्यो, यो बाटो पनि त्यस्तै छ,' ट्रेडमिलको सन्दर्भ जोड्दै हरिवंश भन्छन्, 'जिन्दगी होस् कि ज्यान ब्यालेन्समा राख्नै पर्ने रहेछ। तर सबैथोक ब्यालेन्समा राख्न सके पनि भुँडीलाई मेरो जोर चलेन।'
पेट लागेको चिन्तालाई ठट्टामा बदल्दै उनी भन्छन्, 'महिलाको भुँडी बढ्यो भने १० महिनामा त घट्छ नै। पुरुषको एकपटक बढेपछि सधैं बोकेर हिँड्न पर्ने रहेछ। मैले त वर्षौंदेखि बोकेको बोक्यै छु।'
पुट्ट लागेको भुँडी घटाउन उनलाई हम्मे परेको छ।
बेलुका ओछ्यानमा जाने समय पनि निश्चित छ उनको। १० बजेसम्म ओछ्यानमा पुगेको दिन सफल भएको ठान्छन्। घरमा भर्खरै भित्रिएको खाना खाने नियमले पनि उनलाई सहयोग पुर्याएको छ। नियमअनुसार बेलुका ६ देखि ७ बजेभित्र खाना खाइसक्नुपर्नेछ। र, १६ घन्टासम्म ठोस खाना नखानेअर्थात् 'इन्टरमिटेन्ट फास्टिङ'।
चाँडै खाना खाइसक्दा बेलुका गर्नुपर्ने काम बाँकी रहँदैन।
'भान्साको नयाँ नियमबाट श्रीमतीले तौल नियन्त्रणमा लिइसकिन्। त्यसपछि मलाई पनि दवाब आयो,' हरिवंश नयाँ जीवनशैलीबारे बताउँछन्, 'घाम नअस्ताई के खानु भन्ने बहाना पुरानो भयो अब। नियममा बाधिँदै छु।'
लकडाउनमा साँझ-बिहान बचेको यस्तै समयमा उनले सिनेमा बाहेक पहिलोपटक हलिउड-बलिउड सिरिज हेरे। फिल्मले भन्दा सिरिजले उनको ध्यान खिच्यो।
'साउथ इन्डियन फिल्म डाङडुङ हेर्न मजा नै भयो। धेरै हेर्दा भारतभक्त भइएला भन्ने डर बढेपछि केही दिन बन्द गरेँ,' उनी भन्छन्, 'यही बीचमा छोराले सिरिज हेर्न पल्काइदियो। के नामको हेरेँ थाहा पाइनँ तर गज्जब लाग्यो।'