सन् २००३ मा उनी नेपाल आइन्। हिमाल पुगिन्। हिमालीसँग माया बस्यो। त्यही मायाको परिणाम हो उनको फिल्म– शेर्पा।
उनी हुन्, अष्ट्रेलियन निर्देशक जेनिफर पिडम।
उनले काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) क्रममा आइतबार ‘शेर्पा’ सँग जोडिएर फिल्म निर्देशनबारे चर्चा गरिन्। साथमा थिए, केसाङ छेतेन। उनले मच्छिन्द्रनाथ र ‘हामी कुनाको मान्छे’ वृत्तचित्रसँग जोडिएर निर्देशनबारे चर्चा गरे।
‘कसरी बन्यो त शेर्पा?’
जेनिफरलाई आफ्नो यात्रामा शेर्पाको कथाले बढी आकर्षित गरेको रहेछ। फिल्म बनाउन पैसाको अवश्यकता थियो। अष्ट्रेलियन टिभीमा उनले त्यसैको छोटो फिल्म बनाएर प्रस्ताव राखिन्। अनि तयारी सुरु भयो।
उनले २१ पटक सगरमाथा आरोहण गरेर रेकर्ड बनाएका फुर्वा तासीको जीवनमा फिल्म बनाउने सोच बनाइन्। उनको २२औं रेकर्डको विषयमा।
सन् २०१४ मा ताशी २२औं रेकर्ड बनाउने तयारी गर्दै थिए। उनकको परिवारलाई भने ज्यानै जोखिममा राखेर रेकर्ड र पैसा बनाएको मन पर्थेन। यही पारिवारिक द्वन्द्व, हिमाली संस्कृति र जोखिमको विषयमा आधारित छ, शेर्पा।
‘१४ अप्रिल २०१४ मा हिमपहिरो गयो। १६ जना शेर्पाको निधन भयो,’ उनले आइतबार आयोजित मास्टरक्लासमा भनिन्, ‘तासीले त्यसपछि सगरमाथा आरोहण गरेनन्। सायद उनले महशुस गरे परिवारभन्दा रेकर्ड ठूलो कुरा होइन।’
यही सेरोफेरोमा घुमेको फिल्म बनाउन जेनिफरले दुई शेर्पा क्यामराम्यान खटाएकी थिइन्। एक शेर्पा अनुवादक पनि खोजिन्। दुरुस्तै अनुवाद गर्न खोजिन्। स्क्रिप्टमा काम गरिन्। भन्छिन्, ‘म विशेषगरी कथामा ध्यान दिन्छु। दर्शकलाई पनि ध्यानमा राख्छु।’
अर्का निर्देशक केसाङ छेतेनले ‘मच्छिन्द्रनाथ’ लाई पुजारीको जीवनसँग जोडेर देखाउने प्रयास गरेका छन्। ‘हामी कुनाको मान्छे’ मा भने तामाङ गाउँको परिवेश रोजेका छन्। ‘अब्जर्भेसनल’ वृत्तचित्रमा काम गरिरहेका उनी साधारण विषयवस्तु प्रस्तुत गर्न माहिर छन्। जनजीवनसँग नजिक भइदिन्छन्।
त्यस्ता वृत्तचित्रलाई वर्णन गर्न शब्द नचाहिने उनी बताउँछन्। मानिससँग अन्तर्वार्ता लिइरहनुपर्दैन। कथाले नै सबै कुरा भन्छ। भन्छन्, ‘हाम्रो जीवनमा पनि कथा हुन्छन्। प्राय: एकै प्रकारको दैनिकी बिताइरहँदा कुनै समय एकरुपता हुँदैन। द्वन्द्व सुरु हुन्छ। कथाहरू पनि त्यस्तै हो।’
उनका अनुसार वृत्तचित्र भनेको कथा, अनुक्रम व्यवस्थापन र त्यसले दिने सार्थकता हो। ‘त्यसका लागि हामीले विषयवस्तुलाई ध्यान दिनुपर्छ, विवरण हेर्नुपर्छ, वास्तविकता र परिवेश चित्रण गर्न सक्नुपर्छ,’ उनले भने।
यसपालि किम्फमा केसाङको ‘द रियालिस्टस्’ नामक वृत्तचित्र प्रदर्शन गरियो। उनले ‘इन् सर्च अफ रियाल’ का पात्रलाई १० वर्षपछि भेटेर वृत्तचित्र बनाएका हुन्।