देशकै पूर्वी भागबाट सुरू भएको नेपथ्यको सांगीतिक यात्रा पश्चिमी भागमा पुगेर एकताको सन्देश दिँदै बिहिबार बेलुकी धनगढीको मैदानमा सम्पन्न भएको छ।
पूर्वको विर्तामोडबाट मंसिर ४ गते सुरू भएको यो यात्रा धरान, बुटवल हुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो।
‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको चरम दिनहरूमा हामीले गरेका यात्राको सम्झना हुन्छ,’ धनगढीका दर्शकहरूसँग संवाद गर्दै नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब चाहिँ युद्धपछि सुधारोन्मुख नेपाल देखापर्न लागेकामा खुशी छु।’
धनगढीमा यो नेपथ्यको चौथो उपस्थिति थियो।
२०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र तीन पटक ‘शान्तिको लागि शिक्षा’ संगीत यात्रा अभियान अन्तर्गत ब्याण्ड यहाँ उपस्थित भएको थियो। त्यतिबेला आतंकमा बाँचेको सिंगो समाजलाई संगीतका माध्यमबाट थोरै भएपनि राहत दिने उद्देश्यका साथ त्यो अभियान चलाइएको थियो।
धनगढी कन्सर्टको सुरूआत निर्धारित समयअनुसारै बेलुकी ठीक पौने छ बजे ‘सा कर्णाली’ म्यूजिक भिडियोको प्रस्तुतिका साथ गरिएको थियो। म्यूजिक भिडियोको प्रस्तुतिपछि मञ्चमा उक्लेको नेपथ्यले लगातार दुई घन्टासम्म ब्याण्डका नयाँ पुराना गीतहरू सुनाउँदै गयो।
कन्सर्टको अन्त्य ७३ वर्षअघि कवि गोपालप्रसाद रिमालले शब्द दिएका कालजयी गीत ‘रातो र चन्द्रसूर्जे’बाट भएको थियो। राष्ट्रिय झण्डाको स्तुतिमा रचिएको यस गीतमा धनगढीवासीले उत्साहका साथ नाच्दै देशप्रतिको माया दर्शाएका थिए।
धनगढीमा कार्यक्रमको स्थानीय आयोजना भने ‘दाताज् इभेन्ट’ र ‘द मान्सन् नेपाल’ले संयुक्त रूपमा गरेको थियो।
व्याण्ड स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा नेपथ्यले यसरी देशभर कार्यक्रम आयोजना गरेको हो।