पत्रकार सरोजराज अधिकारीको उपन्यास 'धम्बोझी' प्रकाशनमा आएको छ। यो किताब शनिबारबाट बजारमा उपलब्ध भएको प्रकाशक सांग्रिला बुक्सले जनाएको छ।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीको यो चौथो पुस्तक हो। यसअघि उनको गैर आख्यानतर्फ 'जासुसीको जालो: विदेशी गुप्तचरको नेपाल चलखेल' र 'चक्रब्यूहमा चन्द्रसूर्य: राष्ट्रिय सुरक्षा र स्वाधिनताका चुनौती' नामक खोजमूलक पुस्तक प्रकाशन भैसकेको छ भने आख्यानतर्फ 'रुपबजारकी नोरा' कथा संग्रह प्रकाशित छ।
मधेस राजनीति र पछिल्लो मधेस आन्दोलनको आरोह-अवरोहमाथि लेखिएको 'धम्बोझी' उपन्यासमा आञ्चलिक परिवेश र अवधि भाषिकाको प्रयोगसहितको संवादले देहातको मिठासपूर्ण भाव सञ्चार गरेको छ।
नेपालगन्ज, बाँकेको सेरोफेरोको प्लटमा लेखिएको यस उपन्यासले मधेसमा राजनीतिक अधिकारका लागि भएको लामो संघर्ष र धोकाधडीलाई आफ्नो विषयवस्तु बनाएको छ।
सांग्रीला बुक्सले धम्बोजी प्रकाशनको अवसर पारेर आफ्नो प्रकाशन र अन्य गरी करिब तीन सय पुस्तक सिन्धुलीको झाँगाझोली, रातामाटास्थित श्री प्रगतिशील माविका सहायक प्रधानाध्यापक केशव भट्टराईलाई उपलब्ध गराएको छ।
'लेखकले पुस्तक विमोचन कार्यक्रम नगरिकनै बजारमा पठाउन भनेपछि हामीले विमोचनमा हुने अनुमानित खर्च बराबरको पुस्तक सामुदायिक विद्यालयलाई उपलब्ध गराउने निर्णय गरेका हौं,' सांग्रिला बुक्सका मणि शर्माले भने।
लेखकका चारवटै पुस्तक अनलाइन किताब बिक्रेता किताबयात्रा डट कम र इ-सेवा पसलमार्फत मात्र ९ सय ९९ रुपैयाँमा उपलब्ध रहेको सांग्रिला बुक्सद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
धम्बोझी उपन्यासलाई चाँडै सांग्रिला बुक्स-इन्डिया मार्फत् हिन्दी र अंग्रेजी भाषामा ल्याउँदै छ। अंग्रेजी र हिन्दी भाषामा यसलाई सोमेश बर्माले अनुवाद गर्दै छन्।
सांग्रिला बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य ३ सय ५८ रूपैयाँ छ।