पाँच वर्षको मेहेनत र धैर्यतापछि सरोज कोइरालाले अन्ततः सान्नानी ल्याएरै छाडेका छन्।
उनको स्वरमा रहेको ‘सान्नानी’ बोलको गीतको भिडियो हालै युट्युबमार्फत् सार्वजनिक भएको छ।
विन्ध्यबासिनी म्युजिकमार्फत् पाँच वर्ष अघि नै बजारमा आएको उनको पहिलो एकल एल्बम ‘सगुन’ मा संग्रहित रहेको यो गीतमा सुरेश अधिकारीको शब्द/संगीत छ। संगीत संयोजन फणिन्द्र राईले गरेका हुन्।
भिडियोको निर्देशन देव नेपालले गरेका हुन्।
नेपाल ‘नमस्ते डोल्पा’, ‘कर्णाली’, ‘मेरो कथा’, ‘मेरो देश’ र हाल पोष्ट प्रोडक्शनमा रहेको चलचित्र ‘म्हेन्दु’ जस्ता चलचित्रका निर्देशक पनि हुन्।
रोजगारीको शिलशिलामा घर छोडेर पर पुगेको पात्रले आफ्नो परिवार सम्झिएर दुःख पोखेको भाव बोकेको ‘सान्नानी’ गीतलाई उनले इलामको चिया फ्याक्ट्री, त्यहाँका रमणीय दृष्य र झापामा केही स्थानमा छायांकन गरेका थिए।
भिडियोमा रमेश सोडारी र सिमन दाहालले अभिनय गरेका छन् ।
टेलिभिजनकर्मीको परिचय बनाएका सरोज यतिबेला भने दोस्रो एल्बम ‘आकृति’ निकाल्ने तयारीमा छन्।
यसमा उनको एकल शब्द, संगीत र स्वर रहने छ। पछिल्लो समय उनले म्हेन्दु लगायतका केही चलचित्रमा संगीत र स्वर दिने काम पनि गरिरहेका छन् ।