कुनै समय पूर्वी पहाड र तराईको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रूपमा प्रसिद्ध धरान शुक्रबार बेलुकी लोकरक ब्याण्ड नेपथ्यसँग रमाएको छ।
स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले विर्तामोडपछि धरानमा दोस्रो कन्सर्ट गरेको हो। यहाँस्थित रंगशाला परिसरमा झण्डै चार हजार दर्शकको उपस्थितिमा शो सम्पन्न भएको थियो।
‘पहिले जुन स्थानमा लाहुरे भर्तीकेन्द्र थियो अहिले त्यही सम्पत्तिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलना गर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको योग्यता मापन गर्ने ठाउँ अहिले आम मानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छ जसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ ।’
धरानमा कन्सर्टको आयोजना नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले त्यहीँकै ‘एमसी कफी आवर’सँग मिलेर गरेको हो।
कन्सर्ट पौने छ बजे सुरू भएको थियो।
प्रारम्भ सधैंजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट गरिएको थियो भने त्यसलाई अर्को म्यूजिक भिडियो ‘सम्झिराख’ बाट निरन्तरता दिइएको थियो।
कवि तुलसी ‘दिवस’ले बाल्यकालमै लेखेको कवितालाई नेपथ्यले हालै ‘सम्झिराख’ गीतका रूपमा तयार पारेको हो।
नेपथ्य टिमले ब्याण्डकै पहिलो रेकर्डेड गीत ‘आँगनै भरि’बाट कन्सर्ट सुरूवात गरेको थियो।
यस गीतलाई प्रस्तुत गर्दा पृष्ठभागमा नेपथ्यका पुराना सदस्यहरूका विभिन्न कालखण्ड र घटनाहरू दर्शाउने गरी तस्बिर प्रस्तुत गर्ने गरिएको छ।
‘हामीले मुलुकको असाध्यै जटिल अवस्था पार गरेका छौं,’ अघिल्लो पटक द्वन्द्वकै बेला ‘सुन्दर, शान्त, नेपाल’ कार्यक्रम अन्तर्गत धरानमा गाउँदाको क्षण सम्झँदै अमृतले भने, ‘अब मुलुकको मुहार फेर्ने बेला भएको छ ।’
कार्यक्रम ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘जोमसोमे बजारमा’, ‘चरि मर्यो’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अघि बढेको थियो ।
कन्सर्टमा झण्डै हजारभन्दा बढी सहभागीता धरानमा चिकित्सा विज्ञान पढिरहेका छात्रछात्राहरूकै देखिएको थियो।
‘तपाइहरुले पैसा कमाउने भन्दा पनि मानिसको जीवन बचाउने विद्या आर्जन गरिरहनुभएको छ,’ दर्शकदीर्घामा रहेका भावी चिकित्सक जमातलाई सम्बोधन गर्दै अमृतले भने, ‘मलाई विश्वास छ पढाइ पूरा गरेपछि यस्तो गहन दायित्वलाई तपाईंहरू प्रत्येकले जिम्मेवारीका साथ पूरा गर्नुहुनेछ।’
कार्यक्रमको अन्त्य सधैंजस्तै नेपाली ध्वजाको स्तुतीमा तन्नेरीहरूलाई उचाल्दै ‘रातो र चन्द्रसूर्जे’ मार्फत गरिएको थियो।
धरानमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ।