वरिष्ठ राजनीतिज्ञि एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका ३ कृतिहरू विमोचन गरिएको छ।
बुद्ध शान्ति फाउण्डेशन ललितपुरद्वारा होटेल हार्दिकमा आयोजित पुस्तक विमोचन कार्यक्रममा साहित्यकार स्व. कमलराज रेग्मीका तीन कृतिहरू कमलराज रेग्मीका कविताहरू, संस्मरणका छालहरू र सदावहार कमलको सुवासको प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले विमोचन गरेका हुन्।
यी तीनवटै कृतिहरूको सम्पादन र प्रकाशन फाउण्डेशनकी अध्यक्ष सन्ध्या रेग्मीले गरेकी हुन्।
सोही कार्यक्रममा यस वर्षको ‘बुद्ध शान्ति कमलराज रेग्मी साहित्य तथा समाजसेवा पुरस्कार २०७५’ अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्य महास्थविरलाई प्रदान गरियो। प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले नगद रु. पचास हजारको उक्त पुरस्कार र सम्मान–पत्र भिक्षु कोण्डन्यलाई प्रदान गरे।
त्यस्तैगरी यस वर्षको ‘बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार’ नगद रु. पचास हजार नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकूद संघका मेरूदण्डघात भएका पाँच जना संघर्षशील प्रतिभाशाली कीर्तिशाली खेलाडीहरू हिमाल अर्याल, ऋषिराम ढकाल,अमृता ज्ञवाली,लाली डोल्मा शेर्पा,यमी झाक्री मगरलाई क्रमश: रु. दस हजार र सम्मान–पत्र प्रदान गरियो।
ललितकलाको माध्यमबाट बुद्धका अनुहारहरूलाई चित्रहरूमा सजाई स्वदेश तथा विदेशमा बुद्धका पेन्टिङ्ग प्रदर्शनी गर्ने कालकार सन्ध्या रेग्मीलाई यस वर्षको ‘बुद्ध शान्ति सम्मान २०७५’ बाट सम्मानित गरियो।